धौलागिरि अस्पतालमा चिकित्सकको अभाव

बागलुङ । धौलागिरि अस्पताल बागलुङको स्तरोन्नतिसँगै गुणस्तरीय सेवा दिन थालिएको छ । कोरोना महामारीका बीच सीमित स्रोत र साधनका भरमा पनि उत्कृष्ट व्यवस्थापन गर्दै आएको अस्पतालमा दरबन्दीअनुसारको चिकित्सक भने सीमित हुँदा सकस भएको छ । कोरोना महामारीकै अवधिमा थुप्रै पूर्वाधार, उपकरण जुटाएको अस्पतालमा दरबन्दीअनुसारका मेडिकल अधिकृत, विशेषज्ञ तथा स्वास्थ्यकर्मी छैनन् । दरबन्दीअनुसारको स्वास्थ्यकर्मी, चिकित्सक नहुँदा अपेक्षाकृतरूपमा सेवा दिन समस्या भएको अस्पतालले जनाएको छ ।

सम्भावित तेस्रो लहरको खतरा बढिरहेको बेला आइसियु र भेन्टिलेटर सञ्चालनका लागि आवश्यक मेडिकल अधिकृतको अभाव भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बि पोखरेलले जानकारी दिनुभयो । सोह्र जना स्थायी विशेषज्ञको दरबन्दी रहेको अस्पतालमा हाल एक जनामात्रै विशेषज्ञ चिकित्सक कार्यरत रहनुभएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पोखरेलबाहेक अन्य कुनै पनि विशेषज्ञ चिकित्सक नरहेको अस्पतालले जनाएको छ । अस्पतालमा अहिले १० जना विशेषज्ञ चिकित्सक करारमा कार्यरत छन् ।

यस्तै छ जना स्थायी दरबन्दी रहेको मेडिकल अधिकृतमध्ये अहिले एक जनामात्रै अस्पतालमा कार्यरत रहेको र उहाँको समेत सरुवा भइसकेको छ । अस्पतालमा कोरोना महामारीकै समयमा करारका १५ मेडिकल अधिकृत कार्यरत रहेको अस्पतालमा अहिले जम्मा पाँच जना मेडिकल अधिकृत कार्यरत रहेको र दुई जनाको करार अवधि सकिन थालेको डा पोखरेलले जानकारी दिनुभयो ।

“कोरोना महामारीसँग जुध्न हामीसँग लगभग जनशक्ति पुगेकै थियो, गण्डकी प्रदेश सरकारले समेत कोरोना लक्षित गरी केही मेडिकल अधिकृत थप गरेको थियो तर सबै चिकित्सक करारका थिए”, डा पोखरेलले भन्नुभयो, “यस्तो जटिल अवस्थामा दरबन्दीको त कुरै छोडौँ, करारका चिकित्सकसमेत नहुँदा समस्या जटिल बनेको छ, हामीलाई आइसियु, भेन्टिलेटर, शिशु सघन कक्षका लागि मेडिकल अधिकृत छैनन् ।”

आफूले चिकित्कसको दरबन्दीको विषयमा पटक–पटक प्रदेश मन्त्रालयमा कुरा उठाए पनि सुनुवाइ नभएको डा पोखरेलले गुनासो गर्नुभयो । सम्भावित तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने भन्दै चार शय्याको शिशु सघन कक्ष निर्माण गरेको र थप पाँच शय्याको थप गर्ने गण्डकी सरकारको योजना रहेको भए पनि मेडिकल अधिकृत र नर्सको अभाव खड्किएको उहाँले बताउनुभयो ।

“दश जना करारका भए पनि विशेषज्ञ छन् भन्ने नागरिकलाई छ तर उहाँहरुले आफ्नो विभाग धान्नै गाह्रो छ, कोरोनाका बिरामी, आइसियु, भेन्टिलेटरमा फिजिसियननै पुग्नुपर्ने हुन्छ, एउटै चिकित्सकले दिन र रात ड्युटी गर्न सक्ने कुरा भएन”, उहाँले भन्नुभयो, “इमरजेन्सी, ओपिडी, भर्ना वार्डमा एउटै चिकित्सक पुग्नुपर्ने अवस्था हुन्छ, गुणस्तरीय स्वास्थ्य सेवा दिन, नर्स, मेडिकल अधिकृत र विशेषज्ञ तीनवटैको समन्वय मिल्नुपर्दछ, धेरै भूमिका मेडिकल अधिकृतको हुन्छ ।”

अस्पतालमा उपकरण थपिँदै गए पनि दक्ष जनशक्तिको अभाव रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले बताउनुभयो । “मैले प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारीलाई ध्यानाकर्षण गराएको छु उहाँले केही चिकित्सक पठाउने प्रतिबद्धता जनाउनुभएको छ”, मगरले भन्नुभयो, “अस्पतालको सि ब्लक आठ वर्षमा सकिएको छैन, ठेकेदारलाई छिटो गर्न भन्दिन प¥यो पनि भनेको छु, अहिले तत्कालै दुई वटा डायलासिस मेसिन प्रदेशले पठाएको छ तर त्यसलाई चाहिने पानी उत्पादन गर्ने औजार चार शय्याको मात्रै छ, हामीले छ शय्याको डायलासिस कक्ष बनाएका छौँ तर सञ्चालनमा समस्या छ ।”

डायलासिस कक्षमा १८ जना बिरामी पर्खाइमा रहेको अस्पतालले जनाएको छ । दुई मेसिन सञ्चालन गर्न पाए बिरामीलाई राहत हुने अस्पतालले जनाएको छ । दुई सय शय्यामा स्तरोन्नति गर्ने योजनामा रहेको अस्पतालमा ५० शय्या भए पनि अस्पतालले आवश्यकताअनुसार शय्या थप गर्दै उपचार गरिरहेको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएको र कोरोनासँग जुध्न कम्तीमा १५ जना मेडिकल अधिकृत चाहिने अस्पतालले जनाएको छ । अहिले भएको चार÷पाँच जना मेडिकल अधिकृत इमर्जेन्सी कक्षमा जाँच र उपचारका लागि मात्रै ठिक्क हुने गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।