महिलालाई अवसर दिन पुरुषवादी भावना बाधक छ : सांसद गौतम

नारायण न्यौपाने/काठमाडौँ, १७ कात्तिक : नेपाली कांग्रेसकी नेत्री एवं सांसद प्रतिमा गौतम सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि लामो छलफल हुने तर दिइएका सुझाव सम्बोधन नहुने तथा परिणाम नदिने पुरानो ढर्रालाई परिमार्जन गर्नुपर्ने धारणा राख्नुहुन्छ । देश, जिल्ला, निर्वाचन क्षेत्र र जनताका प्राथमिकता एवं आवश्यकताका विषयमा जनप्रतिनिधिले दिने सुझाव नसमेटिने बहसको औचित्य नहुने उल्लेख गर्दै उहाँ समय धेरै खर्चनुपर्ने तर परिणामशून्य हुने पाटामा सुधारको खाँचो औँल्याउनुहुन्छ ।

‘सांसदसँग रासस संवाद’ मा नेत्री गौतम भन्नुहुन्छ, “संसद्मा यो मेरो पहिलो प्रवेश हो । आफ्ना कुरा राख्ने विषयमा सबैको प्रस्तुति प्रभावकारी देखिन्छ । यसपटक विधेयक निर्माणको काम भने धेरै हुन सकेन । कतिपय विधेयक “रेडिमेड आए, संशोधनमार्फत जानुपर्ने देखियो ।”

नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा थाल्नुभएकी सांसद गौतमसँग यसअघि पद्मकन्या क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापति र सङ्घको महामन्त्री भई काम गरेको अनुभव छ । विभिन्न सामाजिक कार्यमा समेत संलग्न गौतम हाल नेपाली कांग्रेस केन्द्रीय सदस्य समेत हुनुहुन्छ । जतिसुकै प्रदेश र स्थानीय तह भए पनि विकास निर्माणका विषयमा मतदाताको सङ्घीय सांसदसँग नै बढी अपेक्षा रहेको उल्लेख गर्दै उहाँले सांसदको कानुन निर्माणमा केन्द्रित हुने मुख्य जिम्मेवारीबारे आफूहरूले मतदातालाई बुझाउन नसकेको तथ्य स्वीकार्नुभयो ।

सांसद गौतमले भन्नुभयो, “लामो समयसम्म स्थानीय तह जनप्रतिनिधिविहीन रहनुपरेका बेला विकास निर्माणसहित सम्पूर्ण जिम्मेवारी सांसदले लिएको अनुभव हामीसँग छ, त्यसैले भोट माग्न जाँदा मतदाताले उठाएका समस्या सम्बोधन गर्नुपर्ने बाध्यता हामीलाई छ, यो व्यवहारिक पनि हो ।”

मुख्य जिम्मेवारीमा रहेका सदन र संसदीय समितिका महत्त्वपूर्ण बैठक र छलफलसमेत छाडेर जनताले उठाएका विकास निर्माणका काममा दौडनुपरेका अनुभव सुनाउँदै सांसद गौतमले बजेट बनाउँदा जनप्रतिनिधिका सुझाव र सल्लाह नलिँदा त्यो स्थिति आएको प्रतिक्रिया दिनुभयो । जनताको काम हुन सकेन भने चुनावमा जनसहभागिता कमजोर हुने पक्षलाई कसैले नजरअन्दाज गर्न नहुने उल्लेख गर्दै सांसद गौतमले मतदाताले उठाएका व्यावहारिक विषय सम्बोधन गरिएन भने आगामी निर्वाचनमा प्रस्तुत हुन गाह्रो हुने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “सङ्घीय सांसदले कानुन बनाउने र नीतिगतरूपमै काम गर्ने हो भन्नेबारे सबै राजनीतिक दलले मतदातालाई बुझाउन आवश्यक छ ।”

