लाहुर,प्रवास र पत्रकारिता

मोहन राई’परदेशी’,धनकुटा । करिब १८ बर्षको उमेर हुंदा घरछोडि अरुको देशमा चौकीदार गर्न हिंडेको म,सायदै गाउँघरको रीतिथिती सँग परिचित हुन्छु । क्याम्पस पढ्दा पढ्दै भारतको दार्जिलिंगमा भारतीय सेनामा भर्ती भएर धन कमाउने सोंचका साथ परदेसिएको म जिवनको करिब २४ बर्ष परदेशमै बिताएको रहेछु ।

हुनत सोंचेभन्दा फरक हो जिवन,सोंचेजस्तो जस्तो हुन्न । दार्जिलिंग गएर घुमको ६४ लाइन भन्ने ठाउँमा बसियो भर्ती हुने र भबिष्यको सुन्दर कल्पनाको साथ । भनेजस्तै करिब २ महिनाको बसाई पछि भर्ती पनि खुल्यो र लाहुरे भइयो । दार्जिलिंगको १ महिना पछि तालिमको लागि लखनाउ पठाइयो हामीलाई,त्यसपछिका दिनहरु एकदमै कठिन र संघर्षमय तरिकाले बित्यो ।

यहाँ सबै तालिमका कुराहरु बर्णन गरेर साध्य पनि छैन र सुरक्षाका कारण मिल्दैन पनि तर त्यो क्षण सम्झिंदा लाग्छ अरुले गर्न नसकेको धेरै काम गरिएछ कि जस्तो पनि । करिब ९ महिनाको कठोर तालिम र ३ महिना अन्यमा गरि १ बर्षको सैनिक तालिम पनि सकिएपछि सुरुमै म जम्मु काश्मीर मा जानु पर्ने अवस्था आयो । सुन्दै आएको काश्मीर कति डरलाग्दो र भयावह तरपनि जानै पर्ने बाध्यता । केही समयपछि हामीलाई काश्मीरमा लगियो,त्यहाँ पुगेर करिब २ हप्ताको पुन तालिमपछि हामीलाई कम्पनीमा पठाइयो ,त्यहाँपुगेर पनि केही तालिम लिनु पर्ने,लिइयो ।

सम्झिंदा जिउ नै सिरिंग हुने त्यो हिउँको पहाड अनि त्यहाँको उ’ग्रवादीहरुको गतिविधि संग पनि सतर्क रहनु पर्ने,कठोर थियो त्यो क्षण सायद सुन्नेलाई एकादेशको कथा हुन्छ । म भने ५/११ गोरखा राइफल्सको सी कम्पनी अन्तर्गत नम्बर ९ प्लाटुनमा परेको थिए । जिवनको पहिलो पल्ट हिंउँ संग लुकामारी खेल्न पाएको त्यो क्षण तर डरलाग्दो,भयावह ।

त्यो ठाउंमा न त कोही साधारण ब्यक्तिलाई जान अनुमति छ न त चाहेर नै जान सकिन्छ । राती सुत्दा पनि कोठा(बंकर) मा बेल्चा(हिउं,माटोलाई पन्छाउन मिल्ने हतियार) लिएर सिरानीमै ब’न्दुक र गो’ली लिएर सुत्नु पर्थ्यो । बिहान उठ्दा बाहिर निस्किने ढोका पुरै हिउंले पुरिएको हुन्थ्यो र त्यो बेल्चाले हिउंलाई पन्छाउंदै बाहिर आउनु पर्थ्यो । जिन्दगीका हरेक सेकेण्ड र मिनेट शत्रुको निशानामा कति बेला परिने हो डर,त्रास मै बित्थ्यो ।

एउटा अहिले सम्म सम्झिंदा पनि हाँस उठ्ने रोचक कुरा के हो भने हामी केही सिनियर र समकालिन साथीहरुका साथ दिन/रातको ए’म्बुस(श’त्रुलाई ध’रापमा पार्ने सन्जाल) मा पाकिस्तान संग एकदमै नजिकको जँगलमा रहेका थियौं,म आफ्नो ड्युटी सकेर सुतेको मात्रै के थिंए,अर्को एकजना सुतेको साथीले बाघ आयो भन्दै करायो हामी सबै उठ्यौं तर वास्तविकता नभइ सपनामा कराएको रहेछ । एकछिन त झनक्कैरिस उठ्यो र हाँसो पनि ।

त्यस्तै त्यहीं ठाउँबाट एकजना सिनियर दाई संग च्याउ खोज्न जंगलमा गएका थियौं । म वहाँ भन्दा जुनियरको नाताले बन्दुक-गो’ली बोकेको र वहाँले प्लाष्टिकको झोला बोक्नु भा’थ्यो । अचानक च्याउ खोज्दै गर्दा फायर(गो’ली चलाएको आवाज) आयो । हामी यसरी कुदयौं कि तालिममा सिकेको आड लाउने सबै कुरा बिर्स्यौं ,त्यो दाई त झन खाली हात यसरी कुद्नु भयो कि मैले नै थाहा पाइन ।

