न्यायमा पहुँच बढाउँदै गौरीगङ्गा नगरपालिका
धनगढी,स्थानीय सरकारले जनतालाई प्रत्यक्ष न्यायको अनुभूति गराउने गरी कसरी काम गरेको छ भन्ने राम्रो उदाहरण कैलालीको गौरीगङ्गा नगरपालिका बनेको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखा र उपप्रमुखको नेतृत्वमा रहने न्यायिक समितिले हिंसाका घटनामा परेका महिलालाई प्रदान गरेका सेवा उत्कृष्ट रहेको छ । पीडित महिलालाई आश्रय दिने, न्यायमा पहुँच बढाउने, उनीका जीविकोपार्जनमा मद्दत गर्ने र आर्थिक सहयोग गर्ने समेत गर्र्दै आएको छ ।
बालिका तथा किशोरीका लागि आत्मरक्षा तालिम तथा छाउपडी प्रथा उन्मूलनका लागि महिनावारी हुँदा बस्न बनाइएका असुरक्षित छाउगोठ भत्काउने अभियानसमेत सञ्चालनमा ल्याएको थियो । महिला तथा बालबालिका शाखा प्रमुख भावना जोशी पालिकाभित्र अपाङ्गता भएका बालबालिकाका लागि छात्रवृत्ति कार्यक्रमलगायतका काम सम्पन्न गरेको बताउनुभयो ।
फरक–फरक समुदायको बसोबास रहेको नगरपालिकाका विभिन्न वडाबाट न्यायिक समितिमा आउने मुद्दामा पक्ष र विपक्ष दुवैलाई छलफलका माध्यमबाट जित–जितको अवस्था सिर्जना गरी सामाजिक मेलमिलापको वातावरण सिर्जना गर्ने गरी काम गर्न न्यायिक समिति लागिपरेको कानून अधिकृत जयन्द्र ठकुल्लाले जानकारी दिनुभयो ।
नगरपालिकाको ११ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरी प्रत्येक वडामा मेलमिलापकर्ता तोकेर पालिकामा रहेका सबैको न्यायमा पहुँच पुगोस् भनेर न्यायिक समितिले आफ्नो गतिविधिलाई अघि बढाएको उहाँको भनाइ छ ।
परिवारबाट महिलाले भोगिरहेका समस्या समाधानका लागि देखिएका चुनौतीको सामना गर्न न्यायिक समितिले गरेका पहल गरिराखेको छ । भेदभाव नगरी समान न्यायका लागि समितिले राम्रो काम गरिरहेको स्थानीयवासी पूजा बुढाले बताउनुभयो ।
हिंसामा परेका महिलालाई सेभ हाउसमा आश्रय दिएर राख्ने गरिएको छ । उपप्रमुख अन्चला चौधरीले विभेद नगरी काम गरिरहेको जानकारी दिनुभयो । अनुहार हेरेर कसैलाई काखा र कसैलाई पाखा नगरी सबैलाई समान व्यवहार गर्दै न्याय दिने काममा आफू लागिपरेको उहाँको भनाइ छ ।
न्यायिक समितिमा आउने घर झगडा, जग्गा विवाद, लेनदेन, घरेलु हिंसा तथा कुटपिटका मुद्दालाई मेलमिलापको माध्यमबाट दुवै पक्षलाई जित–जितको अनुभूति गराइ पठाउने गरेको उपप्रमुख चौधरीले बताउनुभयो । हालसम्म करिब २०० मुद्दा मिलाइसकेको सो समितिले जनाएको छ ।


