अलैँची विकास केन्द्रमै अकबरे खुर्सानीको बीउ उत्पादन

टीका खतिवडा/मङ्गलबारे, १७ भदौ । अलैँची विकास केन्द्र इलामले खुर्सानीका बिरुवा उत्पादन सुरु गरेको छ । नेपालको एकमात्र अलैँची विकास केन्द्रले अकबरे जातको खुर्सानीको बीउ उत्पादन थालेको हो ।

इलाममा व्यावसायिक खेती हुने अकबरे खुर्सानीको बिरुवा माग बढेपछि बिरुवा उत्पादन सुरु गरिएको कार्यालयका सूचना अधिकारी दिलबहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हाल डेढ रोपनी जमिनमा बिरुवा उत्पादन गरिँदै आएको छ । नेपालको इलामसहित पूर्वी भागमा व्यावसायिक खेती हुँदै आएको अकबरे खुर्सानी बिरुवाको माग अत्यधिक छ ।

माग बढेपछि केन्द्रले अलैँचीसहित खुर्सानीको पनि बीउ उत्पादन सुरु गरेको श्रेष्ठ बताउनुहुन्छ । केही समयअघि पूर्वी नेपालमा बढी उत्पादन हुने अकबरे हाल पश्चिमका जिल्लामा समेत उत्पादन हुन थालेको छ । किसानले गर्ने गरे पनि पहिलोपटक सरकारी निकायले पनि बीउ उत्पादन थालेको हो । व्यावसायिक खेतीका लागि अकबरे खुर्सानीको बिरुवा र बीउको माग धेरै भएकाले अलैँची विकास केन्द्रले उत्पादन गर्न थालेको जनाइएको छ ।

सूर्याेदय नगरपालिकामा स्थापना भएको अलैँची विकास केन्द्रले यसअघि अलैँचीका बिरुवामात्रै उत्पादन गर्दै आएको थियो । अलैँचीका बिरुवाको खरिद गर्ने स्थानीय तह र किसानले खुर्सानीको बीउसँगै बिरुवाको समेत माग गर्न थालेपछि केन्द्रको फार्ममा अहिले बीउ उत्पादन गर्न अकबरे खुर्सानी रोपण हुँदै आएको छ ।

यस वर्ष केन्द्रमा धनकुटाबाट दिउल ल्याएर उत्पादन सुरु गरिएको श्रेष्ठले बताउनुभयो । धनकुटाको खुर्सानी बढी पिरो हुने र ठाउँ परिवर्तन गरेर रोप्दा बढी फल्ने भएकाले पनि यसको उत्पादन गर्न लागिएको हो । हाल जिल्लाका स्थानीय तहसहित दोलखा, पाल्पा, रसुवा, रामेछापलगायत जिल्लाबाट खुर्सानीका बीउ र बिरुवाको माग आएको छ । पूर्वी नेपालमा व्यावसायिक खेती हुँदै आएको अकबरेको बिरुवा र बीउ मागअनुसार पूरा नभएकाले उत्पादन गर्न थालेको केन्द्रले जनाएको छ ।

खुर्सानी खानाका परिकारमा स्वादका लागि लिइने गरिन्छ । नेपालमा उत्पादन हुने चाउचाउमा समेत यसको माग बढेको छ । बाहिरी जिल्लामा मात्र होइन, नेपाल बाहिरसमेत यसको माग उत्तिकै छ । अन्तर्राष्ट्रिय बजारमा माग रहेकाले अकबरेको पूर्वी नेपालमा व्यावसायिकरुपमा खेती हँुदै आएको छ । पाकेको अकबरे नेपाली बजारमा प्रतिकिलो रु दुई सयदेखि रु तीन सयमा बिक्री हुँदै आएको छ । खुर्सानी नेपालमा भ्रमणमा आउने पर्यटक तथा नेपालबाट विदेश जानेले आफन्तका लागि लैजाने गरेका छन् । भारतको सिलीगुढी, दार्जिलिङ र पश्चिम बङ्गालका अन्य बजारमा यहाँको अकबरे बढी मात्रामा निर्यात हुन्छ ।

केन्द्रले बिरुवाभन्दा पनि बीउ अर्थात् दिउल नै उत्पादन गर्न थालेको सूचना अधिकारी श्रेष्ठ बताउनुहुन्छ । निजी क्षेत्रबाट अकबरेको बीउ दिउल प्रतिकिलो रु ३० हजारमा बिक्री भएको उहाँले बताउनुभयो । केन्द्रले प्रतिकिलो करिब रु २० हजारमा सुक्खा खुर्सानीको दिउल खरिद बिक्री गर्न सक्ने जनाएको छ । सिजनमा खुर्सानी हरियो वा पाकेको भए पनि रातो नै बढी स्वादिष्ट हुने गरेको छ । बिना सिजनमा बफ्याएर समेत राख्न सकिन्छ । खुर्सानीलाई नुनमा समेत राख्न सकिन्छ । नुनमा राखेको खुर्सानी करिब दुई वर्षसम्म ताजाजस्तै हुने गरेको छ । बढीजसो चिसोमा खुर्सानी बढी खाने गरिन्छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।