सैनिक जिवन सुख भन्दा नि धेरै दु:खमा बिताइयो,हुन त देख्नेलाई राम्रो होला सैनिक जिन्दगी तर भोग्नेलाई हजारौं गुणा कठिन छ । भन्दा र सुन्दा अपत्यारिलो तर बास्तविकता बुझ्न सैनिक नै हुनुपर्छ,सायद त्यो भाग्य सबैलाई जुर्दैन । काश्मीरकै हाम्रो प्लाटुन रहेको एक ठाँउ जहाँ एकदिन झण्डै मलाई पाकिस्तानको गोली पनि लागेको थियो तर भाग्यवस लागेन त्यो पनि मेरो लागि ठुलो जिन्दगीको भाग्यले साथ दिएको भन्छु ।

त्यहीँ ठाउँबाट बेस क्याम्प विविध कामले गाडीमा ओहोरदोहोर गरिराख्नु पर्ने,सम्झिंदा अझै छाती ढुकढुक हुन्छ । त्यही बाटोमा संगैका साथीहरु चढेको गाडीलाई आइडी(इम्प्रोभाइज एकेस्प्लोसिभ डिभाइस) ले उडाएको र साथीहरुको लाश टुक्रा टुक्रा अवस्थामा चिन्नै नसकिने गरि भेटिएको । झन एकजना सिनियर दाई त पेन्सन निस्किनलाई मात्रै १४/१५ दिन मात्रै बाँकी थियो, मनमा के सपनाहरु बु्न्नु भाको थियो त्यो त थाहा छैन तर अन्तिम समयमा आएर त्यो गाडी झेलम नदिमा पुगे संगै सबै विलिन भए । सबै वर्णन गरेर साध्य पनि छैन यहाँ ।

करिब २/३ बर्षको बसाइ पछि सकियो त्यहाँको बसाई । त्यहाँको बसाई संगै सेनाको वर्दी लगाएर भारतको धेरै ठाउं घुम्ने बस्ने अवसर मिल्यो । त्यहीँ क्रममा करिब ३ बर्ष ११ गोर्खा राइफल्सको तालिम केन्द्र लखनाउमा पनि बस्ने अवसर मिल्यो, म त्यहाँ आइपीएफपी(Infantry Pioneer Field Engeenner) प्रशिक्षकको रुपमा खटिएको थिंए । आफ्नो कर्तब्यको साथमा आइटी क्षेत्रकै मेरो पहिलो कदम पनि राख्ने सौभाग्य पाएं । लखनाउमै रहंदा मेरो ब्यक्तिगत खर्चमै सुरुमा इमेल सम्बन्धी ज्ञान लिंए,त्यसपछि झन रुचि बढ्दै गयो अन्तत: लखनाउकै इन्स्टिच्युटमा एचटिएमएल(Highper text markup language) , डिएचएमटिएल,फोटोशप र त्यो पुरा गरेपछि Basic web designing र Diploma in Web designing पनि त्यहीबाट पुरा गरे । त्यही कोर्सहरुले गर्दा सायद आइटी क्षेत्रमा केही गर्ने हौसला मिल्यो र पछि पल्टन पुगेर पनि निरन्तर यही क्षेत्रमा काम गर्दै सेनाकै एक प्रतिष्ठित कोर्स गर्ने अवसर पनि मिल्यो । सायद सेनामा रहंदा गरेका यी तालिमहरु नै मेरो जिन्दगीको टर्निंग प्वाइन्ट मान्छु म ।

सुचना प्रविधिको यो रुचि संगै पत्रकारिता,साहित्यमा पनि उतिकै रुचि थियो तर विविध कारणवस साहित्य क्षेत्रको जिवनलाई निरन्तरता दिन सकिरहेको छैन । साहित्यमा लागिरहन निरन्तर हौसला दिइरहनु हुने धेरै मित्रहरु मध्ये हाल कान्तिपुर दैनिक पत्रिकामा कार्यरत मित्र गणेश राई वाम्बुले जि को प्रेरणामा एक गीति संग्रह(पुस्तक कृति) निकाल्न सफल भए,त्यसपछि भने साहित्यलाई निरन्तरता दिन नसकेकै भन्छु म ।

