पाँचथर कांग्रेस सभापतिमा जबेगू विजयी

पाँचथर, ८ मंसिर ।नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाँचथरको सभापतिमा रुपनारायण जबेगू विजयी विजयी भएका छन् । प्रतिद्वन्द्वी सुरेन्द्रकुमार दाहाललाई दुई सयभन्दा बढी मतान्तरले पराजित गर्दै जबेगू सभापति निर्वाचित भएका हुन् ।

मतगणनाअनुसार जबेगूले ६ सय ३४ र दाहालले चार सय १६ मत प्राप्त गरे । उपसभापति पदमा भने दाहाल पक्षका वृजहाङ आङदेम्बे र डिकेन्द्रकुमार चेम्जोङ विजयी भए । आङदेम्बे ६ सय २५ मत र चेम्जोङले चार सय ५१ मत प्राप्त गरे । उपसभापति पदमा जबेगूको प्यानलका समरबहादुर अधिकारीले चार सय ४० र मणिचन्द्र चेम्जोङले चार सय ३३ मत प्राप्त गरे ।

सचिव पदमा दीपक नेपाल पाँच सय २७ मत र डेकेन्द्रकुमार तामाङ चार सय ७० मत प्राप्त गर्दै विजयी भए । सचिव पदमा धनराज तुम्बापोले चार सय १४, सुवराज थापाले तीन सय ७७ र एकराज नेम्वाङले एक सय ५६ मत प्राप्त गरे।सहसचिव पदमा ६ सय आठ मत प्राप्त गर्दै सन्तोष श्रेष्ठ र चार सय ९९ मत प्राप्त गर्दै गजेन्द्र राई विजयी भए । सहसचिव पदमा धनसिंह नेम्वाङले चार सय ३० र कृष्णकुमार फियाकले तीन सय ७० मत प्राप्त गरे।

१०७ वर्षीया कली र ८७ वर्षीया भद्रमायाको लोभलाग्दो सहकार्य

उर्मिला भट्टराई/सिन्धुली, ८ मंसिर /दलानमा बोराको धागो निकाल्दै गरेकी उनको अनुहार चाउरी परको छ । मुखमा दाँत छैन । जोडले बोल्दा मात्र सुन्ने । आँखा पनि राम्रो नदेख्ने । कमलामाई नगपालिका १० जाहानटोलकी १०७ वर्षीया कुमारी सुनुवार (कली) हेर्दा कमजोर देखिए पनि उनको काम गर्ने शक्ति र जाँगर भने कम भएको छैन । घरको दलानमा बसेर दिनभर बोराको धागो निकाली नाम्लो र दाम्लो बाटेर दैनिकी टार्ने गर्छिन् कली ।

रामेछापबाट १४ वर्षको उमेरमा विवाह गरेर सिन्धुली आएकी कली माइती हुँदादेखि नै दाम्लो बाट्ने गरेको र आफूले जानेको सिपलाई निरन्तरता दिएको बताउछिन् । ‘विवाह भएको एक वर्ष दिन नपुग्दै जेठो छोरा जन्मियो । श्रीमानको जागिर थिएन । खेतीपातीबाट बिहानबेलुका छाक टार्नसमेत धौधौ हुन्थ्यो’, उनले भनिन्, ‘आफ्नो र परिवारको दुई छाक भोक मेटाउन माइतीमा गर्दै आएको दाम्लो बाट्ने काम यहाँ आएर पनि गर्न थालेँ ।’

दाम्लो नै आफ्नो आयआर्जनको दरिलो माध्यम भएको कलीले बताइन् । ‘माइतिमा ८०÷९० वटा बाख्रा थियो । ति सबैलाई मैले नै दाम्लो बनाउथेँ । त्यतिबेला त गाउँका मान्छेहरू आफ्नो बाख्राका लागि आफैँ दाम्लो बनाउँथे’, विगत सम्झँदै कलीले भनिन् । सातवटा छोराकी आमा कलीसँग अहिले तीन जना मात्र छोरा छन् । चार भाइ छोराले भने संसार छोडिसकेको उनले सुनाइन् । छोराहरू छुट्टिएपछि पाँच वर्षसम्म कली एक्लै बसिन् । स्वास्थ्यमा समस्या आएपछि अहिले जाहानटोलमा ठूलोकान्छो छोराबुहारीसँगै बस्छिन् । कान्छा छोरा काठमाडौमा बस्छन् भने काइँला छोरा नजिकै छन् ।

उनले अहिले दिनमा दुईवटा दाम्लो बाट्छिन् । आफूले बाटेको दाम्लो गाउँमा बिक्री गर्छछिन् । ‘कति त घरमै किन्न आउँछन् । आफैँ पनि गाउँमा लगेर बिक्री गर्छु’, कलीले भनिन् । घरबाट आधा घण्टाको बाटो हिँडेर दोमान, डाँडाटोललगायत छिमेकी गाउँमा दाम्लो बेच्न जाने गरेको उनले सुनाइन् । एउटा दाम्लोको २५ र नाम्लो ५० रुपैयाँमा बिक्री गर्छिन् ।

