मलेसियामा बेपत्ता भएका गोपाल उद्धारपछि घर आइपुगे

झापा, १० मङ्सिर : वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुग्नुभएको छ ।

अठार वर्षअघि मलेसिया गएका घिमिरेलाई मलेसियाको नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो । उहाँकी आमा सानी घिमिरेले खोजीका लागि सार्वजनिक अपिल गरेपछि गोपालको खोजी भएको थियो । शुक्रबार क्लालाम्पुरबाट काठमाडौँ आउनुभएका गोपाल शनिबार घर आइपुग्नुभएको सांसद एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

मलेसियामा खोज्न र उद्धार गरेर नेपालसम्म ल्याउन पहल गर्नुभएका सांसद शर्माले आमा सानीको कारुणिक अपिलपछि मलेसियामा रहेको नेपाली जनसम्पर्क समितिको सक्रियता र त्यहाँको नेपाली राजदूतावासको सहयोगमा गोपालको सकुशल उद्धार सम्भव भएको बताउनुभयो ।

“गोपाल भाइ मलेसियामा भेटिनुभयो मात्र होइन उहाँकी आमाले हराइरहेको छोरालाई आज आफ्नै अँगालोमा पाउनुभयो”, सांसद शर्माले उद्धारप्रति खुसी व्यक्त गर्दै भन्नुभयो, “यो नै सबैभन्दा ठूलो खुसी हो ।”

गैरकानुनीरूपमा मलेसियामा रहेका गोपाललाई स्वदेश फर्काउन हवाई टिकट र जरिवाना गरेर नेपाली रु एक लाख चार हजार एक सय ६० तिर्नुपरेको नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोलाराज पङ्गेनीले जानकारी दिनुभयो ।

विसं २०६१ चैत ८ गते प्रोडक्सन अपरेटर कामका लागि श्रम अनुमतिपत्र पाएर १९ वर्षका उमेरमा गोपाल मलेसिया जानुभएको थियो । घर फर्किँदा उहाँ ३७ वर्षको भइसक्नुभयो । मलेसिया पुगेको एक सातापछि उहाँमाथि गैरकानुनी कामदार भएको आरोप लागेको थियो । यसपछि उहाँको वास्तविक अवस्थाबारे नेपालमा रहेको परिवार बेखबर थियो ।

विदेशमा हराएको छोरा फर्केर घर आएकामा घिमिरेकी आमा सानीले खुसी व्यक्त गर्नुभएको छ । उहाँले छोरा खोजिदिन पहल गरिदिनुहुने सबैप्रति आभार प्रकट गर्दै अब दुःखजिलो गरेर स्वदेशमै गरिखाने बाटोमा लाग्न छोरालाई आग्रह गर्नुभएको छ ।

गोपालले मलेसियामा रहँदा ज्यादै दुःख र सास्ती व्यहोर्नुपरेको बताउनुभयो । “गैरकानुनी कामदार भएपछि बस्न र खानै मुस्किल परेको थियो”, उहाँले आमासँग आफ्नै घरमा भेट भएपछि भन्नुभयो, “यतिका वर्ष विदेश बस्दा सुको कमाएर घर पठाउन सकिनँ । आमाको आशीर्वादले बाँचेर आउन पाएँ, यसैमा म खुसी छु ।”

घरमा गोपालको एक छोरा पनि छन् । उहाँकी आमा सानी नेत्रहीनको समूहलाई सडक गायनमा डोहोर्याएर गुजारा चलाउँदै आउनुभएको छ । घरको आर्थिक स्रोतले खान लाउन नपुग्ने जनाउँदै छोरालाई वैदेशिक रोजगारीमा पठाउन ऋण काढ्दा घर पनि बैंकको धितोमा रहेको उहाँले बताउनुभयो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।