महिनौंदेखि फोहोर नउठ्दा सङ्क्रमणको त्रास
सोलुखुम्बु, सदरमुकाम सल्लेरी क्षेत्रको सुन्दरतामा ध्यान दिनुपर्ने स्थानीयवासीले बताएका छन् । बजार क्षेत्रमा निस्कने फोहर महिनौं दिनसम्म बीच सडकमै थुपार्दा दुर्गन्ध फैलिएको छ भने अव्यवस्थितरुपमा टाँगिएका तार, पाइप तथा पोलका कारण यस क्षेत्रको सौन्दर्यमा असर परिरहेको छ ।
बजार क्षेत्रमा थुपारिएको फोहोर व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिएसँगै सङ्क्रमणको त्रास बढेको स्थानीयवासी राजीव कायस्थले बताउनुभयो । यस बारेमा नगरपालिकामा पटकपटक जानकारी गराउँदा समेत कुनै पहल नभएको अर्का स्थानीयवासी मीनकुमार श्रेष्ठले बताउनुभयो । फोहोर नउठ्दा नाक, मुख थुनेर हिंड्न बाध्य हुनु परेको भएको उहाँको भनाइ छ । गर्मी समय भएकाले कुहिने फोहोरका कारण बजार क्षेत्र दुर्गन्धित बनेको छ ।
विगतका दिनमा नगरपालिकाले गाडीबाट बजार क्षेत्रमा जम्मा हुने फोहर सङ्कलन गरी व्यवस्थापन गर्ने गरेको भएपनि लामो समयदेखि सो कार्य रोकिएको स्थानीयवासीको भनाइ छ ।
यससम्बन्धी गुनासो आएकाले तत्काल फोहोर व्यवस्थापन गरिने नगरपालिकाकी महिला कार्यकर्ता मुना खत्रीले बताउनुभयो । चालक र सरसफाइकर्मीमा कोरोना सङ्क्रमण देखिएका कारण लामो समयसम्म फोहोर उठ्न नसकेको बताउँदै उहाँले छिटै समस्या समाधान हुने छ भन्नुभयो ।
अव्यवस्थित तार, पाइप र पोल तत्काल व्यवस्थापन गरिने
सल्लेरी बजार क्षेत्रमा विभिन्न प्रयोजनका लागि तानिएका तार, पोल र खानेपानीका पाइपले सदरमुकामको सौन्दर्यता गुम्दै गएको छ । स्थानीय सरकारले बजारको सौन्दर्यता वृद्धि गर्ने भन्दै घर टहरादेखि कौसीसमेत हटाएको भएपनि पाइप तथा तार व्यववस्थापनमा ध्यान नदिंदा समस्या भएको नगरवासीको भनाइ छ ।
सडक माथिबाट घरघरमा खानेपानीको पाइप तानिएको छ भने सडक क्षेत्रको घरघर हुँदै टाँगिएका टेलिफोन तथा इन्टरनेटको तारका कारण बजारको सौन्दर्यमा नै असर परेको सल्लेरीका पेम्बा शेर्पाले बताउनुभयो । ती तार तथा पाइप भूमिगत गर्न सकिने भएपनि सडक ढलान गर्दा समेत उक्त कार्य नगरिनु दुःखद् भएको शेर्पाको भनाइ छ ।
नगरपालिका घोषणा भएपछि नै आबाडाँडादेखि नयाँ बजारसम्म करीब दुई किलोमिटर सडक ढलान गरिएको छ । सो क्षेत्रमा रहेको तार र पाइपलाई भूमिगत गर्न सकिने सम्भावना भएपनि उक्त कार्य नभएको स्थानीयवासी बताउँछन् ।
सल्लेरी बजार क्षेत्रको भित्री सडकमा गाडिएका ठूलाठूला पोल तथा अव्यवस्थित तारका कारण सवारी दुर्घटनाको जोखिम समेत बढाएको अर्का यातायात व्यवसायी धनबहादुर विश्वकर्माले बताउनुभयो । सदरमुकामको भित्री सडक खण्डमा जीपसमेत सञ्चालन गर्दा समस्या हुने गरेको छ।
आगलागी वा अन्य आपत्कालीन अवस्थामा दमकललगायतका साधनहरु लैजान परेमा जेलिएका तार तथा सडक माथिबाट होचो गरी टाँगिएका पाइपका कारण समस्या हुने गरेको सल्लेरीका मनिकुमार राई बताउनुहुन्छ । अव्यवस्थित तारलाई हटाउन वा व्यवस्थापन गर्नेतर्फ नगरपालिकाले ध्यान नदिएको उहाँको गुनासो छ । सल्लेरी बजार क्षेत्रका कतिपय तारहरु जमीनबाटै मानिसले भेट्न सक्ने अवस्थामा छन् भने कतिपय तार बारम्बार भूईंमा लत्रिएको छ । वसन्त बजारका छिरिङ तामाङ सवारीसाधनले बारम्बार टेलिफोनको तार चुडाउँदा सञ्चार सम्पर्क विच्छेद हुने गरेको बताउनुहुन्छ ।
आगामी तीन महिनाभित्र व्यवस्थापनको काम सकिने नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले बताउनुभयो। नगरपालिकाले नेपाल टेलिकमसँगको सहकार्यमा अव्यवस्थित तार तथा पोललाई हटाएर भूमिगत तथा फाइबरमार्फत विस्तारको काम शुरु गर्न लागेकाले केही महिनाभित्रैमा समस्या समाधान हुने उहाँको भनाइ छ । खानेपानीका अव्यवस्थित पाइपहरु हटाउन रु तीन करोड बराबरको योजना सञ्चालन हुने चरणमा रहेकाले एक महिनाभित्र यो समस्या पनि नरहने उहाँले जानकारी दिनुभयो ।


