संकटमा पूर्वको सदरमुकाम धनकुटा

नारायण कुमार राई/धनकुटा । कुनै बेला ब्यपार र प्रशासनले गुल्जार रहेको तात्कालिन पूवाञ्चलको १६ जिल्ला तथा धनकुटाको सदरमुकाम रहेको धनकुटा बजार दिनप्रतिदिन सुनसान हुँदै गएको छ ।

यहाँको ब्यापार ब्यवसाय ठप्प हुँदै गएपछि नगरपालिकाको मुख्य तीन बजार मध्ये माथिल्लो कोप्चे र तल्लो कोप्चे बजारका अधिकांश घरहरु बन्द भएर सुनसान देखिन्छन् ।

त्यस्तै वडा नं.६ को लहरे चौतारा,वडा नं.४ को लोक सेवा क्षेत्र,वडा नं.७ को श्रीवानी बजार धेरै अघिबाट सडकले ढाक्रेहरुको बिस्थापन संगै सुनसान भईसकेका बजार हुन् । चलयमान भनिएको धनकुटा बसपार्कको हुलाकटोल–बीच बजार–गणेश थान सम्मको करिव एक कि.मि.बजार क्षेत्रको पनि एक चौथाई भाग सम्म मात्र चहलपह छ ।

अहिले वडा नं.६ को बसपार्क देखि वडा नं.६ मा रहेको परिचय मोड सम्मको करिव तीन सय मिटर सिधा लाईनमा मात्र बजारको चहलपहल देखिन्छ ।

मुलुकको परिवर्तन र बिकाु संगै सबैतिर सडक सञ्चालको बिकास तथा प्रशासनिक बिकेन्द्रिकरणका कारण जिल्ला स्थित नगरको बजार क्रमश कम्जोर भएर गएको जानकारहको भनाई छ ।बजारमा क्षेत्रमा क्रमशः आएको गिरावट र पछिल्लो समय आएको कोरोना तथा देशको आर्थिक मन्दीका कारण धनकुटा बजार थप संकट ग्रस्त भएको जानकारहरुको भनाई छ ।

बि.सं.१८७३ मा तात्कालिन राजा राजेन्द्र बिक्रम शाहले नेपाललाई १० जिल्लामा गरेको बिभाजन संगै दुधकोशी पूर्व मेची सम्मको पल्लो किरात संगै धनकुटा जिल्ला अस्थितत्वमा आएको ईतिहांस रहिआएको छ ।बि.सं.१९४२ सालमा राणा प्रधान मन्त्री बीर शम्सेरको पालामा प्रशासनिक केन्द्र(गौंडा)का रुपमा स्थापना भएको धनकुटा बजार पुरानो ईतिहांस बोकेको नगर हो ।

दश वटा वडा भएको नगरको वडा नं.५,६ र ७ मुख्य बजार रहेको छ भने वडा नं.४ मा तात्कालिन पूर्वाञ्चल तथा हाल जिल्लाको प्रशासनिक कार्यालयहरु रहेका छन् ।

बि.सं.२०३९ साल सम्म भोजुर,संखुवासभा,तेह्रथुम र ताप्लेजुङ्ग जिल्लाको प्रमुख ब्यपारिक केन्द्र रहेको धनकुटा बजार अहिले ती जिल्लाको सडक सञ्जालको पहुँचमा मात्र सिमिति छ । बि.सं.२०३५ साल पुष १ गते नगर घोषणा भएको धनकुटा बजारलाई बि.सं.२०३९ सालमा बेलायत सरकारको सहयोगमा निर्मित धरान–धनकुटा कोशी राजमार्गले जोडेको थियो ।

त्यसको एक बर्ष पछि नगरको १३ कि.मि.उत्तर हाल वडा नं.१ मा रहेको ब्यपारिक केन्द्र हिले बजारमा सडक पुगेको थियो ।
सडक पुगेपछि धनकुटा बजारबाट पहाडी चार जिल्लामा हुने ब्यपारिक चहलपहल पनि हिले केन्द्रित भएको थियो । जसका कारण बजारको खराब दिन शुरु भएको धनकुटा नगरपालिका वडा नं.६ सिरान बजार निवासी धनकुटा बजार सम्बन्धि जानकार राजेश्वरबहादुर श्रेष्ठ बताउनु हुन्छ ।

