आमाले घर छाडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली

दमौली, ४ भदौ । तनहुँको बन्दीपुर गाउँपालिका–४ चौकीटोलकी एक महिलाले घर छाडेर हिँडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली भएको छ । स्थानीय सङ्गीता तामाङ गन्धर्वले यही भदौ १ गतेदेखि घर छाडेर हिँडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली भएको हो ।

केही दिन अगाडि श्रीमान्–श्रीमतीको झगडा परेपछि उहाँ घर छाडेर हिँडेको बताइएको छ । उहाँ हराएको बारेमा परिवारले बिहीबार गाउँपालिकालाई जानकारी गराएको छ । गाउँपालिकाले प्रहरीलाई खबर गरेर उहाँको खोजीका लागि अनुरोध गरेको उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो । “ती महिला हराएका बारेमा गाउँपालिकामा जानकारी आएपछि प्रहरीको सहयोगमा खोजी गरिरहेका छौँ”, उहाँले भन्नुभयो । ती महिलाले मोबाइल फोन घरमै छाडेको छ । “ती महिलाको आमासँग कुरा गरेका छौँ, माइती पनि नगएको जानकारीमा आयो”, गुरुङले भन्नुभयो ।

उस्मानका लागि सहयोग जुट्दै

विश्वकै दुर्लभ रोगबाट ग्रसित नौ महिने बालकको उपचारका लागि सहयोग जुट्ने क्रम जारी छ । ‘स्पाइनल मस्कुलर एट्रोफी’ रोगबाट ग्रसित शुक्लागण्डकी नगरपालिका–५ का मोहम्मद उस्मान अलीको उपचारका लागि देश तथा विदेशबाट सहयोग जुटिरहेको छ ।

उनको उपचारमा सघाउन जिल्लाका युवाले आर्थिक सङ्कलनलाई तीव्रता दिएका छन् । रकम सङ्कलनका लागि उनीहरुले घरदैलोदेखि सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरिरहेका छन् । यसैक्रममा शुक्लागण्डकीस्थित गल्छिनाका युवायुवतीले राजमार्गमै सहयोगको अपिल गरेर रु एक लाख दुई हजार ५२२ सङ्कलन गरेका छन् । खैरेनी र दुलेगौडास्थित बस रोक्ने ठाउँमा बसेर सहयोगको अपिल गर्दा उक्त रकम सङ्कलन भएको स्थानीयवासी रुकिया खातुनले जानकारी दिनुभयो ।

यसैगरी खैरेनी युवा क्लबले घरदैलोमार्फत सङ्कलन भएको रु ५५ हजार ५५५ बालकका आफन्तलाई हस्तान्तरण गरेको छ । घरदैलोबाट सङ्कलित ४४ हजार ३४० र के गाइजबाट रु ११ हजार २१५ गरी रु ५५ हजार ५५५ क्लबका अध्यक्ष सुरज थापाले बालकका हजुरबुवालाई हस्तान्तरण गर्नुभयो । निकै महङ्गो उपचार लाग्ने भएकाले पीडित परिवारले सहयोगको आग्रह गरेको छ । ती बालकमा जन्मिएको तीन महिनामै एसएमए रोगको लक्षण देखिएको परिवारले जनाएको छ ।

स्थानीय तहमा बारअनुसार सेवा

कोभिड–१९ को सङ्क्रमण दिनदिनै बढ्दै गइरहेको र कार्यालयमा सेवाग्राहीको चाप अत्यधिक बढेपछि जिल्ला प्रशासन कार्यालयले अब बारअनुसार सेवा प्रवाह गर्ने भएको छ । दश स्थानीय तह रहेको जिल्लाका नागरिकलाई कार्यालयले यही भदौ ७ गतेदेखि बारअनुसार सेवाप्रवाह गर्न लागेको हो ।

कार्यालयमा अत्यावश्यक सेवाबाहेक अन्य सबै किसिमका दैनिक सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या अत्यधिक बढेकाले यस्तो व्यवस्था सुरु गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । “कार्यालय तथा बजारमा मानिसको भीडभाडसँगै सङ्क्रमण पनि बढेको हुँदा मानिसको आवागमन कम गर्न यही भदौ ७ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि स्थानीय तहगतरूपमा सेवाप्रवाहको व्यवस्था मिलाएका छौँ”, बरालले भन्नुभयो ।

कार्यालयका अनुसार आइतबार शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका र ऋषिङ गाउँपालिका, सोमबार व्यास नगरपालिका र म्याग्दे गाउँपालिका, मङ्गलबार शुक्लागण्डकी नगरपालिका, घिरिङ गाउँपालिका र ऋषिङ गाउँपालिकाका जनताले सेवा लिन पाउनेछन् । बुधबार भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका तथा बिहीबार आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, भिमाद नगरपालिका र भानु नगरपालिका एवं शुक्रबार व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाका जनताले सेवा लिन पाउनेछन् । (रासस) :

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।