दसैँमा हवाई टिकट नपाउँदा यात्रु अलपत्र

कोहलपुर (बाँके), ३ कात्तिक : हिन्दू धर्मालम्वीहरूको महान् चाड दसैँको रौनक घरआँगनमा आइरहेको बेला विभिन्न जिल्लाबाट घर जान हिँडेका यात्रु राँझा विमानस्थल नेपालगञ्जमा अलपत्र परेका छन् । यहाँबाट पहाडी जिल्लाका लागि हवाई टिकट नपाउँदा दसैँ मनाउन कर्णाली र सुदूरपश्चिम प्रदेश जाने सर्वसाधारण नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका हुन् ।

नेपालगञ्जमा भेटिएका हुम्लाका धनन्जय जेठाराले टिकट नपाउँदा पाँच दिनदेखि अलपत्र परेको बताउनुभयो । भोजपुरमा शिक्षण पेसामा कार्यरत उहाँ दसैँ मनाउनका लागि गृह जिल्ला जानका लागि यहाँ आए पनि टिकट नपाएकाले होटलमा बस्न बाध्य भएको बताउनुभयो ।

“टिकट पाइन्छ कि भनेर दैनिकरूपमा नेपाल वायुसेवा निगमको टिकट बिक्री तथा आरक्षण कक्ष धम्बोजीमा बिहानै जाने गरेको छु” जेठाराले भन्नुभयो, “बिहान ४ः०० बजे टिकटका लागि यहाँ आएको अहिलेसम्म टिकट पाउन सकेको छैन ।”

स्थलमार्ग सुरक्षित नहुँदा दुर्गम पहाडी जिल्लाका यात्रु हवाई मार्गबाट यात्रा गर्दछन् । हवाई नियमित नहुनु, सहजै टिकट नपाउनुलगायत कारणले यात्रुले समस्या भोग्दै आएका छन् । सडक सञ्जालको पहुँच नभएका कर्णाली प्रदेशको डोल्पा र हुम्लाका साथै जुम्ला, मुगु तथा सुदूरपश्चिम प्रदेशको बाजुराका बासिन्दाले टिकट नपाउँदा सास्ती झेल्नुपरेको बताएका छन् । नियमित उडान नभएकाले टिकटको दुरुपयोग हुने गरेको यात्रुहरूको गुनासो छ ।

निगमका उडान अत्यन्तै न्यून हुनु, निजी एयरलाइन्सले नियमित उडान गर्नुभन्दा चार्टर उडानलाई प्राथमिकता दिनुलगायत कारणले टिकट पाउन मुस्किल हुने गरेको जेठाराले बताउनुभयो । उहाँका अनुसार दसैँको समयमा अन्य समयभन्दा यात्रुको चाप बढि भए पनि पर्याप्त उडान नहुँदा यात्रुले सास्ती पाएका छन् ।

निजी एयरलाइन्सले नियमित उडान नगरेको भन्दै नियमित उडान भर्दै आएको वायुसेवामा पनि पहुँचवालाले मात्र टिकट पाउँदा आफूहरू समस्यामा परेको हुम्लाका कृष्णबहादुर सिंहले बताउनुभयो । यसअघि सातामा तीन दिनमात्र उडान भर्दै आएको नेपाल एयरलाइन्सले दसैँलाई लक्षित गरी आइतबारदेखि आठ दिनका लागि उडान थप गरेको जनाएको छ ।

एयरलाइन्स क्षेत्रीय कार्यालय नेपालगञ्जका स्टेशन प्रमुख मानबहादुर चौधरीका अनुसार दसैँको समयमा यात्रुको चाप बढी हुँदा उडान थप गरिएको छ । “यसअघि हप्तामा तीन दिनमात्र उडान हुँदै आएको थियो”, उहाँले भन्नुभयो, “अहिले आठ दिनका लागि उडान थप गरी नियमित बनाइएको छ ।”

यात्रुलाई सहजरूपमा सेवा दिने प्रयास भइरहेको बताउँदै चौधरीले बिरामी, बच्चाबच्ची, वृद्धावृद्धालाई प्राथमिकतामा राखेर टिकट वितरण गरिएको जानकारी दिनुभयो । यात्रुको चाप बढ्दा सबैले टिकट पाउन असहज भएको उहाँको भनाइ थियो ।

बाजुरा कोल्टीकी सङ्गीता विष्टले दसैँका लागि घर जान हवाई टिकट काट्न आएको भन्दै टिकट नपाउँदा घर कसरी जाने भन्ने चिन्ता लागेको बताउनुभयो । निगमले पहुँचवालालाई मात्र टिकट वितरण गर्दा आफूहरूले नपाएको उहाँको गुनासो थियो । “एउटा उडानमा १७ सिट हुन्छ”, उहाँले भन्नुभयो, “यहाँ सातवटा टिकटमात्र सर्वसाधारणलाई दिने गरिन्छ । बाँकी टिकट पहुँचवालाले पाउँछन् ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।