धरान–धनकुटा हुँदै हिलेबाट अन्य चार जिल्ला सम्म जाने कोशी राजमार्गलाई सो समयमा धनकुटा बजारबाट लैजान नदिए पछि यसको बाँया बाहिरी भागबाट लगियो । बजार प्रवेश गर्ने बसपार्क भन्दा पाँचसय मिटर अघिबाट छुट्टिएर अन्य जिल्ला गएको यो सडकले पहिले देखि अहिले सम्म बजारको बृद्धि बिकासलाई असर पारिरहेको ५५ बर्षिया श्रेष्ठ बताउनुहुन्छ ।

श्रेष्ठका अनुसार यो सडक मात्र हैन बजारलाई कम्जोर अवस्थामा प¥याउने अन्य धेरै कारणहरुको पनि महत्वपूर्ण भुमिका रहेको छ ।
तात्कालिन राजा बिरेन्द्रले बि.सं.२०२९ सालमा नेपाललाई चार बिकास क्षेत्रमा बिभाजन पछि धनकुटालाई १६ जिल्लाको सदरमुकाम बनाएसंगै नगरबासीहरु परनिर्भर तर्फ लागेका थिए ।
सदरमुकाम घोषणा संगै प्रशासनको केन्द्र बनेपछि पहिला श्रमदान,मुठ्ठी दान गरेर नगरमा बिकासका काम गर्ने परिपाटीको अन्त्य भएको थियो ।

‘अचानक सदरमुकाम बनेर सरकारी बजेटमा बिकासका कामहरु हुनथालेपछि नगरबासीहरुले आफ्नो आँगन पनि बढार्न छाडेका थिए’श्रेष्ठले भन्नु भयो ।तात्कालिन पूवाञ्चलको सदरमुकाम भएकाले बिकासका काम पनि सरकारबाट हुने भएकाले नगरबासीहरुको शिर्जनसिलता सकिएर अल्छे बनेको उहाँले जानकारी दिनुभयो ।

प्रशानिक केन्द्रका कारण प्रसस्त सरकारी जागिरको अबसर भएको नगरमा १६ जिल्लाबाट मान्छेहरुको ओईरो लाग्दा यहाँको ब्यपार समेत निकै फस्टाएको थियो । प्रसस्त पैसा कमाएका उनीहरुले आफ्नो ठाउँ बनाउन खर्चने भन्दा पनि तराई काठमाण्डौं लगाएत्त सुबिधा सम्पन्न ठाउँमा घरघडेरीका लागि खर्च गरे ।

जसले गर्दा पाराम्परागत रुपमा स्थापित धनकुटाको साँघुरो बजारहरु आधुनिक बजार तर्फ उन्मूख हुन नसकेको श्रेष्ठले जानकारी दिनुभयो । बि.सं.२०४७ सालमा क्षेत्रीय अदालत बिराटनगर सारियो । गाउँगाउँमा प्लस टु को अवधारणा संगै बि.सं.२०६७ सालमा प्रविण–पत्र तह हटेपछि पूर्वाञ्चलको शैक्षिक केन्द्रका रुपमा रहेको धनकुटा बहुमुखी क्याम्पसमा बिद्यार्थी ह्वात्तै घटेर गयो ।

यी दुई घटनाका कारण बिभिन्न जिल्लाबाट आउनेहरुको संख्य सून्य भएपछि धनकुटा बजारको स्थिति थप दयानिय बनेर गयो ।
पछिल्लो समय देश संघियतामा गएपछि धनकुटा सात स्थानीय तहमा बिभाजन भएर सबै अधिकार बिकेन्द्रिकरण भएकाले धनकुटा बजार थप सुस्त र जाागर नभएको नगर बन्यो ।

त्यसपछि पूर्वको प्रशासनिक केन्द्र राजधानी समेत बिराटनगर सारिएपछि धनकुटा बजार थप सुनसान बनेर गयो ।’ श्रेष्ठले भन्नुभयो ।बि.सं.२०३८ साल सम्म ब्यपारिक केन्द्र रहेको माथिल्लो र तल्लो कोप्चे बजार सबै भन्दा बढी सुनसान रहेको छ ।

