मिडिया : दृश्य र अदृश्य कुराहरु

नरेन्द्रजङ्ग पिटर/काठमाडौँ, १० फागुन (रासस)ः (यस लेखका लागि बर्दिया पाताभार–न्यौलापुरकी किशोरी सुस्मा सोनाहाप्रति आभारी हुनुपर्छ । मैले भेट्दा उनी ११ कक्षामा पढथिन् । पढेर के बन्ने इच्छा छ ? भनेर सोध्दा उनले भनिन्–पत्रकार ।
–किन ?

– हामी सोनाहाको कथाव्यथा र अवस्था लेखिदिने कोही भएन । छुवाछूतले गाँजेको समाजमा हामीलाई सुनार बुझियो । आत्मसम्मान पाउन हाम्रा धेरै आफन्त ख्रिस्तान पनि बने । हामी बनेका छैनौँ । सोनाहा बालुवा चालेर सुन निकाल्ने नदी र वनलाई आफ्नो संरक्षक मान्ने जनजाति हो भन्ने चिनाउन पनि पत्रकार बन्न खोजेकी ।

अभिजातहरुको कब्जामा रहेको मिडियाले भुइँमान्छेका कथाव्यथा समाचार बनाउँदैन । सोनाहाहरुले मूलधारका मिडियामा ठाउँ पाउँदैनन् । सन्ध्याहरु विज्ञापन दिन सक्दैनन्, विज्ञापित सामान किन्न सक्दैनन् । भुइँमान्छेलाई न मिडियाले वास्ता गर्छ, न उनीहरुले खबरीलाल मिडियालाई । आखिर शक्तिशाली मिडियाका समाचारमा राज कसले गर्छ ? अहिलेको युगमा समाचार र विचारभित्रको खेल के र कस्तो हुन्छ ? किशोरी सुस्माले यही नाङ्गा कुरा थाहा पाइन् भने पत्रकार बन्ने चाहना अझै राख्थिन् ! वा राख्दैनथिन् ! यस लेखमा भने नेपाली राजनीति र मिडियाबारे उदाहरण नदिई मिडियाका कुरा र अन्यत्रका प्रतिनिधि घटनाबाट विषयमा केन्द्रित गरिएको छ ।)

राम्रो काम पनि औचित्य प्रमाणित गर्न जनमत तयार गर्नुपर्छ । मिडिया त्यसको धारिलो हतियार हो । स्वामित्वको लालपुर्जा अरूसँग भए पनि हतियारको मालिक भने चलाउने हुन्छ । भावना र आवेगले मिडियामार्फत मात्र सत्यको खोजी गर्न सकिँदैन । हितअनुसार सत्य बन्छन्, बनाइन्छन्, सिर्जित हुन्छन् । जनमानस तयार मिडियाबाट गराइन्छ । मिडियाशास्त्री मार्शल म्याकलुहन भन्छन्, “मान्छेको फैलावट हरदम भइरहन्छन् । मिडियाले मान्छेलाई नित्य नयाँ बनाइरहेको हुन्छ ।” भूमिकामा उत्रिरहेको हुन्छ । विश्वास टुट्दै नयाँ विश्वास पैदा भइरहेको हुन्छ । प्रविधि र पहुँचसँगै मिडियाका रूप, चरित्र र भूमिका पनि फेरिँदै जान्छन् । मिडियाले सिर्जना मात्रै हैन ध्वस्त पनि गराइरहेको हुन्छ ।

मानिस जिज्ञासु प्राणी भएकाले नित्य नयाँ बन्न र जीवन सङ्घर्षका लागि हितअनुसारको सूचनाबाट अद्यावधिक हुन चाहिरहन्छ । तर मिडिया बजारमा भइरहने सूचना, कुसूचना, भ्रमित सूचना र प्रायोजित सूचना बीचका भिडन्त नबुझ्दा भने उ, रणभुल्लमा पर्न पनि सक्छ । यसका लागि मिडिया साक्षरता र आलोचनात्मक चेत आवश्यक पर्छ । विज्ञापन शक्तिले सूचना र विचारमा रजाइँ गरिरहेका हुन्छन् । मिडिया त माध्यम मात्र हो ।

