वाग्मती नदी किनार र त्यस वरपरको क्षेत्रमा विशेष सफाइ

काठमाडौँ, २ असोज ।पशुपति क्षेत्रथित भष्मेश्वर घाटमुनिको वाग्मती नदी किनार र त्यस वरपरको क्षेत्रमा विशेष सफाइ गरिएको छ ।

वाग्मती सफाइ महाअभियानको ४३६औँ हप्तामा भष्मेश्वर घाट क्षेत्रमा ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ नाराका साथ सफाइ गरिएको हो । सफाइमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापा, कार्यकारी निर्देशक डा घनश्याम खतिवडा, नायक शिव श्रेष्ठ, गुर्जो अभियानकर्मी कमलबहादुर राजलवट, काठमाडौँ महानगरपालिका–९ का सदस्य टेकराज अधिकारीलगायत सफाइ अभियानकर्मी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारीको सक्रियतामा यस क्षेत्रमा सफाइ गरिएको हो ।

भष्मेश्वरघाटबाट हंसमण्डपसम्मको क्षेत्रमा पनि आज विशेष सफाइ गरिएको अधिकारसम्पन्न वाग्मती समितिका सञ्चालक सदस्य डा माला खरेलले राससलाई जानकारी दिनुभयो । पशुपति क्षेत्रको धेरै स्थानमा फोहर भएकाले कोषले निरन्तर रुपमा सफाइ गर्ने जानकारी गराएको छ ।

भदौ २५ गते पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गरिएपछि दर्शनार्थीको भीडसमेत बढ्न थालेकाले यस क्षेत्रको विशेष सफाइ गरिएको हो । नयाँ भेरियन्टसहितको कोरोना जोखिमका कारण साढे चार महिनासम्म पशुपतिनाथ मूल मन्दिर बन्द गरिँदा पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइसमेत हुन नसकेकाले विशेष सफाइ अभियान सुरु गरिएको हो।

स्वच्छ पशुपति अभियान सुरु

कोषका कार्यकारी निर्देशक खतिवडा पशुपति खुलेसँगै स्वच्छ पशुपति अभियानको सुरु गरी आजदेखि सफाइ थालिएको बताउनुहुन्छ । वाग्मती सफाइ महाअभियान नजोडिए पनि कोषले यो अभियानलाई हप्तामा आज बिहान एक घण्टा निरन्तरता दिने बताउनुभयो । यो अभियानअन्तर्गत पशुपति क्षेत्रका मठमन्दिर, घाटलगायत क्षेत्रको विशेष सफाइ गरिने जनाइएको छ ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको ४०५औँ हप्तामा गोठाटार पुल क्षेत्रमा सफाइ गरिएको छ । कुहिने फोहर जमिनमुनि गाडेर व्यवस्थापन गरिएको छ । नकुहिने फोहर प्लाष्टिक बोत्तलमा हालेर इँटा बनाउन उपयोग गरिने वाग्मती सुन्दरता सरोकार मञ्चको अध्यक्षसमेत रहनुभएका अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिनुभयो । यस क्षेत्रको सफाइबाट फोहर ‘डम्पिङ साइड’ नपठाउने योजनाका साथ सफाइ भइरहेको छ ।

मनोहरा सरसफाइ तथा सम्पदा बचाउ नागरिक अभियानको २३४औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ स्थित कोटेश्वर क्षेत्रमा सफाइ गरिएको छ । सफाइमा प्रहरीसहित अभियानकर्मीको सक्रियता रहेको संयोजक चन्द्र दङ्गालले जानकारी दिनुभयो ।

यसैगरी काठमाडौँ उपत्यकाका विष्णुमतीको माथिल्लो र तल्लो भाग, रुद्रमती, चक्रपथको उत्तर र पश्चिमी खण्डलगायत स्थानमा पनि सफाइ गरिएको छ । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान सुरु भएपछि यसका सहायक नदी पनि सफाइ गर्न थालिएको हो ।

वाग्मती सफाइ महाअभियानको प्रेरणाबाट हाल उपत्यकाका २५ स्थानमा सफाइ भइरहेको छ । महाअभियान सुरु भएदेखि प्रत्येक हप्ताको आज प्रतिकूल परिस्थितिका बाबजुद पनि सफाइ हुने गरेको छ ।

महाअभियानको प्रभावले काठमाडौँ उपत्यकाबाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदा क्षेत्रमा पनि सफाइ भइरहेको छ । उपत्यकाबाहिर १०८ भन्दा बढी स्थानमा सफाइ सुरु भइसकेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।