बि.सं.२०३९ सालमा हालको वडा नं.७ मा सडक आईपुगेपछि यहाँको ब्यपार क्रमश सरेर गएको धनकुटा नगरपालिका वडा नं.५ माथिल्लो कोप्चे बजारका रमेश आमत्य बताउनु हुन्छ ।
धनकुटाबाट हिले हुँदै अन्य जिल्लामा भएको सडक बिस्तारले धनकुटा बजार सुनसान हुनथालेको ६० बर्षिया अमत्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘जता सडक,उतै ब्यपार गएपछि बजार सुनसान भयो ।’त्यसपछि क्षेत्रीय अदालत बिराटनगर सारेपछि प्रशासनिक चहलपहल घटेकाले बजारको ब्यपार थप ठप्प बनेको आमत्यले जानकारी दिनुभयो ।बजार सुनसान भएपछि तीस बर्ष सम्म होटल ब्यवसाय चलाएर आएका आमत्य परिवारले २०५२ साल पछि बन्द गरेर बसेको जानकारी दिनुभयो ।

क्रमश अहिले माथिल्लो कोप्चे बजारका प्राय धेरै घर रित्तो छाडेर स्थानीयहरु बिरानगर,काठमाण्डौमा बसिरहेकाले बजार सुनसान देखिएको आमत्यले जानकारी दिनुभयो ।कृषिमा आधारित उद्योगहरुको बिकास गर्न सकेमा नगरले क्रमश पुनर्जीवन पाउँदै जाने उहाँको आशा छ ।

त्यस्तै सोही बजार क्षेत्रमा पुर्खेउली पेशाका रुपमा किराना पसल गर्दै आउनुभएका ४५ बर्षिया सुशिल क्षेष्ठले ब्यपार ठप्प भएर घर मात्र रुँघेर बसेको जानकारी दिनुभयो । दश बर्ष अघि मासिक तीन लाख सम्मको कारोबार हुनेगरे पनि हाल पाँच हजारको पनि ब्यपार नहुने गुनासो गर्नुभयो ।

‘त्यो बेला करिव करोडको ब्यपार हुन्थ्यो’ उहाँले भन्नुभयो ‘अहिले दोकान गरेर परिवार धान्न मुस्किल छ ।’ श्रेष्ठले पनि आमत्यले जस्तै चौतर्फी सडक सञ्जाल पुग्नु र यहाँको प्रशासनिक केन्द्र अन्यत्र स्थान्तरण भएपछि बजार सुनसान भएको जानकारी दिनुभयो ।

ब्यपार ब्यवसाय नभएपछि अहिले माथिल्लो कोप्चे र तल्लो कोप्चे बजारका अधिकांस घरहरुका ढिक(काठले बनेको आधा झ्याल आधा ढोकाको रुप) हरु बन्द देख्न पाईन्छ । बन्द रहेका घरहरु ब्यपारका लागि अरुलाई पनि नबेच्ने र आफू पनि नबस्ने भएकाले बजार बिस्तार हुन नसकेको तल्लो कोप्चे बजारका ५० बर्षिया सन्जय श्रेष्ठको भनाई छ ।

तीन पुस्ता देखि खाद्यन्नको ब्यपार गर्दै आउनुभएका श्रेष्ठले ३५ बर्ष अघि मासिक एक लाख ५० हजार सम्मको कारोबार भएपनि हाल मुस्किलले २५ हजारको पनि ब्यपार हुने जानकारी दिनुभयो ।
बि.सं.२०४५÷०५६ साल सम्म राम्रो ब्यपार रहेको यो बजारका अधिकांशले जिल्ला बाहिर किनेर बसोबास गर्ने र यहाँ घर मात्र छाडेकाले बजार सुनसा बनेको श्रेष्ठको भनाई छ ।

अहिले सबैभन्दा धेरै सुनसान दुई कोप्चे बजार देखिएकाले यसको साख फर्काउन हालैबाट ‘कोप्चे जागरण अभियान’ शुरु गरिएको वडा नं.५ का वडा अध्यक्ष धनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
जसका लागि बजारका सबै घरहरुमा सुन्तला रंग लगाउने,बिभिन्न खाना महोत्सवहरुको आयोजना गर्दै आएको कोप्चे बजारमा बन्दीपुरको शैलीमा घरबास सेवा (होम स्टे) सञ्चालन गर्न लागिएको राईले जानकारी दिनुभयो ।

धनकुटा बजारमा ब्यपार र शक्ति केन्द्र रहेको समयमा कमाई गरेका ढनाड्यहरुले आफ्नो ठाउँलाई वेवास्ता गरेर तराई र काठमाण्डौमा लगानी गरेकाले धनकुटा बजारको दुर्गति भएको उहाँको तर्क छ ।
बिभिन्न जिल्ला जोड्ने मुख्य सडक सञ्जाल बजारबाट लाने सरकारी नितिको बिरोधका कारण बजारको बाहिरबाट सडक गएकाले हाल सम्म बजार पुरानै शैलीमा साँघुरो अवस्थामा रहेको छ ।

