शीतलचिनी अर्थात सजिवन खेतीबाट अरूण गाउँपालिका यसरी परिवर्तन हुन सक्छ

जीवनप्रसाद राई ।

सातवटा वडामा विभाजित अरूण गाउँपालिका साबिक चम्पे, याङपाङ, प्याउली, चरम्बी, जरायोटार र याकु गाविस मिलेर बनेको छ । पूर्वमा धनकुटा र सङ्खुवासभा जिल्ला रहेको यस गाउँपालिकाको पश्चिममा भोजपुर नगरपालिका र पौवादुङ्मा गाउँपालिका पर्छन् भने उत्तरमा षडानन्द नगरपालिका र सङ्खुवासभा जिल्ला एवं भने दक्षिणमा पौवादुङ्मा गाउँपालिका र धनकुटा जिल्ला रहेका छन् । यसको केन्द्र भने साबिकको प्याउली गाविस कार्यालय रहेको छ । २०६८ को जनगणनाअनुसार यस गाउँपालिकाको जनसङ्ख्या १७,६८७ र क्षेत्रफल १५४.७६ वर्गमिटर रहेको छ । भोजपुर जिल्लाको कुल भूभागको १०.२६ प्रतिशत ओगटेको अरूण गाउँपालिका क्षेत्रफलको आधारमा सातौं । सबैभन्दा होचो भाग समुद्र सतहदेखि २५० मिटर र सबैभन्दा माथिल्लो उचाइ १७०० मिटरसम्म रहेकाले यस गाउँपालिकाको हावापानी उष्ण तथा समशीतोष्ण खालको छ ।

तुलनात्मक रुपमा अरूण गाउँपालिका गरम हावापानी भएको स्थानीय तह हो । यही आधारमा यो गाउँपालिकामा उष्ण तथा समशीतोष्ण हावापानीमा हुने खालका बाली बिरूवाहरुको खेती गर्न सकिन्छ । पछिल्लो समय नेपालमा व्यावसायिक खेतीको प्रशस्त सम्भावना छ, राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारमा समेत ठुलो परिमाण पठाउन सकिने अवसर छन् तर उत्पादन हुन सकेको छैन । कृषिजन्य वस्तुहरु प्रशस्त उत्पादन गरेर नेपाल कुनाकुनामा पु¥याउनुका साथै विदेशी बजारमा पठाउन सकिन्छ । शुष्क हिमालीदेखि तराईको उष्ण हावापानी पाइने भएकाले समयअनुसार नेपालमा उत्पादित सागसब्जीहरु गुणस्तरीय हुन्छन् । त्यसैमध्ये एक हो सजिवन, जसलाई ठाउँअनुसार सहिजन, सजिना, शीतलचिनी अनेक नाम दिइन्छ । पहाडी खोच र गर्मी हावापानी भएकाले अरूण गाउँपालिका सजिवन खेतीका लागि सबैभन्दा उपयुक्त मानिएको छ ।

के हो सजिवन ?

ठाउँअनुसार ठाउँअनुसारकै नाम पाएको सजिवन नेपालका तराई, भित्री मधेस र पहाडी औलका जङ्गलहरुमा पहिलेदेखि हुर्कंदै आएको हो । अङ्ग्रेजीमा: Moringa भनिने सजिवनको पारिवारिक नाम: Moringaceae र वैज्ञानिक नाम: Moringa oleifera हो । औषधीय गुणले भरिपूर्ण बहुगुणी वनस्पति सजिवनको उर्वरभूमी भनेकै खडेरीग्रस्त सुक्खा क्षेत्र हो । अभैm पनि नेपालका धेरै गाउँ अकासे खेतीका भरमा चलेका छन् । वर्षादको समयमा १५–२० दिन पानी नपरेको अवस्थामा अन्य अन्न बाली उत्पादन नहुने खोला किनाराका छेउहरु, टार एवं सुक्खा पाखाहरु सजिवन खेतीका लागि सबभन्दा उपयुक्त मानिन्छन् । हुन त यो वनस्पति हाम्रो चाहनाअनुसार उत्पादन हुँदैन, मौसमअनुकुल प्रयोग गर्ने मात्र हो । त्यसैले यसलाई मौसमअनुसारको खेती वा खाद्य पदार्थका रुपमा स्विकारेर खेतीमा अगिबढ्ने हो भने उच्च फाइदा लिन सकिन्छ । सजिवनको बोडीको तरकारी मात्रै होईन यसको मुन्टा र पात नै धुलो बनाएर बजारमा लान सकिन्छ ।

