आमासँगै बालबालिका पनि सङ्क्रमित

बलेवा, साना छोराछोरीसँगै गाउँमा बस्दै आएकी एक महिलाले यसअघिका दुई चरणमा गाउँमा समेत फैलिएको कोरोनाको महामारीबाट आफू र बालबच्चालाई जोगाइन् । उनका पति दुई वर्षयता रोजगारीका सिलसिलामा साउदी अरेबियामा छन्। लोग्नेले घर छाडेपछि शुरु भएको महामारीले अन्ततः परिवारलाई नै सङ्क्रमित बनायो ।

बागलुङ नगरपालिका–१२ अमलाचौरकी उनले बालबच्चालाई महामारीबाट जोगाए पनि आफैँ सङ्क्रमित भएपछि भने बालबच्चालाई हेरिदिने कोही पनि भएनन् । उपाय केही नभएपछि उनले सङ्क्रमण नभएका छोराछोरीलाई राख्न बाध्य भइन् ।

होम आइसोलेशनमा बसेकी ती महिलाले आफै खाना पकाएर छोराछोरीलाई खुवाउँछिन् । ‘‘पाँच वर्षको छोरो अरुसँग बस्नै मानेन्, आठ वर्षकी छोरी पनि मसँगै छ’’, उनी भन्छिन् “आफूलाई सङ्क्रमण पुष्टि भएपछि गाउँलेले पनि सहयोग गरेनन् । घरमा अरु कोही नभएकाले बालबालिकालाई बाध्यतावस आफैँसँग राख्नुप¥यो।” एक साता अघि उनलाई सङ्क्रमण पुष्टि भए पनि त्यसयता सँगै बसेका बालबालिकाको जाँच गराइएको छैन् ।

ती महिलाका छोराछोरीलाई कोरोनाको जाँच गर्न बोलाइए पनि उनीहरू अहिलेसम्म आउन नसकेको अमलाचौर स्वास्थ्यचौकीका प्रमुख कृष्णप्रसाद शर्मा बताउनुहुन्छ ।

परिवारका अन्य सदस्यसहित जैमिनी नगरपालिका–१ की अर्की एक महिला पनि कोरोना सङ्क्रमित छिन् । नगरपालिकाले बनाएको अस्थायी कोभिड अस्पतालमा बस्दै आएकी उनी, उनका वृद्ध सासू, चार वर्षकी छोरी र ११ वर्षका छोरा पनि सङ्क्रमित भएका हुन् तर श्रीमान्को भने कोरोना जाँचको रिपोर्ट नेगेटिभ आएको छ ।

पाँच जनाको परिवारमा चार सङ्क्रमित छन् । ती महिला र उनकी सासूलाई स्वास्थ्यसम्बन्धी अन्य समस्या पनि छ । आफूहरुको स्वास्थ्यमा समस्या भएका कारण केही होला की भनेर आफूसहित छोराछोरीलाई पनि आइसोलेशनमा राख्नु परेको उनको भनाइ छ ।

छोराछोरीमा कडा खालको लक्षण त छैन तर घरमा कोही नभएका कारण सबैजना अस्थायी कोभिड अस्पतालमा बसिरहेका छन् । ‘‘आमा वा हजुरआमासँग जस्तो परिवारका अरु सदस्यसँग कहाँ बस्न मान्छन् र छोराछोरी’’ उनले भनिन् ‘‘सँगै बसेका छौं, खाना अस्पतालले दिन्छ, अरु सुसार आफैँले गर्दै आएकी छु ।’’

कोरोना महामारीको पहिलो लहरभन्दा दोस्रो लहरमा महिला र बालबालिकालाई धेरै असर पारेको छ । आमा सङ्क्रमित हुँदा बालबालिकालाई आइसोलेशनको समय समय कटाउन निकै कठिन हुने गरेको छ । आमा सङ्क्रमित हुँदा बालबालिका पनि सङ्क्रमित हुने खतरा बढिरहेको स्वास्थ्य कार्यालयका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताउनुहुन्छ ।

‘‘महामारी कठिन समय हो, यो बेलामा सबैमा मानसिक असर पनि परेको हुन्छ’’ धौलागिरि अस्पतालका मानसिक रोग विषेशज्ञ डा धीरेन्द्र पौडेल भन्नुहुन्छ, “बालबालिकाका लागि न अस्पतालका आइसोलेशनमा छुट्टै व्यवस्था गर्न सकिएको छ नत होम आइसोलेशनमा नै । त्यसैले बिरामीमा शारीरिकभन्दा पनि मानसिक समस्या बढी देखिन्छ ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