अलैँचीले किसानको आम्दानी बढ्यो, सम्भावना पहिचान

जितेन्द्र थापा/दैलेख, २९ भदौ । पछिल्लो तीन वर्षयता व्यावसायिक रूपमा अलैँची खेती सुरु गरेका दैलेखका किसानहरूले अघिल्लो वर्ष मात्र २३ लाख ११ हजार रुपैयाँ बराबरको अलैँची बिक्री गरेका छन् ।

११ वटा स्थानीय तह रहेको दैलेखममा किसानहरू अलैँची खेतीतर्फ आर्कर्षित हुँदै अलैँची खेतीबाट मनग्य आम्दानी लिन थालेका छन् । जिल्लाका ११ वटा स्थानीय तहमध्ये छवटा स्थानीय तहहरू नौमूले, भगवतीमाई, डुङ्गेश्वर, गुराँस, महाबु र भैरवीका किसानहरू अलैँची खेतीबाट मनग्य लाभ लिँदै आएका छन् । यी स्थानीय तहमा अलैँची खेतीका लागि राम्रो संभावना रहेको समेत पाइएको छ ।

पछिल्लो तीन वर्षयता व्यावसायिक रूपमा अलैँची खेती सुरु गरेका किसानहरूले अघिल्लो वर्ष मात्र चार हजार १७२ किलो अलैँची उत्पादन गरेको तथ्यांक छ ।

ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना सहयोग इकाई डडेल्धुराले दैलेखमा आयोजना गरेको अलैँची उत्पादन क्षेत्र पहिचान तथा मूल्य शृंखला ढाँचा विकाससम्बन्धी दुई दिने कार्यक्रममा सहभागी किसानहरूबाट संकलन गरिएको तथ्यांकमा हाल जिल्लाका छवटा स्थानीय तहमा दुई हजार ४७६ रोपनी क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ ।

छवटै स्थानीय तहका किसानहरू एकै ठाउँमा जम्मा भएर संकलन गरेको तथ्यांकअनुसार ५५ स्थानका एक हजार ४७२ घरधुरीले व्यावसायिक रूपमा अलैँची खेती गरिरहेका छन् । किसानहरूले उत्पादन गरेको अलैँची औसतमा प्रतिकिलो ५५४ रुपैयाँमा बिक्री भइरहेको छ ।

६१ स्थानमा तीन हजार ७०८ रोपनी क्षेत्रफलमा अलैँची खेती विस्तार गर्न सकिने

कार्यक्रममा छवटा स्थानीय तहहरूका अलैँची खेती विस्तार गर्न सकिने संभावित स्थानहरू समेत पहिचान गरिएको छ । ६१ स्थानमा तीन हजार ७०८ रोपनी क्षेत्रफलमा अलैँची खेती विस्तार गर्न सकिने र एक हजार ५६० घरधुरीलाई व्यावसायिक अलैँची खेतीमा संलग्न गराउन सकिने कार्यशालाले पहिचान गरेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना सहयोग इकाई दैलेखका जलस्रोत सल्लाहकार हरि सापकोटाको भनाइ छ ।

हाल जिल्लामा सातवटा अलैँची नर्सरी, तीनवटा अलैँची सुकाउने भट्टी, नौमूले गाउँपालिकामा एउटा अलैँची संकलन केन्द्र रहेका छन् ।

कार्यशालाले अलैँची खेतीका लागि नक्सांकन र क्षेत्र पहिचानसमेत गरेको छ । ‘आधुनिक प्रविधिको प्रयोग गरेर अलैँचीको व्यावसायिक खेती गर्नुपर्ने औँल्याउँदै बजारीकरणका लागि अलैँची उत्पादक किसानहरू संगठित हुनुपर्छ’, सल्लाहकार सापकोटाले भने ।

दैलेख जिल्ला अलैँची उत्पादनका हिसाबले उच्चसंभावना रहेको परियोजनाका जीविकोपार्जन विज्ञ कृष्ण मल्लको भनाइ छ । ‘उत्पादन विस्तारसँगै अलैँची खेतीलाई व्यावसायिक बनाउन सके केही वर्षमै दैलेख जिल्लाबाट १० करोड रुपैयाँभन्दा बढीको अलैँची निकासी गर्न सकिन्छ’, उनले भने ।

कुन पालिकामा कति अलैँची उत्पादन ?