ब्यपारिक केन्द्र र प्रशासनिक सदरमुकाम हुँदा यहाँबाट कमाएकाहरुले बजारलाई कुरुप छाडेर तराई लगाएत नेपालका ठूला शहरमा लगानी गरेका छन् । जिल्लाका ब्यपारी,समाजसेवी,नेता सबै सुबिधा सम्पन्न ठाउँमा घरघडेरी जोडेर बस्ने तर आफ्नो ठाउँमा लगानी कुनै लगानी नगरेकाले सदरमुकामको बजार मृत अवस्थामा पुगेको धनकुटा बीच बजारका यूवा उद्यमी तथा नेता बिकास घिमिरेको भनाई छ ।

पछिल्लो समय सडक सञ्जाल मार्फत् नगरलाई ब्यपारिक गतिबिधिमा जोड्न नसक्नुले बजारको अवस्थामा सुधार हुन नसकेको उहाँको भनाई छ । नगरमा रित्तो घर छाडेर ठूला शहरमा बसिरहेका नगरबासीहरुले चासो नदेखाए सम्म क्रमश धनकुटा बजार जिर्ण बन्दै जाने घिमिरेको तर्क छ ।

बिशेष गरेर ब्यपारिक केन्द्र र प्रशासनिक केन्द्रका रुपमा रहेको धनकुटा बजार,सडक सञ्जाल र प्रशासनिक केन्द्र स्थानतरणका कारण बजार रित्तिदै गएको उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष बिजय सन्तोषी राई बताउनुहुन्छ । ‘सबैतिर सडक पुगेपछि यहाँको ब्यपार उतै गएर सकियो’ राईले भन्नुभयो ‘पूर्वको सदरमुकाम रहेको जिल्लाबाट प्रादेशिक राजधानी पनि बिराटनगर लगेपछि धनकुटा बजार सुनसान भयो ।’

उहाँले पनि धनकुटामा कमाएर बाहिर लगानी गर्ने परिपाटीका कारण बजारको बृद्धिबिकास हुन नसकेको बताउनु भयो । नगरको बिसम परिस्थिति संगै पछिल्लो समय कोरोना संगै देश आर्थिक मन्दिमा गएकाले जिल्लामा लगानी गर्ने उद्यमी तथा ब्यबसायीहरु थप संकटमा परेको राईले जानकारी दिनुभयो ।

‘संकटको स्थितिमा हामीले गरेको अपिल सरकारले सुनेन’ राईले भन्नुभयो ‘ब्यवसायीहरुको घरजमिन लिलाम गरेकोले ब्यबसायीहरुमा त्रासको वातावरण रहेको छ ।’ नगरलाई पुःन गुल्जार बनाउनको लागि कृषिमा आधारित उद्योग,पर्यटन प्रवद्र्धन,शैक्षिक केन्द्र तथा मेडिकल कलेज स्थापना गर्न सके बिस्तारै बजार लयमा फर्कने उहाँको सुझाव छ ।

अहिले धनकुटा बजारले ब्यपार र प्रशासन क्षेत्रमा आफ्नो साख गुमाएको कारण बजार क्षेत्रको घरघडेरी बिक्री ठप्प जस्तै रहेको छ ।
जिल्लामा सदरमुकाम रहेजस्तै राजधानी पनि हुन्छ भन्ने आशमा खरिदबिक्री भएका घरजमिनहरु अहिले आधा दाममा पनि बिक्ने छाडेका छन् ।

पहिला बस्नका लागि खचाखच भाडा लाग्ने घरहरु पनि अहिले सबै बन्द अबस्थामा देखिन्छन् । ब्यपार ब्यवसाय ठप्प हुँदै गएको धनकुटा नगरपालिका जिल्लाको सात स्थानीय तहहरुमा भन्दा महंगी बढेको नेपाल पत्रकार महासंघका अध्यक्ष नगेन्द्र राईको भनाई छ ।
बिकास सम्बन्धि नेता र उच्च पदमा रहेका कर्मचारीहरुको केन्द्रिकृत सोच रहेकाले सदरमुकाम रहेको जिल्ला मृत अवस्थामा पुगेको राईको भनाई छ ।

जिल्लाको लागि पहल गर्ने ब्यक्ति नभएको अभावमा केन्द्रमा रहेका नेता तथा कर्मचारीहरुले राज्यको बिकासलाई कब्जामा राखेर आफू अनुकुल बाँडफाँड गरेकाले धनकुटा बजारको अवस्था दयानिय भएको राईको धारणा छ ।

