चौबिस जनामा ओमिक्रोन सङ्क्रमण पुष्टि

काठमाडौँ, २३ पुस । कोरोना भाइरसको नयाँ भेरियेन्ट ओमिक्रोन २४ जनामा पुष्टि भएको छ । दुईसय ५० जनामा परीक्षण गर्दा उनीहरुमा उक्त भेरियेन्ट सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही पुस महिनामा एक हजार १४६ जनामा गरिएको परीक्षणमा २५० जनामा एस–जिन नेगेटिभ भेटिएको हो । ती नेगेटिभ देखिएकाका २४ नमूनाको जिन स्क्रिनिङ गर्दा सबैमा सङ्क्रमण पुष्टि भएको हो । ओमिक्रोन भेरिएन्टको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सबै अस्पताललाई तयारी अवस्थामा राख्न मन्त्रालयले निर्देशन समेत दिएको छ ।

“ओमिक्रोनले गर्दा हुनसक्ने अत्यधिक बिरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यकपर्ने अक्सिजनलगायत अन्य सामग्रीको यथेष्ठ जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ”, मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल मिश्राद्वारा आज यहाँ जारी विज्ञप्ति भनिएको छ, “सीमानाकामा कोभिड–१९ को परीक्षणलाई थप सशक्त बनाउने तथा पोजेटिभ आएका केशलाई आइशोलेसनमा राख्ने व्यवस्था गरिएको छ ।” मन्त्रालयले एस–जिन स्क्रिनिङ गर्न वीर, निजामती कर्मचारी, वीरेन्द्र सैनिक, त्रिवि शिक्षण र भेरी अस्पताल र प्रदेश नं २ प्रदेश जनस्वास्थ्य प्रयोगशालामा व्यवस्था गरिएको जनाएको छ । ओमिक्रोनका कारण अत्यधिक मात्रामा कोभिड–१९ को सङ्क्रमण बढ्ने सम्भावना रहेको जनाउँदै मन्त्रालयले सबैलाई थप सजगता अपनाउन आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस …काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक आज मुलुकका सबै जिल्ला कमिटीका अधिवेशन गर्दैछ। महाधिवेशनपूर्व तोकिएको एकैदिनमा पालिकास्तरको अधिवेशन तथा प्रतिनिधि छनोट कार्य गरेको एमाले अब जिल्ला र प्रदेश अधिवेशनका लागि जुटेको छ।पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट आज पार्टीका ७७ वटै भूगोल र विशेष क्षेत्रका जिल्ला अधिवेशनको उद्घाटन थापाथालीस्थित केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअलरुपमा गर्ने तय भएको एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

गत मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको मङ्सिर २५ र २६ गते भक्तपुरमा सम्पन्न दोस्रो पूर्ण बैठकले आज पुस २३ गतेका लागि जिल्ला र आउँदो माघ ८ गतेका लागि पार्टीको प्रदेश अधिवेशन गर्ने निर्धारण गरेको थियो।महाधिवेशनमा ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादका आधार निर्माण गरौँ’ भन्ने मूल नारा तय गरेको एमालेले जिल्ला अधिवेशनको तयारीका लागि सम्बन्धित कमिटीलाई परिचालन गरेको छ। ती जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका नेता तथा तोकिएका जिल्ला इञ्चार्ज गृहजिल्लामा पुगेका छन्।

जिल्ला अधिवेशनमा सदस्यताको आधार
एमालेले जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौँ राष्ट्रिय महाधिवेशनका लागि निर्धारण गरिएको पार्टी सदस्यतालाई नै आधार बनाउनेछ। अधिवेशनका लागि प्रतिनिधि चयनको अनुपात र मापदण्ड पार्टी विधानको व्यवस्थाअनुसार सम्बन्धित कमिटीले तय गर्नेछ। जिल्ला अध्यक्ष माथिल्लो कमिटीमा निर्वाचित भएको स्थितिमा निजकै अध्यक्षतामा जिल्ला अधिवेशन आयोजना गर्न सकिने भएको छ।मौसमी प्रतिकूलताका कारणले पुस २३ मा जिल्ला अधिवेशन आयोजना गर्न नसकिने हिमाली जिल्लाका हकमा केन्द्रीय कार्यालयसँगको परामर्शमा अर्को मिति तोक्न सकिने एमालेले जनाएको छ।

जिल्ला अधिवेशनका लागि अतिथि व्यवस्थापनको सहजीकरण प्रदेश सङ्गठन कमिटीले र प्रदेश अधिवेशनका लागि अतिथि व्यवस्थापनको सहजीकरण केन्द्रीय कार्यालयले गर्नेछ। अधिवेशनमा प्रतिनिधिलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने र सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गर्न एमालेले सर्कुलर गरेको छ। निर्वाचनको विधि र प्रक्रियाका हकमा पार्टीको केन्द्रीय निर्वाचन आयोगको निर्देशनअनुसार गर्न पनि भनिएको छ।

जनसङ्गठनको सुदृढीकरण अभियान
एमालेले जनसङ्गठनको सुदृढीकरणका लागि दशौँ राष्ट्रिय महाधिवेशनको राजनीतिक कार्यदिशाअनुरुप जनसङ्गठनलाई नीतिगतरुपमा परिचालित गर्नेगरी आवश्यक योजना बनाउन थालेको छ।जनसङ्गठनको कार्यक्षेत्रसँग सम्बद्ध अन्य सङ्गठनमा आबद्ध व्यक्तिको प्रवेशको सम्भावना आकलन गरी सम्बन्धित सङ्गठनमा प्रवेशको योजना अघि बढाउने र सबै जनसङ्गठनले आआफ्नो कामको आवश्यकताका आधारमा कमिटीको आकारलाई चुस्तदुरुस्त बनाउने गरी विधानमा आवश्यक संशोधन गर्न एमालेले निर्देशन दिइसकेको छ।एमालेको जनसङ्गठन संयन्त्रले ती सङ्गठनका काम गरेका नेता कार्यकर्ताको व्यवस्थापन र सङ्गठन परिचालनबारे नयाँ मापदण्ड पनि तयार गरिरहेको छ।लामो समयदेखि सम्बन्धित जनसङ्गठनको वैधानिक व्यवस्थाअनुरुप हुन बाँकी (आधारभूत तहदेखि राष्ट्रिय तहसम्मको) अधिवेशन-सम्मेलन-महाधिवेशन आगामी फागुन मसान्तसम्ममा आयोजना गर्नेगरी कार्ययोजना तयार गर्न पनि एमालेले निर्देशन दिएको छ । एमालेमा हाल २२ जनसङ्गठन छन्।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