भोजपुरमा पराम्परागत खुकुरी बनाउने पेसा सङ्कटमा परेपछि कालिगढ पेसाको संरक्षण गरिँदै

भोजपुर, १२ जेठ (रासस) : पराम्परागत खुकुरी बनाउने पेसा सङ्कटमा परेपछि यसको यहाँ संरक्षण थालिएको छ । नयाँ पुस्ताको रोजाइमा नपर्नु तथा आवश्यक औजार, उपकरण र कच्चापदार्थको अभावका कारण पेसा सङ्कटमा पर्दै गएपछि संरक्षण थालिएको हो । टेम्केमैयुङ गाउँपालिका–६ कोटले यस पेसामा लागेकालाई लक्षित गरेर प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेको छ ।

यहाँका वडाभित्र रहेका कालिगढलाई आवश्यक पर्ने प्राविधिक उपकरण खरिदमा वडाले सहयोग गरेको जनाएको छ । दिनानुदिन पेसा छाड्नेको सङ्ख्या बढ्न थालेपछि उनीहरुलाई आवश्यक सहयोग गर्दै प्रोत्साहनको कार्यक्रमलाई अघि बढाइएको टेम्केमैयुङ–६ का वडाध्यक्ष सूर्यप्रसाद नेपालले जानकारी दिनुभयो । वडाले रु एक लाख बजेट विनियोजन गरेर आवश्यक उपकरण खरिदमा सहयोग गरेको उहाँको भनाइ छ ।

“पछिल्लो समय वडामा भएका कालिगढ पलायन हुँदै गएको अवस्था छ”, वडाध्यक्ष नेपालले भन्नुभयो, “अहिले हामी यो पेसाको संरक्षणमा जुटेका छौँ, उहाँहरुको आवश्यकतालाई पहिचान गर्दै वडाले आवश्यक सहयोग गर्दै आएका छ ।”

भोजपुरे खुकुरीले नाम कमाएको भोजपुरमा कालिगढ पेसा सङ्कटमा पर्दै गएपछि संरक्षणमा लागेको वडाध्यक्ष नेपालको भनाइ छ । स्थानीय सरकारले यसको स्थायित्व तथा संरक्षणमा जोड दिएको उहाँको भनाइ छ । “विगतमा हाम्रो ठाउँमा कालिगढ धेरै सङ्ख्यामा थिए”, उहाँले भन्नुभयो, “अहिले व्यावसायिक रुपमा यो काम गर्ने छ÷सात घरमात्र छन्, संरक्षण गरिएन भने यो पेसा सङ्कटमा पर्ने अवस्था छ ।”

सामुदायिक वनबाट सहज रुपमा कोइला ल्याउन पाउने अवस्था नहुँदा समस्या हुने गरेको कालिगढको भनाइ छ । उत्पादन गरेका खुकुरीले पनि मेहनत अनुसारको मूल्य पाउन नसक्दा मानिसको यस पेसाप्रति रुचि घट्दै गएको टेम्केमैयुङ–६ का कालिगढ भीमप्रसाद रसाइलीले बताउनुभयो । राज्यका तर्फबाट यसको विकास तथा संरक्षणमा अझ ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

“दैनिक रुपमा आवश्यक पर्ने अत्यावश्यक औजार उपकरण बनाउने भए पनि यो पेसालाई मान्छेले अझै पनि अपहेलनाका रुपमा लिने चलन छ”, उहाँले भन्नुभयो, “मेहनत गरेअनुसारको प्रतिफल लिन गाह्रो छ, कच्चापदार्थको अभाव छ, फलामको मूल्य बढ्दो छ, तर उत्पादित सामग्रीलाई सोचेअनुसारको मूल्यमा बिक्री गर्ने बजार छैन, विचौलियालाई बेच्नुपर्ने अवस्था छ, राज्यले उत्पादित वस्तुको सही मूल्य पाउने वातावरण निर्माणसँगै आवश्यक सहयोग गर्नुपर्ने देखिन्छ ।”

अहिले उत्पादित सामग्रीलाई स्थानीय बजारमा लगेर बेच्ने गरेको उहाँको भनाइ छ । यहाँका कालिगढले भोजपुरे, सिरुपाते, चित्लाङले, कोथीमोडा लगायतका खुकुरी बनाउने गरेका छन् । ती खुकुरी विश्व बजारमा समेत प्रख्यात छन् । व्यवसाय सञ्चालनमा कच्चापदार्थ र बजारको समस्या रहेको कालिगढ महेन्द्र रसाइलीले बताउनुभयो ।

राम्रो आम्दानी नहुने देखेपछि धेरै खुकुरी बनाउने कालिगढ सुन बनाउने कामतिर लागेको उहाँको भनाइ छ । आफूले भने अहिले पनि यही पेसा गरिरहेको उहाँले बताउनुभयो । “धेरैले कालिगढ पेसा छाड्दै गएको अवस्था छ”, उहाँले भन्नुभयो, “गाउँघरमा उत्पादन भएको सामग्रीको बजारीकरणमा समस्या छ, हामी अझै पनि विचौलियाको मारमा छौँ, मेहनत गरेअनुसारको आम्दानी लिन सकिँदैन, राज्यले यसतर्फ ध्यान दिन आवश्यक छ ।”

परम्परागत पेसालाई संरक्षण गर्न काम गरिरहेको भए पनि स्थानीय सरकार तथा सरोकारवाला पक्षले यसमा चासो नदिएको उहाँले गुनासो गर्नुभयो । राज्यले यही पेसा गरेर जीवनयापन गर्न सक्ने वातारण सिर्जना गरिदिए पेसाको संरक्षणमा टेवा पुग्ने उहाँको भनाइ छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।