नारी को परिचय (कविता)
–ध्रुव एलेक्स
म बगर जस्तो सुकेर
एकदिन तिम्रो आगँनमा पुगेको थिए
तिमीले एक लोहोठा पानी दिएर
आफु समुन्द्र भएको परिचय दियौ ।
गतसालको अन्धकार औशीमा
हाम्रो राँको निभेपछि पनि
तिमीले कतै ठेस लाग्न नदिई हिडाएर
आफु उज्यालो जुन भएको प्रमाणीत गरिसक्यौ ।
जुन दिन तिमी एक्लै भएको चाल पाएर
म आएको थिए
तिमीले स – परिवार ले गर्ने भन्दा मीठो स्वागत गरेर
मेरो मनमस्तिष्कलाई बदलिदियौ ।

आफु सबै रित्तिएर भएपनि
अरुलाई भरिपुर्ण बनाईदिन तयार हुने
से – फोक्सुन्डो भन्दा गहिरो हृदय भएकी तिमी
कन्चनजङ्गा भन्दा सङ्लो मन भएकी जल हौँ ।
बज्र भएर काहीं बज्रिनु भने तिमीले
विस्फोट बनेर काहीं वि’स्फोटन हुनु भने तिमीले
उस्को टाउको दुलो पार्न सक्छौ
उस्को छातीमा छर्रा बनेर गाडिन सक्छौ
तर तिमी कसैलाई नदुखाउने मान्छे
जति दुख्नु छ बरु आफैँ दुख्छौ
त्यसैले त तिमी नारी , छहारी , संसारी ।
ए छोरो मान्छे
तिमी जम्माजम्मी कब्जियत हुँदा चिच्याउने मान्छे
फेरि किन आफुलाई शक्तिशाली सतीसाल मान्छौँ
हेर त
उनी त सुत्केरी ब्यथा सहेर पनि
शक्तिको केन्द्र तिमीलाई मानिदिएकी छिन
तिमी धन्न छौ छोरी मान्छे
तिमी धन्न छौ ।
–पाख्रीबास -४ , धनकुटा

