वाइवाइ १९ वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि टोली छनोट
बैतडी, २२ कात्तिक । मङ्सिरमा आयोजना हुने वाइवाइ १९ वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि टोली घोषणा गरिएको छ । जिल्ला क्रिकेट सङ्घले कात्तिक २१ गते छनोट क्याम्प सञ्चालन गरेर खड्गबहादुर बोहराको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरेको हो । टोलीका अन्य सदस्यमा गजेन्द्र बोहरा, दीपक बोहरा, प्रदीप चन्द, सुनिल चन्द, वीरेन्द्रनाथ, श्याम साउद, नरेन भट्ट, भूपेन्द्र चन्द, वीरेन्द्र चन्द, हेमन्त चन्द, विशाल चन्द, नीरज रावल र सुरेन्द्र ऐरी रहेका छन् ।
यस्तै धीरज मल्ल, सन्तोष चन्द, दीपेन्द्र भण्डारी र जीवन चन्द वैकल्पिक खेलाडीको रुपमा छनोट भएका सङ्घका अध्यक्ष लालबहादुर चन्दले बताउनुभयो । प्रशिक्षकका रुपमा शेरसिंह खत्री र टिम व्यवस्थापकमा लोकराज जोशीलाई चयन गरिएको जनाइएको छ । छनोट भएको टोली कात्तिक २४ गतेदेखि कञ्चनपुरको महेन्द्रनगरमा हुने प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुने भएको छ । प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको १९ वर्षमुनिको टोली बनाइने भएको छ । उक्त टोलीले १९ वर्षमुनीको राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर ४ गतेदेखि १९ वर्षमुनीको राष्ट्रिय प्रतियोगिता हँुदैछ ।
यो पनि पढ्नुहोस..सैनिक श्रीमती सङ्घको ३८औँ वार्षिकोत्सव
काठमाडौँ, २२ कात्तिक ।प्रधानसेनापति प्रभुराम शर्माले सैनिक श्रीमती सङ्घको वार्षिक मुखपत्र ‘सेवा सुमन’ लोकार्पण गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा भएको सङ्घ स्थापनाको ३८औँ वार्षिकोत्सव समारोहमा महारथी शर्मा र सङ्घकी अध्यक्ष सुनिता शर्माले वार्षिक मुखपत्रको पछिल्लो अङ्क विमोचन गर्नुभएकोे हो । सङ्घको वार्षिकोत्सव झण्डोत्तोलनलगायत विविध कार्यक्रम गरी मनाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । श्रीमती सङ्घले नेपाली सेनाका बहालवाला तथा भूपू सैनिकका आश्रित परिवाललाई लक्षित गर्र्दै विभिन्न आयमूलक र सेवामूलक सामाजिक कार्यक्रम गर्दै आएको छ ।


