आप्रबासी स्रोत केन्द्र भोजपुरद्धारा बेमौसमी स्कुसको तालिम आयोजना
धनकुटा खबर संवाददाता, भोजपुर । भोजपुर नगरपालिका भोजपुरको आप्रबासी स्रोत केन्द्रले बिदेशबाट फर्केर आएका नागरिकहरुका लागि बेमौसमी स्कुस खेतीको लागि तालिम आयोजना गरि यसको बीउ समेत बितरण गरेको छ ।
तालिम भोजपुर आप्रबासी स्रोतकेन्द्र भोजपुरको आयोजनामा तथा प्रदेश नम्बर १ मा बेमौसमी स्कुस खेती अभियान चलाई रहेका कृषि पर्यटन अभियन्ता तथा लेखक जीवनप्रसाद राईको प्रशिक्षणमा संचालन भएको थियो ।

तालिम समापनको अवसरमा भोजपुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र राईले बेमौसमी स्कुसको बीउ बितरण गर्दै यस कार्यक्रमले थोरै भएपनि भोजपुर नगरपालिकामा उत्पादनको कार्य हुनुका साथै नयाँपन झल्कने कार्यको शुरुवात भएको बताउनु भयो ।
नगर प्रमुख कैलास कुमार आलेले भोजपुरमा यस बेमौसमी स्कुस कार्यक्रम प्रभावकारी रुपमा संचालन हुदै गएमा बृहत परियोजना संचालन गर्ने तथा सबै वडामा एक अभियानको रुपमा संचालन गर्ने तयारी रहेको बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कृषि उधमी शम्भु नेपालले भन्नुभयो । बजारको लागि सम्झौता गर्न सकिएको खण्डमा हाम्रो समुहले यसै बर्ष ६ सय रोपनीमा बेमौसमी स्कुसको कार्यक्रम शुरु गर्ने उदघोष समेत गर्नुभयो । यसको लागि बजारका लागि सहजीकरण गरिदिने संस्था वा ब्यक्ति आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रमका संयोजक समेत रहनु भएका आप्रबासी स्रोत केन्द्र भोजपुरका प्रमुख खगेन्द्र खड्काले बेमौसमी स्कुस लगाउन चाहने कृषकहरुलाई बीउ किनेर मात्रै पाईने तथा यसलाई दिगो ब्यवसायको रुपमा हुर्काउन चाहनेहरुलाई मात्रै कार्यक्रममा बोलाईएको बताउनु भयो ।
बेमौसमी स्कुस कार्यक्रम सफल हुदाँ कृषक तथा बेमौसमी उधमीहरु धेरै सफल हुनेछन । अफसल हुदाँ पनि उनीहरु चुर्लुम्मै हुने गरि डुब्ने छैनन । यसैले पनि यो परियोजनामा आफु धेरै उत्साहित रहेको बताउनु भयो । धेरै कृषकहरुले यसको माग गरेमा आफुले थप नयाँ कार्यव्रmम समेत बनाउने जानकारी समेत दिनुभयो ।

यस कार्यक्रममा बेमौसमी स्कुस खेती गर्न चाहने भोजपुर नगरपालिका भित्रका करिब ५० जना महिला तथा पुरुष ब्यवसायीहरुको सहभाभिता रहेको थियो । यसैगरि भोजपुरका प्रख्यात कृषि उधमीहरु शम्भु नेपाल तथा श्री कमल भुजेलको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा पाख्रीबास नगरपालिका वडा नम्बर २ सान्नेका बेमौसमी कृषि उधमी पदम खपाङगी मगरले आफुले ३ रोपनीमा खेती शुरु गरेको बताउनु भयो ।
यस कार्यक्रमलाई फोनको माध्यमबाट संघिय माननीय सुदन किराँती, प्रदेश माननीय एवं पुर्व मुख्यमन्त्री शेरधन राई, भोजपुर कांग्रेसका सभापति बिनोद वान्तवा लगायतले सफलताको लागि शुभकामना दिएका थिए ।
पत्रकार महासंघ भोजपुर जिल्ला शाखाका अध्यक्ष एक्सन राईले समेत शुभकामना दिनुभएको थियो । कार्यक्रम भोजपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र राईको अध्यक्षतामा र संचालन भोजपुर आप्रबासी स्रोत केन्द्र प्रमुख खगेन्द्र खड्का द्धारा भएको थियो ।