मिडिया अणु पनि हो, परमाणु पनि । कर्पाेरेट मिडियामा मात्र भर परे सत्य ग्रहण गर्न सकिँदैन । विश्वासमा नभई सत्य खोज्न तथ्य आधारित तर्कसहितका चेत र समाज आवश्यक हुन्छ । कर्पोरेट शक्ति र राजनीतिको अन्तरघुलनले कलामय खेलमा सहज जनमत भुलभुलैयामा पारेर धारणा बनाउन खुसुक्क मस्तिष्कमा प्रवेश गराइन्छ । भावनामा बगेर आवेग सिर्जना गर्ने काम कर्पोरेटीकरण बन्दै गएको राजनीतिले मिडियामार्फत गर्छ । युद्धमा बारुदसहितको हतियार आवश्यक परे झैँ राजनीति र शक्तिलाई भ¥याङ्ग उक्लन मडिया अनिवार्य हुन्छ ।

मनोयुद्धको रणमैदान

पूर्वाग्रह मानव स्वभाव हो, आफ्नै खाले सौन्दर्य र कथ्य रच्न चाहन्छ । तर तथ्य आधारित तर्कले त्यसलाई अनुमति दिँदैन । तब इतिहास र मिडिया व्यवस्थापन गर्न थालिन्छ । हतियारभन्दा विध्वंशक मिडियामार्फत मनोयुद्ध शक्तिले चलाउने गर्छ । तब कर्पाेरेट मिडिया वैशाखी बन्न पुग्छन् । इराक आक्रमणमा परमाणु हतियारको आधार तयार गर्ने न्युयोर्क टायम्सकी जुडिथ मिलरलाई उदाहरणका रुपमा लिन सकिन्छ । समग्र पश्चिमा मिडियाले आत्मानिरीक्षण गर्दा पनि मिलरले आत्मालोचना गरिनन् । पश्चिमा मिडियाको स्रोतव्यक्ति बनेका प्रवासी इराकी अहमद चलावी कालान्तरमा सद्दाम सत्तापछि इराकी शासक बने । महाभ्रष्टाचारी भएर गलहत्याइए ।

पिटर बाओफू भन्छन्, “पूँजी र प्रविधिको घालमेलको नयाँ कथ्य तयार भइरहेका हुन्छन् ।” “अतिवास्तविकता, लाक्षणिकता र उत्तर आधुनिकता वास्तविकताको अनुकरणबाट वास्तविकतालाई अलग गर्नका लागि चेतनाको अक्षमता हुन्छ । यस्तै अर्का विद्वान डिएम बोजे भन्छन्, “विशेष गरेर प्रविधिले उन्नत उत्तरआधुनिक समाजमा अति वास्तविकतालाई एउटा यस्तो अवस्थामा देखिन्छ कि जसमा वास्तविकता के हो र काल्पनिकता के हो ? एकैसाथ घालमेल गरेर हेरिन्छ ताकि एउटा समाप्त होस् । यो भर्चुअल वास्तविकतासँगै भौतिक वास्तविकता, कृतिम बुद्धिमत्ता र मानव बुद्धिलाई घालमेलको अनुमति दिन्छ ।”

हरेक व्यवसायका आफ्ना सिद्धान्त त हुने नै भए । तर, राजनीतिमा सिद्धान्तहीन नै सिद्धान्त बनेजस्तै मिडिया व्यवसाय पनि सनसनीपूर्ण र लोकप्रिय आवरणमा सक्रिय भएर मथिङ्गल खजमज्याउने खेलमा हुन्छ । विज्ञापनको दबाबमा रहेको त देखाउँदैन तर लोक नजरबाट लुकाउन भने सक्दैन । अझ सम्पादकीय कक्षमा व्यवस्थापकीय हस्तक्षेप कति भयो ? देखिने र हुने सम्पादक को ? शक्तिबीच स्वार्थका टकराहट र रक्षा कसरी हुन्छ भन्ने प्रश्न मिडियाचेतसँगै उभिन्छन् ।

राजनीतिक परिवर्तनका लागि सशस्त्र सङ्घर्षको आवश्यकता भएर ‘पावर कम्स व्यारल अफ गन’ (सत्ता बन्दुकको नालबाट जन्मन्छ) भनिन्थ्यो तर मनोयुद्ध छेडिएपछि छम्दयुद्धले रक्तहीन भिडन्त गरिरहेको हुन्छ । शक्तिबीच भयङ्कर द्वन्द्व चलिरहँदा युद्धभूमिमा न योद्धा देखन्छिन्, न बारुदको गन्ध देखिन्छ, न बमगोलाको आवाजै सुनिन्छ, न गन्हाएका लासका थुप्रा नै । हो, त्यो मिडयामार्फत भर्चुअल यथार्थ तयार गरिने युद्धलाई मनोयुद्ध भनिएको हो । व्यक्तित्व निर्माण र ध्वस्त, इतिहासका उपलब्धिमाथि आक्रमण गर्न नयाँ न्यारेटिभको सिर्जना, अंशमा टेकेर समग्रमा आक्रमण गर्न, गम्भीर विषयलाई विषयान्तर गर्ने आवेग, भ्रम, मिथ्या सूचनाको घालमेल गर्दै कृतिम तर्कको सिर्जना गरिन्छन् ।