कली वृद्धभत्ता पनि लिन्छिन् । तर, त्यो पैसा भने औषधिमूलोमै खर्च हुने गर्दछ । ‘बाथरोग छ । वृद्धभत्ताको पैसा त औषधिमै खर्च हुन्छ’, कलीले भनिन्, ‘आफूलाई खान मन लागेको कुरा भने दाम्लो बेचेको पैसाले पुगेको छ । यही अगाडि एउटा पसल छ । त्यहाँबाट बिस्कुट चाउचाउ लिएर आउँछु । भोक लागेको बेला घरमा बसेर कुटुकुट खान्छु ।’कलीलाई अझै केही वर्ष बाँच्छु भन्ने आत्मविश्वास छ । ‘केही नबाँचे पनि आठ दश वर्ष त बाँच्छु होला । अझै पाँच सात वर्षसम्म त दाम्लो बनाएरै बेच्न सक्छु जस्तो लाग्छ’, कलीले भनिन्, “ऊ बेला सुकामाना घिउ खाएको तागत छ मसँग । अहिलेका मान्छे जस्तो विषादी हालेको खाने कुरा खाएनौँ । त्यसैले म त अझै धेरै वर्ष बाँच्छु ।’

कली गाउँकै सबैभन्दा बढी उमेर भएकी वृद्धा समेत हुन् । जाहानटोलमा नाम्लो र दाम्लो बाट्ने कली मात्र होइन । ८७ वर्षीया भद्रमाया मगर पनि नाम्लो र दाम्लो बाटेर आफूलाई खान मन लागेको कुरा खाने गर्छिन् । सिमेन्टका बोरा र चामल ल्याएका बोरा जम्मा गरेर बोराको धागो निकाली नाम्लो र दाम्लो बनाउने गरेको उनले सुनाइन् ।‘तल्लो घर बनाउँदा सिमेन्ट ल्याएको थियो । त्यहीबाट यो बोरा जम्मा गरँे’, उनले भनिन्, ‘पहिले त जंगल गएर भोर्लोेको पाट ल्याएर नाम्लो बनाउथेँ ।’

अहिले जंगल जान नसके नि विभिन्न सामान ल्याएको बोराको धागो निकालेर नाम्लो र दाम्लो बनाउने गरेको उनले सुनाइन् । भद्रमायाले नाम्लो र दाम्लो बेचेर घर खर्चमासमेत सहयोग गर्छिन् । ‘कहिले काहीँ दाम्लो बेचेको पैसाले घरमा तरकारी ल्याउँछु’, उनले भनिन्, ‘अस्तिको पैसाले मासु र टमाटर ल्याएँ ।’
छोराछोरीको कमाइको आस गर्नु नपरेको उनले सुनाइन् । भद्रमायाले नाम्लो र दाम्लो बचेर केही पैसा बिरामी अथवा केही समस्या परेमा खर्च गर्नलाई जम्मा गरेर राखेको बताइन् ।

कली र भद्रमाया नाम्लो र दाम्लोसँगै बनाउँछन् । बनाएको नाम्लो र दाम्लो बेच्न दोमान, डाँडाटोल, सरकारी टोलसम्म पुग्छन् । एउटा नाम्लोको ५० रुपैयाँ र दाम्लो २५ रुपैयाँमा बेच्छन् । दुवै जना दाम्लो बेचेको पैसाले आफुृलाई खान मन लागेको सामान ल्याउँछन् । ‘कली मेरो दिदी पर्छ । हामीसँगै नाम्लो र दाम्लो बेच्न जान्छौँ’, भद्रमायाले भनिन्, ‘उता दिदीको घरमा बोरा धेरै छ भने कहिले काहीँ मलाई दाम्लो बनाउनको लागि पनि दिनुहुन्छ ।’

पहिले नाम्लो बनाउनको लागि भोर्लोको पाट लिन कली र भद्रमायासँगै जंगल जान्थे । दुवै जना सँगै बसेर नाम्लो र दाम्लो बाट्ने गर्छन् । ‘कली अहिले राम्रोसँग आँखा देख्नुहुन्न । नाम्लो बनाउ चाहिँ यहीँ आउनुहुन्छ’, भद्रमाया भन्छिन्, ‘मैले नाम्लो बाट्न सहयोग गर्छु । एउटा नाम्लो बाट्न सहयोग गरेबापत कहिले ५ रुपैयाँ, कहिले १० रुपैया दिनुहुन्छ ।” कली र भद्रमायाकोे मिहेनत देखेर स्थानीय तहले उनीहरूलाई सम्मान गरिसकेको छ । वृद्धा अवस्था भए पनि उमेरको कुनै प्रवाह नगरी आफ्नै मिहेनतबाट जीविकोपार्जन गरिरहेको भन्दै कली र भद्रमायालाई कमलामाई नगरपालिकाले, वडा, विभिन्न संजालले सम्मान गरेको कलीको ठूलो कान्छी बुहारीले बताइन् ।

कमलामाई नगरपालिकाले यस आर्थिक ०७८÷७९ मा ‘बा आमाको मुस्कान नगरपालिकाको मुस्कान’ कार्यक्रम ल्याएको छ । उक्त कार्यक्रमअन्तर्गत नगर भित्रका सबै जेष्ठ नागरिकलाई पुरै दाँत निशुल्क हाल्ने व्यवस्था मिलाइने नगरपालिकाले जनाएको छ । नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा १०० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई सम्मान र स्वास्थ्यलाई ध्यान दिँदै दैनिक एक लिटर दुध उपलब्ध गराइने उल्लेख छ । हाल नगरले १०० वर्ष उमेर कटेका ज्येष्ठ नागरिकको विवरण संकलन गरिरहेको छ । हालसम्म संकलित विवरणअनुसार नगरभित्र १०० सय वर्ष उमेर कटेका जम्मा २१ जना ज्येष्ठ नागरिक छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।