सजिवनका फाइदा

– क्यान्सर प्रतिरोधात्मक शक्ति भएको वनस्पति ।
– मधुमेह रोगीहरुका लागि उपचार ज्यादै उपयुक्त ।
– रगतमा कोलेस्टोरलको मात्रा घटाउने ।
– कलेजो र शरीर सुन्निने समस्याको उपचारका साथै विभिन्न रोगबाट बचाउने ।
– मृगौला र पेटका अन्य समस्या समाधान गर्छ ।
– रौ र छाला स्वस्थ राख्न मद्दत गर्छ, आँखाको शक्ति बढाउँछ ।
– शरीरलाई अत्यावश्यक ब्याक्टेरियाहरु बचाउँछ ।
– स्नायु प्रणालीका हानिकारक किटाणुहरु नष्ट गर्छ ।
– हड्डी बलियो बनाउँछ तर पथरी बढ्न दिँदैन ।
– बाँझोपन हटाउन मद्दत गर्छ ।

अनेक औषधीण गुण भएकाले समग्रमा सजिवन मानव स्वस्थ्यका निकै उपयोगी वनस्पति हो । यसको व्यावसायिक विकास गर्न सकिएमा अरूण गाउँपालिकालाई आयवृद्धिमा निकै सघाउ पुग्छ । सजिवन नेपाली समाजमा थाहा भएको विषय भए पनि यसको सही उपयोग तथा पकाउने र सेवा दिने विषयमा मानिसहरु अनभिज्ञ छन् । अरूण गाउँपालिकाले सजिवनलाई अस्त्रकै रुपमा प्रयोग गरी आफ्नो गाउँठाउँ तथा जिल्लालाई नयाँ कुरामा आँखा खोल्न सक्छ । उपयुक्तता, आम्दानी र प्रभावकारिताका आधारमा अरूण गाउँपालिकाले आफ्नो क्षेत्रलाई ‘सजिवन पकेट क्षेत्र’ घोषणा गरी सोहीअनुसार काम अगिबढाउन सिफारिस गर्न कुनै समस्या छैन ।

समुद्र सतहदेखि १ हजार ३ सय मिटरसम्म सहजै गर्न सकिने सजिवन खेती नयाँ प्रविधि तथा आधुनिक तरिकाले गर्ने हो भने अरूण गाउँपालिकाको सम्पूर्ण भूभागमा राम्ररी फस्टाउँछ । उत्पादनमा सहज मात्र होइन, सजिवन पूर्ण अग्र्यानिक पद्धतिमा आधारित खेती हो । मानव स्वास्थ्यका लागि फाइदाजनक रहेकाले यसको खेती गर्दा समग्र जनताले मात्र फाइदा लिने होइन, गाउँपालिकालाई समेत उच्च फाइदा पुग्नेछ । सजिवनको बजारका लागि कुनै समस्या छैन । नेपालमै यसको उचित व्यवस्थापन हुन सके अहिले नै प्रशस्त छ । अन्तर्राष्ट्रिय बजार पनि उत्तिकै सशक्त छ । त्यसैले यस वनस्पतिलाई मुख्य रुपमा अरूण गाउँपालिकाले आफ्नो नामसँग पहिचान जोडेर उत्पादन विस्तार गर्नुपर्छ ।

गाउँपालिकाको कदम

अरूण गाउँपालिकाले सर्वप्रथम सजिवन हुने ठाउँहरु पहिचान गरी सिङ्गो गाउँपालिकालाई सजिवन खेतीको पकेट क्षेत्र घोषणा गर्नुपर्छ । वास्तवमा गाउँपालिकाका लागि यो ठुलै महोत्सव हो, जसमा पालिकाभित्रका सम्पूर्ण नागरिक आम्दानीको स्रोत बढाउन अग्रसर हुनुपर्छ । सजिवन खाने संस्कारको राम्रो विकास भइनसकेकाले उत्पादन गरे पनि बेच्ने समस्याबारे जनमानसमा शङ्का लाग्न सक्छ । तर सजिवनलाई नै गाउँपालिकाकै प्रमुख खेतीको रुपमा पकेट क्षेत्र घोषणा गरेपछि निम्न कार्यहरु गर्नुपर्छ :-

नर्सरी स्थापना  : गाउँपालिकाले पकेट क्षेत्र घोषणा गर्नासाथ सजिवन खेतीका लागि सर्वप्रथम आवश्यक पर्ने नर्सरी राखिनुपर्छ । यसको नर्सरी दुई किसिमले तयार गर्न सकिन्छ— बिउबाट र हागाँबाट । बिउबाट तयार गरिने नर्सरी गर्मी मौसम चढ्नेबित्तिकै सुरू हुनुपर्छ । किनभने यसलाई उच्च तापक्रम आवश्यक पर्छ । हाँगाबाट बिरूवा तयारी गर्नका लागि भने मौसम पर्खनु पर्दैन । हागाँलाई ९ देखि १२ इन्चका टुक्रा पारी प्लास्टिक थैलामा रोप्ने वा सिधै माटोमा नर्सरी बनाउने भए ३ इन्चको फरकमा गाडेर हुर्काइन्छ ।