एक फरक प्रसङ्गमा नेत्री गौतमले राष्ट्र र जनतालाई भन्दा मिडियालाई लक्ष्य गरी आमसभामा बोलेझैँ सदनमा हुने प्रस्तुतिले संसद् र जनप्रतिनिधिको ओज कमजोर तुल्याएको प्रतिक्रिया दिनुभयो । कतिपय पूर्वप्रधानमन्त्रीले घन्टौँ ‘रसविहीन’ भाषण दिनाले दिक्दारी तुल्याउने गरेको प्रसङ्ग उदाहरण दिँदै सांसद गौतमले भन्नुभयो, “कतिपय युवा पुस्ताका नवप्रवेशीले समेत मै मात्रै हुँ भन्ने घमण्डसहितको प्रस्तुति दिनाले पनि सांसद र सदनको गरिमा घटाएको छ ।”

संविधानले राज्यका हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको उल्लेख गर्दै सांसद गौतमले अवसर प्रदान गर्ने सवालमा अझै पनि राजनीतिक नेतृत्वमा पुरानो मानसिकता र पुरुषवादी भावनाले काम गरेको देखिने अनुभूति सुनाउनुभयो । भ्रष्टाचारविरुद्धका आवाज बुलन्द गरेसँगै झनै चुलिँदै जाने विषय स्यालको कथाजस्तै सत्य र तथ्य भएको बताउँदै उहाँले क्यान्सरका रूपमा भ्रष्टाचार बढ्नु छिटो धेरै पैसा कमाउन समाजका सबै क्षेत्र एवं तह र तप्कामा रहेको भावनाको परिणाम भएको प्रतिक्रिया दिनुभयो ।

कानुन बनाएर मात्र नभई मनभित्रैबाटै ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने प्रतिबद्धता आवश्यक रहने धारणा उहाँले राख्नुभयो । सांसद गौतमले सुन प्रकरणलगायत घटना उजागर भएसँगै अब केही हुन्छ भन्ने लागेको तर अनुसन्धान गर्ने निकायको गहिरो अनुसन्धान र प्रतिबद्धता नभएसम्म भ्रष्टाचार निर्मूलीकरणको विषय चुनौतीकै रूपमा रहने विचार प्रकट गर्नुभयो ।

समाजमा सकारात्मक चेत हराउँदै गएको र पछिल्लो समय सामाजिक सञ्जाल तथा मिडियाले पनि नकारात्मक पक्षलाई नै प्राथमिकतामा राखेकाले विकृति बढिरहेको विचार उहाँले राख्नुभयो । सांसद गौतमले भन्नुभयो, “सामाजिक सञ्जालबाट प्रस्तुत भइरहेका कतिपय विषय सत्यतथ्यमा आधारित नभई मिथ्या र भ्रमपूर्ण छन्, समाजलाई गलत र नकारात्मक बाटामा हिँडाउन एउटा तत्व सक्रिय देखिन्छ, यसलाई रोक्नका लागि सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक छ ।”

सामाजिक सद्भाव र शान्ति सुरक्षामा खलल तुल्याउने भ्रमपूर्ण समाचारलाई रोकेर सही समाचार सम्प्रेषण गर्नेतर्फ सबैको जोड आवश्यक रहेको सांसद गौतमले बताउनुभयो ।

एक अर्काे प्रसङ्गमा सांसद गौतमले लामो सङ्क्रमणकालको असर तथा बेरोजगारी, गुणस्तरहीन शिक्षा तथा पारिवारिक सम्बन्ध र सम्पर्कले पनि विद्यार्थी र युवालाई विदेश पलायन हुन बल पुर्याएको विचार प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “हामी कर्मयोगी पनि हुनुपर्छ, गाउँ खाली छ, कुटोकोदालो नगर्ने भइयो, गाउँका नागरिक सहर, सहरका विदेश जाने प्रवृत्ति बढेको छ, गाउँमै जीवन भर्ने कर्मयोगीको खडेरी छ ।”

मुलुकका जल्दाबल्दा राष्ट्रिय विषयमा सत्तापक्षलगायत सबैको साझा धारणा र प्रतिबद्धताको खाँचो औँल्याउँदै नेत्री गौतमले भन्नुभयो, “सरकारले तपाईँहरू स्वदेशमै बस्नुपर्छ, उद्योग खोल्छाँै, रोजगारी दिन्छौँ, माग पूरा गर्र्न कोसिस गर्छाँै, सरकार स्थिर हुन्छ भनी विश्वास दिलाउने काम तत्काल सुरु गर्नुपर्छ ।”-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।