झिनियाँ बेचेर मनग्य आम्दानी

गलकोट, २५ कात्तिक : तिहारमा झिनियाँको खपत अत्यधिक हुने गर्दछ । यतिबेला बागलुङका महिला उद्यमी झिनियाँ बनाउन व्यस्त छन् । तिहारमा अत्यावश्यक परिकारका रुपमा मानिएको झिनियाँ र चिनीसहितका विभिन्न रोटीका परिकार बनाएरै महिला उद्यमीले मनग्य आम्दानी गर्दै आएका छन् ।

झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछि घरमै बनाउने परिकारसमेत स्थानीयले खरिद गरेर लैजान थालेपछि घरेलु महिला उद्यमी व्यस्त भएका हुन् ।

विगत १० वर्षदेखि तिहार नजिकिएसँगै झिनियाँ, चिनि, फिनी, भेलीलगायत रोटीका परिकार बनाउन व्यस्त भएको बागलुङ नगरपालिका–१ रामरेखाका शर्मिला श्रेष्ठले बताउनुभयो । “तिहार नजिकिँदै आएसँगै झिनियाँको कारोबार उच्च छ । अहिले म जस्ता दर्जनौँ महिला झिनियाँसहितका रोटीका परिकार बिक्री गरेर मनग्य आम्दानी गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “तिहारमा मात्रै रू चार÷पाँच लाखको झिनियाँ सहित अन्य तयारी रोटीको कारोवार हुन्छ ।”

यस्तै १२ वर्षदेखि बागलुङ नगरपालिका–१ स्थित मरेपिपलमा झिनियाँसहितका सात प्रकारका रोटीका परिकार बनाउँदै आउनुभएकी मिरा श्रेष्ठले रोटीका परिकारको बिक्री भइरहेको बताउनुभयो । उहाँले यसपटक सेतो झिनियाँको उत्पादन बढाइएको जानकारी दिनुभयो ।

हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहारका अवसरमा प्रयोग हुने झिनियाँ बनाउन यहाँका महिला उद्यमीलाई भ्याइनभ्याइ छ । सिजनको व्यापारमा कमाएको रकमले वर्षभरी घरखर्च पुग्ने उद्यमीहरुको भनाइ छ ।

मिराले विगत १२ वर्षदेखि झिनियाँ, चिनी, फिनी, सेल र भेली रोटी तथा खुरमा र नमकिन बनाएरै राम्रो आम्दानी गर्न सफल हुनुभएको छ ।

“तिहारमा झिनियाँको व्यापार बढी हुन्छ । तिहार नआउँदै बाटर झिनियाँ बनाउँदै सुकाउन निकै व्यस्त भइन्छ । पहिला जस्तो नाफा त छैन, चामालको मूल्य बढेपछि नाफा थोरै भएको हो”, मिराले भन्नुभयो, “पछिल्लो समय झिनियाँसँगै चिनी तथा फिनी र तयारी सेल रोटीको माग उच्च छ । यसपटक पानी नपरेकाले झिनियाँ सुकाउन समस्या भएन । झिनियाँको माग अनुसार निर्माण गर्न समस्या छ ।”

मिरासँगै उनका श्रीमान् र छोराले दसैँअघिदेखि रातदिन नभनेर विभिन्न रोटीका तयारी परिकारहरु बनाइराखेका छन् । तिहारका समयमा बढीमात्रामा प्रयोग हुने झिनियाँको माग बढ्न थालेपछि बागलुङका घरेलु उद्यमीलाई भ्याइनभ्याइ छ । बजारका अधिकांश तयारी रोटीको माग महिला उद्यमीहरुले धान्दै आएका छन् ।

मिराले तिहारको सिजनमा झिनियाँसहित अन्य तयारी परिकार बिक्रीबाट रू सात लाखसम्म आम्दानी गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । नेपाली समाजमा तिहारको भाइटीकामा सप्तरङ्गी झिनियाँ कोसेलीका रूपमा दाजुभाइलाई खुवाउने परम्परा रहे पनि अन्य पूजाआजा र चाडपर्वमासमेत तयारी रोटीको माग रहेको उहाँको भनाइ थियो ।

रङ्ग मिसाइएको झिनियाँ रोटी उत्पादन नगर्न जिल्ला प्रशासन कार्यालय बागलुङले आग्रह गरेपछि यसपटक धेरै महिला उद्यमीले सेतो झिनियाँ उत्पादन बढाएका छन् ।

रङ्ग मिसाइएको परिकारका कारण घातक रोग लाग्न सक्ने भन्दै सप्तरङ्गी झिनियाँ उत्पादन नगर्न बागलुङ नगरपालिकालेसमेत अनुरोध गरेको छ । उपभोक्ताले भने रङ्ग मिसिएकै झिनियाँ बढी माग गर्ने उद्यमीको भनाइ छ । उद्यमीले खाद्य रङ्ग मिसाए पनि तेलमा तार्दा रङले स्वास्थ्यमा असर गर्ने भन्दै सादा झिनियाँ उत्पादन गर्न आग्रह गरिएको छ ।

बागलुङमा थोक मूल्यमा झिनियाँ प्रतिदर्जन ठूलोमा रू दुई सय ५० र सानोमा रू एक सय ४० मा बिक्री हुँदै आएको छ । खुद्रा र होलसेल गरी दुईथरी मूल्य कायम गरेर बिक्री भइरहेको छ । यस्तै, चिनी रोटी रू ८०, फिनी रू ७०, भेली रू ५० र नमकिन रू ५० मा बिक्री भइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।