सूचना प्रविधिको विकास र प्रयोग उच्च प्राथमिकतामा : मन्त्री शर्मा

काठमाडौँ, २२ माघ : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको २०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले सूचना प्रविधिको आधारभूत पूर्वाधार दूरसञ्चार भएको उल्लेख गर्दै भन्नुभयो, “सरकारको डिजिटल नेपालको अवधारणा कार्यान्वयन गर्न अप्टिकल फाइभर विस्तार गरी सूचना महामार्ग निर्माण गर्ने, मुलुकका सबै क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच र गुणस्तर वृद्धि गर्ने तर्फ कम्पनीका कार्यक्रम परिलक्षित छन् ।”

उहाँले टेलिकमबाट वितरण भएका सम्पूर्ण सेवालाई नमुना दूरसञ्चार सेवाका रुपमा विकास गर्नका लागि यस वर्ष १९ जिल्लालाई छनोट गरी पूर्वाधार विस्तार, सेवाको पहुँच, सेवाको गुणस्तर, मर्मत सम्भार, सेवाको वितरण प्रभावकारी बनाउने व्यवस्था मिलाइएको बताउनुभयो । मन्त्री शर्माले भन्नुभयो, “सबै राजमार्गमा पहुँच र गुणस्तरीय सेवा पु¥याउने विषयलाई कार्यक्रममा राखिएको छ । यस वर्षदेखि सस्तो दरमा इन्टरनेटको अन्तर्राष्ट्रिय ब्याण्डविथ सेवा खरिद भएको छ ।” साथै उहाँले हासिल हुन नसकेको बाँकी उपलब्धिको कारण पहिल्याई कमिकमजोरीमा सुधार गरी थप कार्ययोजना र ऊर्जाका साथ एकताबद्ध भएर अगाडि बढ्न आग्रह गर्नुभयो ।

यसबाहेक कम्पनीमा भइराखेका अनुत्पादक खर्च नियन्त्रण गर्न र कम्पनीको हालको अवस्थाअनुसार कम्पनीले आगामी दिनमा लिने पहलमा सुक्ष्म रुपमा अध्ययन गरेर बजारको अवस्था र आगामी दिनमा आइपर्ने कुरालाई ध्यानमा राखी प्रविधि, व्यापार, आर्थिक र सञ्चालन मोडेलबारे दीर्घकालीन व्यावसायिक योजना तयार गर्न उहाँले आग्रह गर्नुभयो ।

मन्त्री शर्माले भन्नुभयो, “समग्र दूरसञ्चारको क्षेत्रमा देखिने बेथिति र अन्योल हटाउन मन्त्रालयले नीतिगत र प्रशासनिक दुबै खालका काम अघि बढाइएको छ । लाइसेन्स खारेज भएका कम्पनीका सम्पत्ति व्यवस्थापन गर्ने कानुन संशोधनदेखि एनसेलको शेयर खरिद बिक्री प्रकरणमा छानबिन गरी प्रतिवेदन लिनेलगायतका काम सरकारले गरेको छ ।” यस वर्ष मात्रै नयाँ फ्रिक्वेन्सी नीति, २०८० जारी गरेर नेपालको विकासमा अत्यावश्यकीय र राष्ट्रलाई महत्वपूर्ण योगदान दिने दूरसञ्चार क्षेत्रलाई थप व्यवस्थित गर्ने गरी कार्यान्वयनमा ल्याएको जानकारी गराउँदै उहाँले अब जतिसक्दो चाँडो डिजिटलाइजेसनमा जानुपर्ने उल्लेख गर्नुभयो ।

“त्यसका लागि डिजिटल पूर्वाधार अनिवार्य शर्त हो । दूरसञ्चार क्षेत्रको विकासले मात्र डिजिटलाइजेसनमा योगदान दिने भएकाले पनि यसलाई बढी प्राथमिकता दिनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो ।

दूरसञ्चारको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यावसायिक क्षेत्रमा देखिएका वर्तमान चुनौतीको असर नेपाल टेलिकममा पनि देखा पर्न थालेको बताउँदै मन्त्री शर्माले यस्तो विषम परिस्थितिमा कर्मचारी, शेयर लगानीकर्ता, कम्पनी सबैको हित रक्षा गर्दै कम्पनी सञ्चालन गर्नुपर्ने अवस्था उल्लेख गर्नुभयो । साथै उहाँले कर्मचारीको सेवा सुरक्षालाई व्यवस्थित गर्न व्यवस्थापनबाट पहलकदमी भएको उल्लेख गर्र्दै योगदानमा आधारित पेन्सन योजना कार्यान्वयनमा गएको बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयलका सचिव एवं टेलिकमका अध्यक्ष रामकृष्ण सुवेदीले टेलिकमले राष्ट्र र जनताका लागि पु¥याएको सेवाको सरहाना गर्दै प्रतिपर्धी युगमा आफ्ना सेवा थप गुणस्तरीय र सुलभ बनाउने चुनौती रहेको बताउनुभयो । साथै उहाँले टेलिकमले नाफासँगै सेवालाई पनि थप गुणस्तरीय बनाउँदै लैजानुपर्ने बताउँदै आफ्ना सेवाको विस्तारमार्फत सरकारको डिजिटल नेपालको अवधारणमा सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।

सचिव सुवेदीले टेलिकमलाई आन्तरिक कार्यवातावरणलाई चुस्त बनाउन आग्रह गर्दै नेपाल सरकारका तर्फबाट टेलिकमललाई आवश्यक सहयोग हुने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

नेपाल दूरसञ्चार प्राधिकरणका कार्यबाहक अध्यक्ष नवराज अधिकारीले नेपालको दूरसञ्चार क्षेत्रको विकासमा टेलिकमको अहम भूमिका रहेको उल्लेख गर्दै प्रविधिमा छिटोछिटो हुने विकाससँगै देखा परेका चुनौतीको सामना गर्न तयार रहिरहनुपर्ने बताउनुभयो । उहाँले यसका लागि क्षमता विस्तारलगायत कामको आवश्यकतामा जोड दिँदै नियामक निकाय दूरसञ्चार प्राधिकरणका तर्फबाट हुने आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल)ले संस्थाका गतिविधि र भावि कार्यक्रमबारे जानकारी गराउँदै कठिन परिस्थितिमा पनि कम्पनीका सेवालाई अविछिन्न रुपमा गुणस्तर कायम राख्दै सञ्चालन गर्नका लागि सरोकारवाला सबैबाट प्राप्त सहयोग र सद्भावका लागि आभार व्यक्त गर्नुभयो ।

कम्पनीको कर्मचारी तर्फका सञ्चालक समिति सदस्य शङ्कर लामिछानेले सरकारको नीतिगत तथा अन्य आवश्यक सहयोग रहिरहेमा टेलिकमले सदैव गुणस्तरीय र सुलभ सेवा प्रदान गर्न सफल भइरहने उल्लेख गर्नुभयो । सो अवसरमा विभिन्न कर्मचारीलाई दीर्घसेवा पदकबाट सुशोभित गरिएको थियो भने टेलिकम क्षेत्रको विविध विषयलाई समेटेर प्रकाशन गरेको स्मारिका विमोचन गरिएको थियो ।
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।