बेनी–दरबाङ सडक फापरखेतमा सधैँ पहिरो

म्याग्दी, १३ साउन (रासस) : बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतअन्तर्गतको बेनी–दरबाङ सडक खण्डमा सधैँ पहिरोको जोखिम हुने गरेको छ । उक्त सडक खण्ड म्याग्दीको ‘लाइफलाइन’ का रुपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको हो ।

करिब १८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालिन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् ।

धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको बेनी नगरपालिका–४ का वडा सदस्य प्रेम श्रीसले बताउनुभयो । सामान्य वर्षा हुनेबित्तिकै खस्ने पहिराले सडक पुरिएर सवारी आवतजावत बन्द हुने गरेको उहाँले बताउनुभयो ।

ढुङ्गा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्दै यात्रा गर्नुपर्ने बाध्यता रहेको श्रीसको भनाइ थियो । “वर्षापछि पाखोबाट बगेर आउने गेगर सडकमा थुप्रिँदा आवतजावत बन्द हुन्छ”, उहाँले भन्नुभयो, “फापरखेतको पहिरो बेनी–दरबाङ सडकको क्यान्सर रोग जस्तो भएको छ ।” उहाँका अनुसार पहिरोबाट खसेको ढुङ्गाले चोट लागेर सवारीसाधनमा क्षति पुग्ने र यात्रु घाइते हुने गरेका छन् ।

करिब एक सय ५० मिटर सडक पहिरोग्रस्त छ । पाखो र भिरको बीचमा खनिएको सडक मुनि म्याग्दी नदी छ । “सडक माथिको भिरमा गेगरै गेगर छ । खोल्सामा पर्ने सडक माथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन”, श्रीसले भन्नुभयो, “म्याग्दी नदीको किनारमा बनाइएको पक्कि पर्खालले कटान रोकिएको छ ।” उहाँका अनुसार सडकदेखि करिब दुई सय माथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ ।

“पानी पर्दा गाडी चल्दैनन्, पैदलयात्रा गर्न पनि ढुङ्गा खसिरहने भएकाले जोखिम छ”, मङ्गला गाउँपालिका–१ पूर्णगाउँका बेलबहादुर पाण्डेले भन्नुभयो, “यही पहिरोका कारण कतिपय बिरामीलाई समयमा अस्पताल पु¥याउन सकिएको छैन ।”

उहाँका अनुसार जिल्लास्थित पूर्वाधार विकास कार्यालयले कालोपत्रसहित स्तरोन्नतिको आयोजना सञ्चालन गरेको २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकमा फापरखेतसहित तीन ठूलो पहिरो छन् । मङ्गला गाउँपालिका–२ को लाम्पाटाको पहिरो पछिल्लो पाँच वर्षयता रोकिएको छ । मालिका गाउँपालिकाको बाङ्गे पहिरोले पनि बेलाबेलामा दुःख दिने गरेको उहाँले बताउनुभयो ।

पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्दाबित्तिकै पन्छाउने गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो । “फापरखेत, लाम्पाटा र बाङ्गेको पहिरो नियन्त्रणका लागि बायोइञ्जिनियरिङसहितको छुट्टै काम गर्नुपर्छ” उहाँले भन्नुभयो, “ठूलो पहिरो भएकाले लगानी पनि बढी आवश्यक पर्छ ।”

स्थानीय जीवन खत्रीले फापरखेतको पहिरो नियन्त्रण सम्भव नभएकाले वैकल्पिक मार्ग बनाउनुपर्ने बताउनुभयो । “फापरखेतदेखि पखेर जोड्ने सडकमा पुल हालै निर्माण सकिएको छ”, उहाँले भन्नुभयो, “पखेर र पहिरोभन्दा माथि म्याग्दी नदीमा बेलिब्रिज जडान गरेर वैकल्पिक मार्ग खोल्ने चर्चा सुनेपछि मैले जग्गा पनि दिएको थिए तर काम भएको छैन ।”

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले फापरखेतको पहिरोको समस्याका विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको बताउनुभयो । भूगर्वविद् र प्राविधिकको टोलीमार्फत पहिरो नियन्त्रण गर्ने अथवा वैकल्पिक सडकको अध्ययन गरेर टोलिले दिने सुझावका आधारमा समस्या समाधानको पहल गर्ने उहाँले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।