हरेक वस्तुका मूल्य तिर्नुपर्छ । अझ विचार, आन्दोलन, साधना र सपनाका मूल्य त ज्यादा हुँदोरहेछ । गरिब देशको एउटा प्राज्ञिक अभियन्ता त पेटका कारण सस्तैमा डोरिने नियतिमा सधैँ रहन्छ । त्यसैले ऊ इतिहासको साक्षी बन्दैै पनि भ्रष्ट तर्कको आविष्कारक बनेर वर्गसिफ्ट गरेर मनोयुद्धको भाडाको तर्क सिपाही बन्न पुग्छ ।

शक्तिले सधैँ सबैलाई नियन्त्रण गर्न सक्दैन

शक्तिले जनमानस तयार गर्न हित अनुकूलको औजारमा मिडियालाई लिन्छ । कर्पोरेट मिडियाको ठूलो हिस्सा प्रभावमा पनि पर्छन् । तर सबैलाई प्रलोभन, नियन्त्रण र निर्देशन गर्न भने सक्दैन । शक्ति र बजारबीच वर्चस्व भिडन्त भएर अन्तरविरोध देखा परिरहन्छन् । अझ प्रविधिको विकासले सूचना पोखिने, विचार निर्माण गर्ने, निर्भिक बुद्धिजीवीहरूलाई सामाजिक सञ्जाल, अनलाइन पोर्टल, ब्लगले सेन्सरहीन माध्यम पैदा भयो । राजनीतिक सीमारहित वैश्विक समाजमा भिसारहित सहजता उपलब्ध भयो । भाषा अवरोधक बनेनन् । अनुवाद र सर्च टुल्सले ज्ञान र सूचनामाथिको वर्चस्व तोड्यो ।

सन् १९७२ जुन १७ को मध्यरातमा अमेरिकामा डेमोक्रेटिक नेसनल कमिटी (डिएनसी)को मुख्यालयमा पक्राउ परेका पाँच सामान्य चोर थिएनन् । तिनीहरु रिपब्लिकन पार्टीले रिचर्ड निक्सनलाई प्रतिस्पर्धी डियनसीको चुनावी योजनाका कागजात हात पार्ने खेल थियो । त्यसलाई वाशिङ्टन पोस्टका बब वुडवार्ड र कार्ल बनस्टिनको खोजी पत्रकारिताले उदाङ्ग पारेर शक्तिशाली राष्ट्रपति निक्सनलाई राजीनामा गर्न बाध्य बनायो । सम्पादक वेन ब्राड्लीले चुनौती मोले ।

संसारको राजनीति र कर्पाेरेट घरानामा तहल्का मच्चाउने पानामा पेपर प्रकाशन गर्ने विश्वका ७६ देशका झन्डै एक सय सात मिडिया संस्था सम्बद्ध पत्रकारहरूको सहकार्यमा एक करोड १५ लाखभन्दा बढी कागजात अध्ययन गरेर सेता कपडामा रहेका काला कर्तुत छर्लङ्ग पारे । ट्याक्स हेभेनका व्यवसायमा लगानी गरेको देखाएर बाहिर पु¥याउने र देशको कर छल्ने प्रक्रियामा मोसाका फोन्सेकाजस्ता संस्थाले सघाउने रहेछन् ।

पेगासेस इजरायलको एनएसए कम्पनीको एउटा जासुसी एप्स सफ्टवेयर हो । यदि यो एपलाई कुनै पनि स्मार्टफोनमा ह्याकरले घुसाइदियो भने फोनको माइक्रोफोन, क्यामेरा, अडियो, टेक्स्ट मेसेज, इमेल र लोकेसनसम्म जानकारी हासिल गर्दै उक्त डिभाइसको सबै डाटा अर्को पक्षकोमा पुग्छ । फोन बन्द गरे पनि माइक्रोफोन र क्यामेरा चलिरहन्छन् । विशेषज्ञहरू भन्छन्, “सहज तरिकाले ह्वाट्स एप वा मिस कलमार्फत तीव्र तरिकाले लक्षित फोनमा एप्स इन्स्टल हुन्छ र डिलिट गर्दा पनि हटाउन सकिँदैन ।”