किसानहरूकै संलग्नतामा संकलन गरिएको तथ्यांकअनुसार गुराँस गाउँपालिकामा आठ स्थानका १३२ घरधुरीले ३९६ रोपनी क्षेत्रफलमा अलैँची खेती गरिरहेका छन् । खेतीबाट उत्पादन भएको ९६७ किलो अलैँची प्रतिकिलो ७०० रुपैयाँका दरले बिक्री गरेको पाइएको छ ।

गुराँसका आठ स्थानमा ८६१ रोपनी क्षेत्रफलमा अलैँची खेती विस्तार गर्न सकिने र त्यसबाट २८७ घरधुरीलाई खेतीमा जोड्न सकिने गरी अलैँची उत्पादन क्षेत्रको पहिचान गरिएको छ ।

त्यस्तै, डुङ्गेश्वर गाउँपालिकाका तीनवटा स्थानका १०० घरपरिवारले ५०० रोपनी क्षेत्रफलमा अलैँची खेती गरिरहेका छन् । उनीहरूले उत्पादन गरेको अलैँची प्रतिकिलो ८०० रुपैयाँका दरले बिक्री गरेका छन् ।

डुङ्गेश्वरका दुई स्थानमा १५० रोपनी क्षेत्रफलमा अलैँची खेती विस्तार गर्न सकिने र ७० घरपरिवारलाई अलैँची खेतीमा जोड्न सकिने पाइएको छ ।

भगवतीमाई गाउँपालिकामा १७ स्थानका १०५ घरधुरीले १८० रोपनी क्षेत्रफलमा अलैँची खेती गरिरहेका छन् भने २० स्थानका १६१ रोपनी क्षेत्रफलमा अलैँची खेती विस्तार र १२५ घरधुरीलाई अलैँची खेतीमा जोड्न सकिने कार्यशालाले औँल्याएको छ ।

त्यसैगरी नौमूले गाउँपालिकामा १६ स्थानका ३६५ घरधुरीले ५०० रोपनी क्षेत्रफलमा अलैँची खेती गरिरहेका छन् । दुईवटा अलैँची सुकाउने आधुनिक भट्टी र संकलन केन्द्रसमेत रहेको नौमूलेमा २२ स्थानको २८१ रोपनी क्षेत्रफलमा अलैँची खेती विस्तार गर्न सकिने गरी नक्सांकन गरिएको छ । त्यहाँ ३७३ घरधुरीलाई अलैँची खेतीमा जोड्न सकिनेछ ।

भैरवी गाउँपालिकाका सात स्थानमा २२० घरधुरीले २०० रोपनी क्षेत्रफलमा अलैँची खेती गरेका छन् । गाउँपालिकाभर पाँच स्थानमा एक हजार ६६० रोपनी क्षेत्रफलमा अलैँची खेती विस्तार गर्न सकिने र २०० घरधुरीलाई व्यावसायिक अलैँची खेतीमा जोड्न सकिने संभावना रहेको छ ।

त्यसैगरी महाबु गाउँपालिकामा चार स्थानका ५५० घरधुरीले ७०० रोपनी क्षेत्रफलमा अलैँची खेती गरिरहेका छन् । महाबुमा चार स्थानमा २६५ रोपनी क्षेत्रफलमा अलैँची खेती विस्तार गर्न सकिने र ५०५ घरधुरीलाई अलैँची खेतीमा जोड्न सकिने गरी अलैँची उत्पादन क्षेत्रको पहिचान गरिएको छ । महाबुमा एउटा अलैँची खेतीका लागि नर्सरीसमेत रहेको छ ।-न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।