अध्यक्ष दाहाल;राष्ट्रिय सहमतिका आधारमा मात्रै एमसिसी अगाडि बढाउन सकिन्छ

काठमाडौँ, २५ भदौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिका आधारमा मात्रै अमेरिकी सहयोगी परियोजना एमसिसीलाई अगाडि बढाउन सकिने बताउनुभएको छ ।

एमसिसीका सम्बन्धमा अनेकन खालका विवाद र द्विविधा रहेको उल्लेख गर्दै उहाँले केही विषयमा संशोधन हुनुपर्छ भन्ने आफूहरुको मत रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालसँग शिष्टाचार भेटका लागि एमसिसीका उपाध्यक्ष फतिमा सुमार आज बिहान उहाँको निवास खुमलटार पुग्नुभएको थियो ।

अध्यक्ष दाहालले नेपालका सबै राजनीतिक दलबीच साझा सहमतिका आधारमा मात्रै आयोजना अगाडि बढाउन सकिनेमा आफूहरु स्पष्ट रहेको बताउनुभएको उहाँका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । “नेपालका राजनीतिक दलबीचको सहमतिका आधारमा मात्रै एमसिसी अगाडि बढाउनुपर्छ भन्नेमा हामी एकमत छौँ”, अध्यक्ष दाहालले भन्नुभयो ।

आफूहरुको पाँच दलीय गठबन्धनको बीचमा पनि साझा धारणा बनाएर मात्रै यसलाई अगाडि बढाउने पक्षमा रहेको उहाँको भनाइ थियो । सो अवसरमा उपाध्यक्ष फतिमाले नेपालका राजनीतिक दलबीचमा अन्तक्र्रिया गर्न आफू नेपाल आएको बताउनुभएको थियो । उहाँले नेपालका राजनीतिक दलका बीचमा साझा सहमतिका आधारमा आयोजना अगाडि बढोस् भन्ने आफूहरुको चाहना रहेको उल्लेख गर्नुभयो ।

आयोजनाको उपादेयताका बारेमा जानकारी दिँदै उपाध्यक्ष फतिमाले पारदर्शीपूर्ण छलफलका आधारमा मात्रै अगाडि बढ्न सजिलो हुने बताउनुभएको थियो । उहाँले आफूहरु कुनै पनि दबाब दिने उद्देश्यले नआएकाले यसलाई नियमित भ्रमण भएको बताउनुभएको जनाइएको छ।

सो अवसरमा उपाध्यक्ष फतिमाले प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यलाभको समेत कामना गर्नुभएको थियो । बिहीबार नेपाल आउनुभएका उपाध्यक्ष फतिमाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरिसक्नुभएको छ । एमसिसीका बारेमा परस्परविरोधी मत रहेका बेला आयोजनाका बारेमा जानकारी लिने उद्देश्यका साथ फतिमा नेपाल आइपुग्नुभएको हो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