चिसापानीमा ट्राउट माछापालन

बागलुङ, गलकोट नगरपालिका–३ चिसापानीमा रेम्बो ट्राउट माछाको व्यावसायिक पालन थालिएको छ । गलकोट–७ मल्मका युवा व्यवसायी हुम थापाले माछापालनमा लगानी गर्नुभएको हो ।उहाँका अनुसार ११ वटा पोखरीमा ट्राउटपालन भइरहेको छ ।

“अहिले १६ हजार भुरा पोखरीमा छन् । एक क्विण्टलजति बेच्ने भइसके”, थापाले भन्नुभयो । गत वर्ष नै माछापालनसहित एग्रो रिसोर्ट सञ्चालनमा ल्याउने उहाँको तयारी थियो । कोरोनाका कारण उक्त योजना पछाडि धकेलिएको छ । रेष्टुराँ, पौडी पोखरीलगायतका संरचना भने बनिसकेका छन् । माछापालन व्यवसायसहित अन्य पूर्वाधारमा हालसम्म रु एक करोडभन्दा बढी खर्च भइसकेको थापाको भनाइ छ ।

‘दरमखोला रेम्बो ट्राउट एग्रो’ नामक दिएर उहाँले व्यवसाय थाल्नुभएको हो । पछि एग्रो रिसार्टकै रूपमा विस्तार गर्ने र त्यसका लागि पूर्वाधार तयारीको काम भइरहेको थापाले बताउनुभयो । पछिल्लो समय ट्राउटपालन हेर्न, रेष्टुराँमा समय बिताउन र पौडीको आनन्द लिन मानिसहरू त्यहाँ जान थालेका थिए ।

गत नयाँ वर्षको आसपासमा त दैनिक सयौँको भीड नै लाग्थ्यो । गर्मीयाममा पौडीको आनन्द लिन आउनेको सङ्ख्या पनि उत्तिकै हुन्थ्यो । पौडीका लागि प्रतिव्यक्ति रु १०० र विद्यार्थीलाई रु ५० तोकिएको छ ।

कोरोनाको जोखिमले पुनः निषेधाज्ञा जारी गरिएपछि अहिले व्यवसाय बन्द छ । “रेष्टुराँ त खोल्ने कुरा भएन, आलो माछा किन्न आउनेलाई बेचिरहेका छौँ”, थापाले भन्नुभयो । ट्राउट माछाको मूल्य प्रतिकिलो रु एक हजार ४०० छ ।

रेष्टुराँमा परिकार बनाएर खाँदा एक प्लेटको रु ४०० पर्छ । थापाले ट्राउटसँगै स्थानीय दरमखोलाको असला माछा पनि पाल्नुभएको छ । एउटा पोखरीमा असलाका एक हजार ५०० भुरा छाडिएको छ ।

आफ्नै जग्गामा बाह्रैमास चल्ने पानीको मूल भएपछि थापाले ट्राउटपालनको सोच बनाउनुभएको थियो । पानी परीक्षणपछि प्राविधिकरूपमा उपयुक्त देखिएकाले ट्राउट माछा पाल्न शुरु गरेको उहाँले बताउनुभयो ।

ट्राउट १२ देखि १८ डिग्रीको तापक्रममा पाल्न सकिन्छ । जापानी प्रजातिको ट्राउट माछा स्वाद र स्वास्थ्य दुवै हिसाबले उत्कृष्ट मानिन्छ । बजारमा पनि ट्राउटको माग बढी छ । मुख्यरूपमा माछापालन गर्ने र सोही ठाउँलाई एग्रो रिसोर्टका रूपमा विकास गर्ने लक्ष्यसहित लगानी गरेको थापाको भनाइ छ ।

रिसोर्ट परिसरमा वनभोजस्थल बनाउने, स्थानीय गुरुङ जातिको परिकार खुवाउने, कला, संस्कृति देखाउनेसम्मको योजना उहाँसँग छ । सबै संरचना बनाउँदा झण्डै २७ रोपनी क्षेत्रफल ओगटिने देखिएको छ ।

एकैसाथ ३० हजार भुरा छाड्न मिल्ने गरी पोखरी निर्माण गरिएको छ । माछापालन र रेष्टुराँ व्यवसायमा अहिले सात जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । “पर्यटकीय हिसाबले पनि यो ठाउँ चिनिने र व्यवसाय पनि सफल हुने देखेर लगानी गरेको हुँ”, थापाले भन्नुभयो । धन कमाउन विदेश ताक्ने युवाहरूको लहरबीच गाउँमै उद्यमी बन्ने उहाँको सोच र लगनको धेरैले प्रशंसा गर्छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।