झापामा पाँच प्रतिशत धानमा पूर्ण क्षति, गत वर्षको तुलनामा उत्पादन नघट्ने

झापा, १५ कात्तिक । झापामा बेमौसमी वर्षाले पाँच प्रतिशत धानमा पूर्ण क्षति पुर्‍याएकाे छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार जिल्लामा कुल धान खेतीको पाँच प्रतिशत क्षति भएको हो ।

झापामा ८७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा बर्खे धान लगाइएको थियो । जसमध्ये चार हजार ३५० हेक्टर क्षेत्रफलको धान पूर्णरूपमा नष्ट भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले जानकारी दिए । ‘यो गौरीगञ्ज–१ मा धेरै छ । धान खेतीमा बालुवा छ अहिले,’ उनले भने, ‘माई नदी बगिरहेको छ ।’

यस्तै, झापामा पूर्ण क्षति पाँच प्रतिशत, मध्यम आठ प्रतिशत, आंशिक पाँच प्रतिशत गरी १६ प्रतिशत बालीमा क्षति भएको उनले बताए । यद्यपि धान उत्पादनमा भने गत वर्षको तुलनामा कमी नआउने कृषि ज्ञान केन्द्रको अनुमान छ । गत वर्ष ८७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा चार लाख २० हजार मेट्रिक्टन धान उत्पादन भएको थियो ।

यसपटक पनि यो परिमाणमा खासै तलमाथि नआउने ज्ञान केन्द्र प्रमुख सिंहले जानकारी दिए । ‘यसपटक लगाएको धानको १८ प्रतिशतमा बेमौसमी वर्षाले असर गरे पनि उत्पादन खासै घट्दैन । गत वर्ष प्रति हेक्टर चार दशमलव आठ मेट्रिक्टन उत्पादकत्व थियो । यसपटक प्रति हेक्टर पाँच मेट्रिक्टन हुने अनुमान छ,’ उनले भने, ‘मैले सबै फिल्ड आफैँ हेरेको छु । धान राम्रो फलेको छ । एक दुई प्रतिशत कम भए पनि उत्पादनमा खासै कमी आउँदैन ।’ तर, क्षति भएका किसानलाई भने मर्का परेको छ ।

गौरीगञ्ज–१ हुकलबारीका कृषक हरि थेबेले पाँच विगाहा क्षेत्रफलमा धान, आलुलगायत बाली लगाएका थिए । तर, उनको खेतमा अहिले माई नदीको एउटा भंगालो कुदिरहेको छ । ‘हाम्रो त मुख्य पेसा नै कृषि हो । यहाँका एक सय परिवार कृषिमै निर्भर छन्,’ उनी भन्छन्, ‘हाम्रो त जागिर भनेकै यही खेती हो । तर, सबै माई नदीले बगायो । अब एक वर्ष के खाएर बस्ने ? खेती गर्दाको ऋण कसरी तिर्ने ?’

जिल्लाको उत्पादनमा ठूलो क्षति नभए पनि बाढीले क्षति पुर्‍याएको क्षेत्रका धानबाली लगाउने व्यक्तिलाई भने ठूलो क्षति भएको ज्ञान केन्द्र प्रमुख सिंहले बताए । ‘गत वर्षको भन्दा उत्पादनमा त फरक नआउला । तर, व्यक्तिगत रूपमा चार हजार ३५० हेक्टर क्षेत्रफलमा खेती गर्ने किसानलाई ठूलो क्षति भएको छ,’ उनले भने, ‘हामीले लगत संकलन गरेका छौँ । केन्द्र सरकारको प्रतिनिधि कर्मचारीसँग बसेर नै यो डाटा बनाएका हौँ । हामी केन्द्र र प्रदेश दुवै सरकारसमक्ष पुर्‍याउने छौँ ।’

धान उत्पादनमा झापा प्रदेश-१ मै पहिलो हो । यो जिल्ला धान उत्पादनमा आत्मनिर्भर रहेको ज्ञान केन्द्र प्रमुख सिंह बताउँछन् । ‘यहाँ उत्पादनले झापाबासीलाई खान पुग्छ । हामी धान उत्पादनमा आत्मनिर्भर छौँ,’ उनले भने, ‘यहाँबाट काठमाडौं, पोखरालगायत जिल्लामा धान जाने गरेको छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