केही हप्ता यतादेखि ज्वरोका बिरामीको सङ्ख्या थपिँदै
डोटी, ३ भदौ । जिल्लामा पछिल्लो केही हप्ता यतादेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या थपिँदै गएको छ । यहाँका अस्पताल तथा निजी पोलिक्लिनिकमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ ।
केही दिनदेखि जिल्लामा वर्षासँगै अत्यधिक गर्मी बढेको र वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाले जनाएको छ । उक्त अस्पतालमा मात्रै दैनिक १० देखि १५ भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले जानकारी दिनुभयो ।
यसैगरी जिल्ला अस्पतालमा पनि पछिल्लो दुईहप्ता यतादेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या थपिदै गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवं कार्यालय प्रमुख कृष्ण जोशीले बताउनुभयो । अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६०÷७० प्रतिशत बिरामीमा भाइरल ज्वरोको समस्या हुने गरेको अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले बताउनुभयो ।
यहाँका निजी मेडिकल तथा पोलिक्लिनिकमा समेत उक्त रोगका बिरामी बढ्दै गएका मुकेश मेडिकल हल दिपायलका मुकेश यादवले जानकारी दिनुभयो । यहाँका सहरी क्षेत्रका अस्पताल भन्दा पनि गाउँघरमा रहेका निजी मेडिकलमा उपचार गराउन आउने भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढी रहेको जोरायल गाउँपालिका–३ की यशोदा मल्लले बताउनुभयो ।
यहाँका निजी मेडिकलमा उच्च पावरको औषधि दिने तथा ज्वरो चाँडै निको हुने भएकाले पनि उ
क्त रोगका बिरामी सरकारी अस्पतालभन्दा पनि गाउँमा खोलिएका निजी मेडिकल प्रति बढी आकर्षित हुने गरेका अर्का स्थानीयवासी करनसिंह खत्रीले बताउनुभयो ।
मौसम परिवर्तनका कारण मानिसको शरीरमा अत्यधिक गर्मी भएको र शरीर तातो नै रहेको बेला अचानक पानीमा भिज्नु वा चिसो पदार्थ पिउनाले शरीरले तापक्रम अनुकूलरूपमा मिलाउन नसक्दा ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो आउने गरेको शैलेश्वरी अस्पतालका डा ललितकुमार लिम्बूले बताउनुभयो ।


