सराय नाचको संरक्षणमा जुटे गुल्मेली युवा

गुल्मी, १२ कात्तिक : गुल्मीका युवा पछिल्लो समय ऐतिहासिक सराय नाच संरक्षणमा जुटेका छन् । परम्परागतरुपमा खेलिँदै आएको सो ऐतिहासिक सराय नाच लोप हुँदै जान थालेपछि यहाँका युवा संस्कृतिको संरक्षणका लागि जुट्न थालेका हुन् ।

बडादसैँका बेला खेलिने सराय नाच जिल्लाको निकै पुरानो संस्कृतिका रुपमा चिनिन्छ । पछिल्लो समय पुराना पाका उमेर समूहका व्यक्तिको देहवशान र युवाको विदेश पलायनसँगै सराय नाच सङ्कटमा पर्दै जान थालेको छ । गुल्मी जिल्लाको रेसुङ्गा, मुसिकोट, धुर्कोट, इस्मा, छत्रकोट, मालिका, मदाने, चन्द्रकोटलगायत पालिकाका युवा यसको संरक्षणमा जुटेका हुन् ।

विजयादशमीको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म जिल्लाका मुख्य मन्दिर, देवालय, तथा शक्तिपीठका कोतकोतमा सराय नाच्ने प्रचलन छ । मुसिकोटको जोगिथुम, छत्रदेवालय, अर्जै, घमिर, धुर्कोट, चोयँगा, अमरपुर, धागिथुमलगायत स्थान सराय नाचका लागि निकै प्रख्यात स्थलका रुपमा परिचित छन् । एकादशीदेखि पूर्णिमाका दिनसम्म यी स्थानमा हजारौँ मानिस मेला हेर्न र सराय नाच्नका लागि घुइँचो लाग्ने गर्दछ ।

स्थानीयमात्र हैन जिल्ला बाहिर रहेका व्यक्ति पनि यहाँको सराय नाच हेर्नका लागि आउने गर्दछन् । सबै मानिसको एकै ठाउँमा जमघट हुने र वर्षौंदेखिका पुराना आफन्त र साथीभाइसँग पनि भेटघाट हुने भएका कारण मानिसको बाक्लो उपस्थिति हुने गर्दछ । रुमाल र तरबार नचाएर एकआपसमा खुसी साटासाट गरेर सराय नाच नाचिन्छ । संस्कृतिको जर्गेनासँगै नयाँपुस्तालाई सराए नाचको महत्वबारे जानकारी गराउने उद्देश्यले गुल्मीका युवाले परम्परागत संस्कृतिको जगेर्नामा लागेको मुसिकोट युवा क्लबका अध्यक्ष वसन्त अधिकारीले बताउनुभयो ।

मन्दिरमा चढाइएका खोडा र दसैँका बेलामा राखिएका जमराको माला र धोती पासासहितको एउटै पहिरन लगाएर सराय नाच प्रदर्शन गर्ने प्रचलन छ । कतिपय लहैलहैमा हातमा रुमालको सहायताले पनि सराय नाचमा झुम्मी रहेका हुन्छन् । पछिल्लो समयमा नयाँपुस्ताले अनुशरण नगर्दा सराय लोप हुने अवस्थामा पुग्न थालेको स्थानीय हरि घिमिरेले बताउनुभयो ।

इस्मा गाउँपालिकाअन्तर्गत ताल्तुङमा पनि युवाले स्थानीयस्तरमै आपसमा सहयोग उठाएर सराय नाचको संरक्षण गर्दै आएको स्थानीय राजेन्द्रविक्रम कुँवरले बताउनुभयो ।

उहाँले पछिल्लो समय सराय खेल्नेभन्दा हेर्नेको सङ्ख्या धेरै भएपछि यसपटकको दसैँका अवसरमा अभियान नै चलाएर सराय नाच संरक्षणमा युवा परिचालन भएको बताउनुभयो । स्थानीय कुँवरले पुराना पुस्ता सकिँदै जाँदा पुराना कलासंस्कृति पनि हराउँदैै जाने सङ्कट पैदा भएको जनाउँदै यसको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

मन्दिरमा राखिएका तरबार निकालेर तिनै तरबारलाई घुमाउँदै एकआपसमा जोडिएर सराय नाच्ने गरिन्छ । सराय नाच धेरैजसो गुल्मीलगायत अर्घाखाँची, कपिलवस्तु, दाङ, प्यूठानलगनयतका जिल्लाका कोट र शक्तिपिठमा नाच्ने प्रचलन छ । यसरी सराय नाच्दा देवी भगवती प्रसन्न हुने जनविश्वास छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।