रोङ गाउँपालिका अध्यक्ष राई कांग्रेस क्षेत्रीय सभापतिमा निर्वाचित
इलाम, ८ मंसिर/नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा समशेर राई निर्वाचित भएका छन् । उनी २ सय ४७ मतसहित क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् ।सभापतिमा निर्वाचित राई रोङ गाउँपालिकाका अध्यक्ष हुन् । उनका निकटतम प्रतिष्पर्धी भीष्म प्रधानले २ सय १४ मत प्राप्त गरे । सभापतिका अर्का प्रतिस्पर्धी दुर्गा बरालले १ सय ९७ मत पाए ।
क्षेत्रीय सभापतिका चार उम्मेदवारमध्ये मिलन क्षेत्रीले २१ मत ल्याएका छन् । क्षेत्रीय सचिवमा राजकुमार लिम्बु र यामन लामा विजयी भएका छन् । लिम्बुले २ सय ५४ मत र लामाले २ सय ३१ मत प्राप्त गरे । सहसचिवमा प्रज्वल भट्टराइले ३ सय १० र बुद्रधराज लिम्बुले २ सय ६६ मत ल्याएका छन् ।
कांग्रेस महाधिवेशन : कञ्चनपुर सभापति महाधिवेशन प्रतिनिधिमा पराजित
महेन्द्रनगर, ८ मङ्सिर (रासस): नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति हरि बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशनअन्र्तगत कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ बाट बोहरा महाधिवेशन प्रतिनिधिका लागि खुल्लातर्फ उम्मेदवार हुनुहुन्थ्यो ।
सभापति बोहराले २४४ मत प्राप्त गर्नुभयो । यस्तै पूर्व सांसद बलदेब बोहरा पनि महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ । उहाँले १९० मत प्राप्त गर्नुभयो । सो निर्वाचन क्षेत्रमा पुरुषतर्फ १९ उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । दश जना निर्वाचित भएका छन् । निर्वाचित हुने महाधिवेशन प्रतिनिधिमा बहादुरसिंह थापा, चिन्तामणि भट्ट, हेमराज ओझा, लोकबहादुर देउवा, पुष्करराज ओझा, दलबहादुर बोहरा, मिनबहादुर सिंह, दुर्गादत्त भट्ट, उद्धव बोहरा र टिकाराम बैज छन् । क्षेत्र नं २ मा कूल ५०४ मत खसेको थियो ।
यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट पुरुष खुल्लातर्फ महाधिवेशन प्रतिनिधिमा यज्ञराज जोशी, खगेश्वर बोहरा, बेलबहादुर रानामगर, प्रकाश थापा, दीपक सिंह, पदम बोगटी, आसेफ कुवँर (भुन्टु), तारणीदत्त चटौत, जङ्गबहादुर चन्द र बीरबहादुर सुनार निर्वाचित भएका छन् । सो क्षेत्रमा पुरुष खुल्लातर्फ ३२ जना महाधिवेशन प्रतिनिधिका लागि चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
क्षेत्र नं २ को सभापतिमा लालबहादुर सिंह विजयी हुनुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी नवराज जोशीलाई १८४ मत अन्तरले पराजित गर्नुभएको हो । सिंहले ३४१ तथा जोशीले १५७ मत प्राप्त गर्नुभयो । सचिवमा गणेशबहादुर विष्ट ३५० र थानेश्वरप्रसाद भट्ट ३३१ मतसहित निर्वाचित हुनुभयो । यसअघि निर्वाचन क्षेत्र नं ३ को सभापतिमा भने केशवहादुर चन्द निर्वाचित हुनुभएको थियो । चन्दले ३३० तथा उहाँका निकटतम प्रतिद्वन्द्वी गणेश नेगीले १९३ मत प्राप्त गर्नुभएको थियो । सचिवमा उमेशप्रसाद जोशी र गङ्गादत्त भट्ट तथा सह–सचिवमा अर्जुन भट्ट र खड्कबहादुर बस्नेत निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।


