सुनकोशीको पानी आठ सय घरलाई उपलब्ध गराउन खानेपानी आयोजना

खोटाङ, २० माघ : दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका आठ सय घरका उपभोक्तालाई खानेपानी उपलब्ध गराउने गरी सुरु गरिएको ‘दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना’को काम तीव्र गतिमा अगाडि बढेको छ ।

खानेपानी मन्त्रालयको भ्याटसहित रु ३१ करोड १८ लाख ९२ हजार छ सय ५६ लगानीमा बतासेका आठ सय बासिन्दाको घरघरमा एक÷एक खानेपानीको धारा उपलब्ध गराउने गरी डेढ वर्षअघि ‘दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना’को काम ठेक्कामार्फत सुरु गरिएको हो ।

सगरमाथा ड्रिलिङ एण्ड कन्स्ट्रक्सन कम्पनीले निर्माणको ठेक्का लिएको आयोजनाको काम ४० प्रतिशत पूरा भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालयका प्रमुख इञ्जिनियर विपुलकुमार लालदासले जानकारी दिनुभयो । “दिप्रुङ लिफ्टिङ खानेपानी आयोजनाको मुख्य संरचना निर्माणको काम सम्पन्न भइसकेको छ, तोकिएकै मितिमा सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छौँ”, उहाँले भन्नुभयो, “आयोजनाको काम सम्पन्न भएपछि बतासेका उपभोक्ता लाभान्वित हुनेछन्, तोकिएकै समयमा आयोजनाको काम सम्पन्न गराउन स्थानीय सरकार तथा उपभोक्ताले सहयोग गर्नुपर्छ ।”

विसं २०७९ भदौमा सम्झौता गरिएको आयोजना विसं २०८१ भदौ १८ गतेभित्र सम्पन्न गर्नुपर्ने दुईपक्षीय सम्झौतामा उल्लेख छ । दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना दिक्तेल–गाईघाट सडकखण्डको भण्डारेघाटस्थित सुनकोशी नदीबाट पम्पमार्फत तानिने पानी लिफ्टिङ गर्दै बतासेमा पु¥याएर वितरण गर्ने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष सुपेन्द्र राईले जानकारी दिनुभयो ।

फिल्टर तथा आरबिटी ट्याङ्की, पाइपलाइन, विद्युत्का खम्बा जडान लगायतको काम तीव्र गतिमा भइरहेको निर्माण कम्पनीका आयोजना प्रमुख सविन राईले जानकारी दिनुभयो । “भण्डारेघाटमा तीन लाख लिटरको एउटा ट्याङ्की र फिल्टरिङ (प्रशोधन) गर्ने ठाउँ निर्माणको काम सम्पन्न भएको छ, सुनकोशीको पानी तान्न पाँच ठाउँ लिफ्ट गरिन्छ, साढे तीन किलोमिटरमाथि मुसुरीडाँडामा ७५ र रातमाटामा ३० हजार लिटरको ट्याङ्की निर्माण गरेर त्यसमा जम्मा गरिएको पानी स्थानीय बासिन्दालाई वितरण गर्ने योजना छ”, उहाँले भन्नुभयो, “मुसरीडाँडामा वितरण लाइनको तीन वटासँगै मुख्य लाइनको ट्याङ्की निर्माण गरिसकिएको छ, रातमाटामा निर्माण गर्ने तयारी गरिरहेका छौँ, वितरण लाइनमा छ ट्याङ्की निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ, चार वटा बनिसके, दुई वटा बाँकी छ, त्यो पनि आगामी वैशाखभित्र सम्पन्न हुन्छ ।”

लिफ्टिङ लाइनमा ५० हजार लिटर क्षमताका छ ट्याङ्की निर्माण गरिने आयोजना प्रमुख राईले जानकारी दिनुभयो । “एउटा बनिसक्यो, एउटा बन्दैछ, बाँकी चार वटा चाँडै सम्पन्न गर्ने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “पाँचवटै मुख्य लाइनको ट्याङ्की रहने ठाउँमा सुरक्षागार्ड घर पनि निर्माण गर्नुपर्नेछ, आयोजना सञ्चालनमा आएपछि त्यहाँ रहने सुरक्षागार्डले रेखदेखको काम गर्छन् ।”