खतरनाक हतियारमा सामेल एप्सले आप्mना विरोधी तह लगाउनु, जासुसी गर्न प्रयोग गरेको कुरा यनएसओका केही प्रमुख ग्राहकमा साउदी अरब, युनाइटेड अरब इमिरेट्स र मेक्सिको थिए । अब नयाँ ग्राहक थपिए । ती देशहरूको प्रजातान्त्रिक सूचकाङ्क पनि यहाँ उल्लेख गरौँ । रुवान्डा (१३०), मोरक्को (९६), साउदी अरेबिया (१५६), बहराइन (१५०), युनाइटेड अरब इमिरेट (१४५), अजरबैजान (१४६), काजिकिस्तान (१४६), हङ्गेरी (५३), पानामा र मेक्सिको (७२) र भारत (५३) स्थानमा छन् । एनएसओले आफ्ना ग्राहक सरकार मात्रै हुन्छन् भन्छ तर भारतले भने किनेको स्वीकार÷अस्वीकार दुवै गरेको छैन ।

अपराधको घैँटो कुनै न कुनै दिन त फुट्छ नै । १८ जुलाई २०२० देखि फ्रान्सको फारविडेन स्टोरिज् र एमनेस्टी इन्टरनेसनलले सुरु गरेको पेगासेस प्रोजेक्टमा ‘वाशिङ्गटन पोस्ट’, ‘द गार्जियन’, ‘ल मोंद’, ‘सुडडोइच जाइटुङ्ग’लगायत भारतीय मिडिया ‘द वायर’सहित विश्वका १५ प्रतिष्ठित मिडियाका एक सय ३० भन्दा धेरै पत्रकार संलग्न भएर सत्ताले पेगासेस उपयोग कहाँ र कस्तो तरिकाले गर्दैछ भन्ने अनुसन्धान गरिरहेका छन् ।

संसारकै चुनावी परिणामलाई हेरफेर गर्ने इजरायली ठेकेदार ताल हनानको खेल १५ फेब्रुअरीमा ब्रिटिस अखबार गार्डियन, इजरायली अखबार हारेत्ज, फेन्च अखबार ला मोन्द, जर्मन मैगजिन डेर स्पिगल अमेरिकी अखबार वाशिङ्नगटन पोस्टसमेत ३० मिडिया संस्थाहरूले ताल हनानको रहस्यले चुनाव शक्ति र प्रजातान्त्रिक अभ्यासको पोल खोलिदिए । ३३ देशको जार्जको नाममा केन्द्रीय चुनावको ठेक्का लिएको ताल हनानले दाबी गरेको छ । २७ चुनावको रिजल्ट उसको क्लाइन्टको पक्षमा पारेको थियो ।

भारतीय ‘फेकन्युज’विरुद्धको लेखका कारण मारिएकी गौरी लङ्केशको प्रेरणाले सक्रिय फारबिडन स्टोरिज नामको संस्थाले उनको काम अगाडि बढाउने निर्णय गरेर फेक न्युजकी फैक्ट्रीलाई नाङ्गेझार पार्दै गएको गैरनाफामुखी संस्था हो । यसले पेगासेसको रहस्य पनि सार्वजनिक गरेको थियो ।

शक्ति र मिडिया

जब शक्तिले मिडिया नियन्त्रण गर्न सक्दैनन् तब मिडियाको स्वामित्व नै किनेर स्वतन्त्र मिडियाको घाँटी दबाउँछन् । तर अपराध कर्म छिपाउन भने सक्दैनन् । वास्तविक मिडियासामु शक्ति बबुरो बन्न पुग्छ । हिन्डनर्वर्गको एउटै ३२ हजार शब्दको लेखले विश्वको दोस्रो धनाढ्य गौतम अडानीलाई २५ वा नम्बरमा पु¥याइदियो । भारतमा भिन्न प्रकारको समाचार र विश्लेषण गर्ने टेलिभिजनलाई व्यवस्थापन गर्न नसकेपछि स्वामित्वकै लिँदा पनि गम्भीर खाले विश्व मिडिया प्रभावित पार्न सकेनन् । पानामा पेपर, फोब्र्स, ब्लुमार्क, हिन्डनवर्ग रिसर्च, वाशिङ्गटन टाइम्स र द गार्जियनलाई विज्ञापनले नियन्त्रण र प्रलोभन पार्नै सकेन ।

नयाँ मिडियाको उदयले संसारभरका मानिसहरू र इन्टरनेटबीचको सञ्चार बढाएको छ । यसले मानिसहरूलाई ब्लगहरू, वेबसाइटहरू, भिडियोहरू, तस्बिरहरू र अन्य प्रयोगकर्ता–उत्पन्न मिडियामार्फत व्यक्त गर्न अनुमति दिएको छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।