चेतानामूलक काम वा प्रचार प्रसार: गाउँपालिकाले आफ्नो क्षेत्रलाई सजिवन पकेट क्षेत्र घोषणा गरेपछि मुख्य सडकमार्ग, सार्वजनिक ठाउँ आदिमा ‘सजिवन पकेट क्षेत्रमा तपाईंहरुलाई स्वागत छ’ भन्ने साइन बोर्डमा राखेर यस खेतीका फाइदाबारे समेत उल्लेख गर्नुपर्छ । यसरी सार्वजनिक स्थलहरुमा सचेतनासम्बन्धी साइन बोर्डहरु राखेर खेती गर्ने तरिका, फाइदा (आर्थिक, सामाजिक तथा वातावरणीय) का साथै यसको सेवनको तरिका र प्रभावबारे जानकारी दिनुपर्छ । सजिवनबारे भेटघाट, गोष्ठी, छलफल, अन्तरक्रिया, तालिमहरु सञ्चालन गरिनुपर्छ । सबै नागरिकलाई यसको खेतीको महङ्खवबारे बुझाई प्राथमिकतासाथ काम अगि बढाउनुपर्छ ।

सजिवन सूचना केन्द्र:  सजिवन पकेट क्षेत्रबारे आमनागरिकलाई सूचना आवश्यक पर्छ नै । यसबारे आन्तरिक र बाह्य क्षेत्रलाई समेत प्रभाव पर्ने गरी सूचना केन्द्र स्थापना गरिनुपर्छ । सूचना केन्द्रमा सजिवनका प्रकार, खेती गर्ने तरिका, प्रशोधन उद्योगमा गर्न सकिने कार्यहरु, यसबाट बन्न सक्ने पदार्थहरुबारे प्रशस्त सूचना उपलब्ध हुनुपर्छ । साथै सजिवनको खेती गर्ने तरिकाहरुको व्यावहारिक प्रदर्शनीसमेत गरेर देखाउनुपर्छ ।

प्रशोधन केन्द्र : सजिवन तुलनात्मक रुपमा कम समयमै उत्पादन लिन सकिने वनस्पति भएकाले यसको पकेट क्षेत्र घोषणासँगै प्रशोधन केन्द्र स्थापना गरिनुपर्छ । यसका लागि सकेसम्म निजी क्षेत्रलाई प्रोत्साहित गरी उत्पादन वृद्धि र बजार व्यवस्थापनमा गाउँपालिकाले मेहनत गर्नुपर्छ । कच्चा पदार्थ प्रशस्त भएपछि प्रशोधन गरी बजारमा पठाउन सहज हुन्छ ।

यसलाई खाने तरिका र हुने फाइदा :  गाउँपालिकाले सजिवन खाँदाका फाइदा चिनाउँदै खाने तरिका पनि सिकाउनुपर्छ । यसबारे प्रचारप्रसारका लागि पत्रकार सम्मेलन लगायतका कार्यहरु गरिनुपर्छ । सजिवन खाने तरिका र यसबाट हुने फाइदाबारे आमनागरिकलाई नबुझाइ उत्पादनमा व्यापकता दिन सकिँदैन । हामीकहाँ यसको तरकारी मात्र प्रचलनमा छ, तर यसको पात र मुन्टाको पाउडर बनाई चिया खाने, सुप खाने, मसला जस्तै तरकारी, माछामासु, अन्डा आदिमा राखेर खाने वा भान्साको शान मानेर खाने उपायहरु सिकाइनुपर्छ । यसै गरी सजिवनबाट साबुन, सेम्पो लगायतका वस्तुहरु पनि तयार पार्न सकिन्छ । यस्ता यावत विषयमा आमनागरिकलाई विभिन्न माध्यमबाट गाउँपालिकाले सचेत बनाउनुपर्छ ।

नमुना खेती : गाउँपालिकाले आफ्नै स्वामित्वमा सबैले देख्ने गरी सजिवनको नर्सरी तथा खेती पनि गर्नुपर्छ । यसबाट गाउँपालिकामा सजिवनका प्राविधिकहरु पनि तयारी हुँदै गर्छन् भने पकेट क्षेत्र विस्तारमा ठुलो योगदान पुग्छ ।