पत्रकारिताकै कुरा गर्दा सेनामै रहंदा भारतको नयाँ दिल्ली स्थित Institute of Journalisam बाट ६ महिने पत्रकारिता तालिम लिने सौभाग्य पनि मिल्यो । भारतमै रहंदा विभिन्न अनलाइनहरु संग सम्बद्द रहे साथै भारतबाटै नेपाली(खस) भाषामा प्रकाशित राष्ट्रिय दैनिक पत्रिका सुनचरी,हिमालय दर्पणमा पनि काम गर्ने अवसर मिल्यो सम्वाददाताको रुपमा तर सेनाको आफ्नै परिबन्ध छ ,त्यही परिबन्धले केही अवरोध आयो । त्यस्तै सेनामै रहंदा आफ्नै खर्चमा ‘प्रवासी सुस्केरा’ नामक हवाई पत्रिकाको केही अंक र गोकुल चेम्जोंग,राज लिम्बु संगको सहकार्यमा सोही पत्रिकालाई साहित्य तथा विविध अंकको रुपमा पुस्ताकार साइजमा एक अंक निकाल्यौ । सेनामारहंदा पत्रिका निकाल्नु त्यतिबेला अहिले जस्तो सहज वातावरण पक्कै थिएन । त्यही सानो पत्रिकाको लागि पटक पटक ठुला अधिकारीहरुको अफिसमा गएर सिधा उभिएर त्यसको ब्याख्या गरेको तीतो नमिठो अनुभूति अझै ताजै छ । मैले सेनाबाट अवकास लिएको पनि करिब १०/११ बर्ष बितिसकेछ सायद अहिले समय संगै धेरै परिवर्तनहरु आइसके होलान् ।

सेनाबाट अवकासमा आएपछि करिब ३ बर्ष घरमै बसें,त्यो समयमा पनि केही नगरि बस्न मनले मानेन र धनकुटाको हिलेबाट सन्चालित रेडियो लालीगुराँसमा पनि केही समय सम्वाददाताको रुपमा काम गरे साथमा स्थानिय समाचार पत्रिकाहरुमा पनि समाचार दिएं ।

आखिर मान्छे न हो पैसाले तान्दै फेरि फेब्रुवरी २०१४ मा युएईको अबुधाबी स्थित एक सेक्यिुरिटी कम्पनीमा फेरि चौकिदारको रुपमा बिदेशिए । त्यहाँ पनि लगभग ६ बर्षको समय बिताएछु ।हुनत दु:खी कर्म लिएर आएपछि संधै दु:खै गर्नु पर्छ भन्ने सुनेको थिए सायद मेरो जिवनमा पनि त्यहीकुरा सार्थक बनिदियो । न त कुनै रमाइलो न त परिवारको माया आफुले दिन सकियो न त उनीहरुबाट पाउन । अब त लगभग जिन्दगीले ५० बर्षको संघर्षपूर्ण र कठिन क्षणहरु पार गरिसकेछ । दु:ख,सुख आफ्नै ठाउँमा होला र छंदैछ पनि ।

अँ साँच्चि पत्रकारिकाकै कुरागर्दा युएई मै रहंदै पनि इन्टरनेटको माध्यमबाट काम गर्नु सजिलो पनि हुने भएकोले विभिन्न अनलाइन न्यूज साइटहरुमा फुर्सदको समयमा काम गर्दै रहें ।

बेलायती सेनामा आवद्द(हाल सेवा निवृत) बिश्वासदीप तिगेलाको सम्पादकत्व र प्रकाशनमा हाल पनि सन्चालनमा रहेको www.nepalisamachar.com अनलाइन समाचार पोर्टलमा पनि सन् २००९ बाट जोडिने अवसर पाएं र हालसम्म समयले साथ दिए सम्म त्यसमा कार्यकारी सम्पादकको रुपमा कामलाई निरन्तरता दिइरहेकै छु र दिनेछु ।

त्यसैगरि प्रवासमा रहंदै धनकुटा पाख्रीबास निवासी एकदमै जागरुक युवा,प्रतिभाशाली ब्यक्तित्व जो हाल वहॉं पनि साउदी अरबमा आफ्नो श्रम बेच्दै हुनुहुन्छ , वहॉंसंग पनि अनौपचारिक रुपमा चिनजान भयो र एउटा अनलाइन समाचार पोर्टल चलाउने विषयमा सल्लाह भयो र दर्ता गरियो सबैतिर । त्यो पोर्टल हो www.dhankutakhabar.com जुन कम्पनी देखि सुचना विभाग सबैतिर दर्ता पछि सन्चालनमा ल्याएका हौं र निरन्तर चलिरहेको छ । हाललाई भने यस संगै अनलाइन रेडियो www.radio.dhankutakhabar.com पनि सन्चालनमा रहेको अवगत गराउन चाहन्छु ।

जिन्दगी जिउन धेरै सिक्नु पर्ने रहेछ जिन्दगीको यो करिब धेरै बसन्त पार गरिसक्दा नि सिकाइ क्रम जारी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।