विदेश छोडेर पशुपालनमा रमाउँदै पूर्णबहादुर

घोराही (दाङ), ९ पुस : रोल्पा रुन्टिगढी गाउँपालिका–३ जवाङका पूर्णबहादुर घर्तीमगरको मुख्य पेसा हो पशुपालन । घोराही–११ बरुवा गाउँमा उहाँले पशुपालन व्यवसाय गर्दै आउनुभएको छ । घर्तीमगरले व्यवसाय गर्न थालेको पाँच वर्ष भइसक्यो । सुरुआतमा रु १६ लाख ऋण लिएर थालेको व्यवसायले राम्रो आम्दानी पनि दिएको छ । उहाँको जलजला कृषि तथा पशुपालन फार्म छ ।

नेपाल प्रहरीको जागिर र पाँच वर्ष वैदेशिक रोजगारीका क्रममा भोगेकोे अनुभव पनि उहाँसँग छ । “विदेशमा गरिने परिश्रम नेपालमा गर्नसके सफलता प्राप्त गर्न समस्या छैन”, उहाँले भन्नुभयो, “अरुको देशमा घण्टाँै काम गर्छौं, कमाइ भएको पनि देख्छौँ, तर स्वदेशमा काम गर्दैनौँ कमाइ धेरै खोज्छौँ, जति कमाए पनि कमै हुन्छ ।” घर्तीमगरको परिवार स्वदेशमै केही गर्नुपर्छ भनेर रोल्पाबाट दाङ पशुपालनकै लागि झरेको हो । उहाँले राष्ट्रिय वाणिज्य बैंकबाट रु १० लाख र छिमेकी लघुवित्तबाट रु छ लाख ऋण लिएर व्यवसाय थाल्नुभएको हो ।

रोल्पामा यसअघि तरकारीखेती गरे पनि ढुवानी र बजारीकरणको समस्याले दाङ आएको उहाँ बताउनुहन्छ । नेपाल प्रहरीमा हुँदा घर्तीमगर विसं २०५८ असार २८ गते रोल्पाको होलेरीमा माओवादीको आक्रमणमा पर्नुभयो । तीन महिना माओवादीकै कब्जामै रहेको र रिहाइपछि घर परिवारलाई दुःख दिन थालेकाले सरकारी जागिर छोड्न बाध्य भएको उहाँले सुनाउनुभयो । घर्तीमगर जागिर छाडेपछि वैदेशिक रोजगारीमा पनि जानुभयो । त्यहाँ पनि सोचेअनुसारको कमाई नभएपछि स्वदेशमै केही गर्नुपर्छ भन्ने सोंचका साथ पशुपालन व्यवसाय गरेको र आम्दानी पनि राम्रै भएको उहाँ बताउनुहुन्छ ।

“बिहानैबाट भैँसीको स्याहारसुसार गरेर दूध बेच्न हिँड्छु”, उहाँले भन्नुभयो । उहाँले भैँसी र तिनका पाडापाडीको स्याहारसुसार गर्ने, दुहुँने र आहारा तयार गर्ने काम गर्नुपर्छ । घर्तीमगरले मोटरसाइकलमा दूधको क्यान झुन्ड्याएर घोराही बजारका विभिन्न ठाउँमा पुगेर दूध बेच्दै आउनुभएको छ । उहाँलाई घरपरिवारले पनि यसमा सहयोग गर्दै आउनुभएको छ ।

घर्तीमगरले दुई बिघा भाडाको जग्गामा पशुपालन व्यवसाय गर्दै आउनुभएको छ । ४२ वर्षीय घर्तीमगरको फार्ममा २० वटा गाई, भैँसी तिनका पाडापाडी छन् । घर्तीमगरले दैनिक एक सय लिटर दूध बेच्ने गर्नुभएको छ । जसबाट रु एक लाख ४० हजार आम्दानी गर्दै आउनुभएको छ भने मासिक बचत रु ५०÷६० हजार गर्न सफल भएको उहाँको भनाइ छ । राज्यले वास्तविक किसानको हितमा काम गर्ने नीतिका साथ पशुपालक किसानलाई सहुलियत दिनुपर्ने उहाँको धारणा छ ।

आफ्नै व्यवसायमार्फत आयआर्जन गर्ने उद्देश्यले घर्तीको परिवार रोल्पाबाट दाङ आएको हो । उहाँले गाईभैँसीका लागि आवश्यक घाँस आफैँ उत्पादन गर्नुभएको छ । तर पनि किसानले उत्पादन गरेको वस्तुले सहजरुपमा बजार नपाउने समस्या भने कायम रहेको उहाँ बताउनुहुन्छ ।

सरकारी जागिर र वैदेशिक रोजगारीबाट फर्केर कृषि क्षेत्रमा लागेका घर्तीमगर उदाहरण पात्र हुनुहुन्छ । सरकारीस्तरबाट पाउनुपर्ने सेवासुविधाका बारेमा वास्तविक किसानलाई जानकारी गराउन आवश्यक रहेको उहाँको भनाइ छ । कहीँकतैबाट सहयोग नपाएको हुँदा र उत्पादित वस्तुको बजार ग्यारेन्टी नहुँदा कतिपय पशुपालन फार्म किसानले बन्द गर्न बाध्य भएको बताउनुभयो ।
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।