अहिले धनकुटा बजार भन्दा वडा नं. १ मा रहेको हिले बजार,चार जिल्ला र चार स्थानीय तहको ब्यपारिक केन्द्र बनेकोले अधिकांस मालसामानका डिलरहरु पनि उतै गएको छ । जसका कारण कुनै बेला ब्यपारिक केन्द्र रहेको धनकुटा बजारबासीहरुले धरान र हिले सम्म घरायसी मालसामान लिन जानुपर्ने अवस्था आएको छ ।
धनकुटा बजार ब्यबस्थापन समितिका अध्यक्ष बिप्लव श्रेष्ठका अनुसार अहिले धनकुटा बजारको ब्यपार ७० प्रतिशत भन्दा बढीले मन्दी आएको छ ।

देशमा आएको परिवर्तन संगै हुने परिवर्तनमा जिल्लाका लागि पहल गर्ने र लड्ने नेताहरुको अभावका कारण नगरको बजार दयानिय अवस्थामा पुगेको श्रेष्ठको आरोप छ । धनकुटा बजारका अग्रजहरुले आफ्नो ठाउँलाई मायाँ नगरेका कारण बजार सुनसान अवस्थामा पुगेको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङको भनाई छ ।

‘नाम,दाम र ईज्जत धनकुटामा कमाउने तर लगानी तराई र काठमाण्डौ गर्नेहरुका कारण बजार सुनसान भएको हो’ तामाङले भन्नुभयो । ढिलैभएपनि चेत खुलेका कारण पछिल्लो समय नगरका केहि ब्यक्तिहरुले बजार क्षेत्रको बिकासका लागि गरेको खर्च प्रति उहाँले प्रसशा गर्नुभयो ।

केहि समय अगाडी धनकुटा बजारको माथिल्लो कोप्चेमा नगरको एक मात्र तारे होटल सरहको ईन्टरनेशनल मुर्चुङ्गा होटल सञ्चालनको उदाहरण दिंदै अन्य स्थानीयहरुलाई पनि लगानी गर्न प्रेरित गरिरहेको उहाँले जानकारी दिनुभयो । नगरको थप अवस्था सुधार गर्न नगरपालिकाको बजेट क्षमताले भ्याए सम्म काम गरिरहेको तामाङले जानकारी दिनुभयो ।

उहाँले सबैभन्दा बढी संकटमा रहेको दुई कोप्चे जागरण अभियानका लागि सरोकारवालाहरु संगको बैठक अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । त्यसका साथै नगरले धनकुटा नगरपालिकालाई २०७५ सालमा एभोकाडोको राजधानी घोषणा संगै यसको खेती र उद्योग स्थापनामा नगरपालिकाले सहयोग गरिरहेका छ ।

त्यसका साथै नगरले कृषि,पशुपालन,को क्षेत्रमा बिभिन्न अनुदानका कार्यक्रम र पर्यटनको क्षेत्रमा चुलीवन पर्यटन बिकास कार्यक्रम लगाएतका कामहरु गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।
जिल्ला बाहिर रहेका नगरबासीहरुले क्रमश आफ्नो ठाउँमा लगानी गर्ने परिपाटी शुरु भएको देखिएकोले बिस्तारै नगरको ब्यपार र चहलपहल बढ्दै जाने तामाङले बिश्वास ब्यक्त गर्नुभयो ।

धनकुटा बजार सुनसान हुँदै गएको बिषयमा एकले अर्कालाई आरोपप्रत्यारोप गर्नु उचित नभएको धनकुटाका संघीय साँसद राजेन्द्रकमार राईको भनाई छ ।

हालै धनकुटामा स्थापना गरिएको यातायात कार्यालय बजारभन्दा बाहिर वडा नं.३ मा राख्नु परेको घटनाले बजारको बिषयमा आफ्नो ध्यानाकर्षण भईरहेको जानकारी दिनुभयो ।

आफूले जिल्लाका लागि बार्षिक करोडौको बजेटका कार्यक्रमका लागि पहल गरिरहेको बताउँदै राईले बजारका बिषयमा नगरका सरोकारवालाहरु छलफल गर्ने जानकारी दिनुभयो ।

एक हजार एक सय एक वर्ग किलोमिटरमा फैलिएको धनकुटा नगरपालिका बि.सं.२०७८ को जनगणना अनुसार ३५ हजार नौ सय ८३ जनसंख्या रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।