गाउँपालिकालाई फाइदा

अरूण गाउँपालिकाले सजिवन पकेट क्षेत्र घोषणा गरेपछि के फाइदा हुन्छ ? भन्ने प्रश्न उठ्छ नै । यदि गाउँपालिकालाई फाइदा हुँदैन भने किन पकेट क्षेत्र बनाउने ? यसैले सजिवन पकेट क्षेत्र बनाई कार्य गर्दा निम्न फाइदा हुनेछन् ।

मौसमअनुकूलन खेती : नेपालमा पछिल्लो समयमा नदीनाला, खोलाका तीरनजिकका भूभागहरुमा बर्सेनि सुक्खा लाग्ने गरेका उदाहरण धेरै छन् । मकै खेती सुकेर गएको त धेरै ठाउँमा समाचारहरु आउने गरेकै हुन् । यसमा किसानहरु मात्र चिन्तित छैनन्, जनप्रतिनिधिहरु पनि त्यत्तिकै संवेदनशील पाएको छु । १५ दिन पानी नपर्दा मकैका बोट सुक्ने भएकाले पनि त्यस्तो भएको हो । खासमा खोलामा पानी हुने, नदीमा पानी बग्ने तर आकाशबाट पानी नआउँदा बारी तथा पाखामा लगाइएका मकैका बोट सुक्नु दुखद पक्ष हो । हो यस्तै ठाउँमा सही बालीको रुपमा सजिवन रोप्नुपर्छ । सुक्खा सहन सक्ने वनस्पति भएकाले यसलाई कुनै असर पर्दैन । साथै यसबाट मौसमअनुकूलको बाली उत्पादन गर्न पनि निकै ठुलो योगदान पुग्छ । गाउँपालिकाले घोषणा गरेको यस्तो कार्यक्रम छिटै देशव्यापी रुपमा फैलिन सक्ने सम्भावना रहन्छ ।

खेतीमा लगानी र प्रशोधन उद्योग : सजिवन खेतीको सुरूआतसँगै गाउँपालिकाले लगानी सम्मेलनका लागि कामहरु अगाडि बढाउनुपर्छ । यसका लागि मुख्यतः सजिवन खेतीमै लगानी केन्द्रित गर्न निजी क्षेत्रलाई आकर्षित गर्नुपर्छ । निजी नर्सरीहरु थुप्रै आवश्यक हुन्छन्, यसै गरी निजी जमिन भाडामा लिएर काम गर्ने वातावरण पनि तयार हुनेछ । यसै गरी अरूण गाउँपालिकामा उत्पादन हुने सजिवन किनेर प्रशोधन तथा बजारीकरणमा लैजानका लागिसमेत कार्यहरु हुन्छन् । त्यसमा पनि सरोकारवालाहरुलाई आकर्षित गर्न सकिन्छ । जब लगानीको उचित वातावरण तयार हुन्छ, विदेशमा रहेका नेपाली नागरिकहरुले यस क्षेत्रमा विशेष लगानी गर्न सक्छन् । यसका सबै अवसरको फाइदा भने गाउँपालिकाले लिन सक्छ ।

अरूण गाउँपालिकामा अनेक कृषिजन्य वस्तुहरु प्रशस्तै उत्पादन हुने सम्भावना भए पनि यसले सजिवन खेतीलाई प्राथमिकतामा राखेर योजना अगि बढाउँदा गाउँवासी, गाउँपालिका, छिमेकी मात्र होइन, सिङ्गो देशलाई फाइदा पुग्छ । फेरि सजिवन मुख्य पकेट क्षेत्रको रुपमा रहे पनि अन्य कृषिजन्य वस्तुहरुको उत्पादनप्रति ध्यानैचाहिँ नदिने होइन । तर सजिवनले सिङ्गो गाउँपालिकालाई आफ्नो पहिचान स्थापित गर्नमा ठुलो भूमिका खेल्छ ।

 

 

(लेखक कृषि अभियन्ता हुनुका साथै कृषि परामर्शदाता समेत हुन । उनको कृषिमा २७ बर्षको ब्यवहारिक अनुभव रहेको छ । उनी सिप्रेड नेपालको सदस्य समेत हुन । कृषि बिषयमा उनका दर्जन भन्दा बढी पुस्तक बजारमा आएका छन । जसमध्ये कृषिबाट करोडपति, संमृद्धिका लागि कृषि, संमृद्धिका आधार जस्ता पुस्तकहरु चर्चामा रहेका छन । कृषि अभियान लिएर देशाटन गर्ने उनी नेपालको पहिलो नागरिक पनि हुन । -सम्पादक)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।