सगरमाथा राष्ट्रिय राजमार्गको भण्डारेघाटस्थित सुनकोशीको पानीलाई एक सय ५० एमएमको फलामे पाइपमार्फत लिफ्ट गरेर निकालिने खानेपानी आयोजनाको काममा तीन समूह कामदार खटाइएको ठेकेदार कम्पनीले जनाएको छ । लिफ्टिङ लाइनमा बिच्छ्याइने फलामे पाइपको काम सम्पन्न गरेर वितरण लाइनको काम सुरु गरिएको आयोजना प्रमुख राईले जानकारी दिनुभयो ।

लिफ्टिङ खानेपानी आयोजनाको पाइपलाइन विस्तारका क्रममा ठेकेदार कम्पनीको लापरबाहीले सडकबीचमै फलामे पाइप बिच्छ्याएको पाइएकाले त्यसलाई उपयुक्त ठाउँमा सार्न निर्देशन दिइएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालयका प्रमुख इञ्जिनियर लालदासले जानकारी दिनुभयो ।

“सुनकोशीको पानी लिफ्टिङ गर्न बिच्छ्याइएको फलामे पाइप सडक आसपासमा देखियो, यसले यातायात सञ्चालनका साथै सडक फराकिलो पार्न समस्या हुने देखियो”, उहाँले भन्नुभयो, “यो सडक कालोपत्र गर्न डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गर्ने काम भइरहेको रहेछ, निर्माणाधीन अवस्थामै रहेको पाइपलाइनले यातायात सञ्चालनका साथै सडक फराकिलो पार्न समस्या हुने देखिएपछि त्यसलाई उपयुक्त ठाउँमा सार्न निर्देशन दिइएको छ, ठेकेदार कम्पनीले त्यो कुरालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।”

मुसुरीडाँडामा कार्यालय रहनेगरी निर्माणाधीन अवस्थामा रहेको लिफ्टिङ खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले रोजगारसमेत पाउने गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले जानकारी दिनुभयो । “हाम्रो गाउँपालिकाको वडा नं ४ मा पर्ने बतासे सुक्खाग्रस्त क्षेत्रमा पर्छ, यहाँ भएका पानीका मुहान विसं २०७२ मा आएको भूकम्पका कारण सबै सुके, अहिले बतासेका स्थानीय बासिन्दा काकाकुल अवस्थामा छन्”, उहाँले भन्नुभयो, “खानेपानी अभावमा केही घर स्थानीय बासिन्दा बसाइँ सरेर अन्यत्र जान थालेका छन्, खानेपानीकै अभावका कारण बसाइँ सरेर अन्यत्र जानुपर्ने बाध्यतामा पुगेका स्थानीय बासिन्दालाई रोक्दै गाउँमै केही गर्ने अवसर दिलाउनु स्थानीय सरकारको दायित्व हो, यो हाम्रो गाउँपालिकामा सञ्चालित सबैभन्दा ठूलो आयोजना हो, यो आयोजना सञ्चालनमा आएपछि यहाँका स्थानीय बासिन्दाले रोजगार पाउने छन् ।”

विद्युत्मार्फत सञ्चालन हुने उक्त लिफ्टिङ आयोजनाका लागि खपत हुने विद्युत् महसुलका विषयमा समेत गाउँपालिकाले विकल्प खोज्ने तयारी गरिरहेको गाउँपालिकाका अध्यक्ष राईले बताउनुभयो । उपभोक्ता आफँैले विद्युत् महसुल तिर्दा महँगो पर्ने भएकाले त्यसका विषयमा कार्यपालिकाको बैठक बसेर निर्णय गरिने जनाइएको छ ।

खानेपानीको समस्या रहेको बतासेमा सुनकोशीको पानी लिफ्टिङमार्फत घरघरमा आउने भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । तीन हजार नौ सय ७७ जनसङ्ख्या रहेको बतासेमा सञ्चालित लिफ्टिङ खानेपानी आयोजना सञ्चालनमा आएपछि फलफूल तथा तरकारी बाली उत्पादन गर्न सकिने जनाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा दिप्रुङ लिफ्टिङ खानेपानी आयोजनासँगै चार लिफ्टिङ खानेपानी आयोजनाको काम भइरहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा दुई र हलेसी तुवाचुङ नगरपालिकामा एउटा लिफ्टिङ खानेपानी आयोजनाको काम सञ्चालन भइरहेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालयका नायब सुब्बा अनिल आचार्यले जानकारी दिनुभयो ।
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।