गाईघाटमा मेडिकल कलेज सञ्चालन गरिने

गाईघाट (उदयपुर), २७ माघ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले त्रियुगा नगरपालिकाको गाईघाटमा मेडिकल कलेज सञ्चालनका लागि अनुमति प्रदान गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

आज बिहान नगरपालिकाको कार्यक्रम हलमा आयोजित कार्यक्रममा मन्त्री राईले वर्तमान सरकारले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रको विकासमा जोड दिइरहेको भन्दै गाईघाटमा मेडिकल कलेज सञ्चालनका लागि सङ्घीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो । जिल्लामा मेडिकल कलेज सञ्चालनका लागि स्थानीयले पटकपटक सरकारसँग माग गर्दै आएका छन् ।

मन्त्री राईले भन्नुभयो, “लामो समयदेखि उदयपुरमा एउटा मेडिकल कलेज सञ्चालन गर्ने विषयमा यसअघिका सरकारलाई पनि यहाँका सरोकारवाला निकाय तथा नागरिकले माग ज्ञापन बुझाउनुभएको थियो । यस विषयमा वर्तमान सरकारले अनुमति प्रदान गर्नेछ ।” स्थानिय सरकारले उचित स्थानमा कलेज सञ्चालनका लागि जग्गा उपलब्ध गराए सरकार स्वीकृति प्रदान गर्न तयार रहेको उहाँको भनाइ थियो ।

वर्तमान सरकार शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायत क्षेत्रको विकासमा जोड दिइरहेको मन्त्री राईले बताउनुभयो । “यहाँका मेडिकल अध्ययन गर्न चाहने विद्यार्थीका लागि एउटा मेडिकल कलेज आवश्यक छ । यसमा शिक्षा मन्त्रालयको तर्फबाट कलेज स्थापना गर्न सरकारले सहयोग गर्नेछ”, उहाँले भन्नुभयो ।

देशभरि छ वटा मेडिकल कलेज सञ्चालनका लागि सरकारले स्वीकृति प्रदान गर्ने तयारी गरिरहेको भन्दै मन्त्री राईले स्थानीय सरकारले उचित स्थानमा जग्गा उपलब्ध गराएपछि सरकारले स्वीकृति प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख वसन्त कुमार बस्नेतले यस क्षेत्रमा कम्तिमा एउटा मेडिकल कलेज आवश्यक रहेकाले सोहीअनुसार जग्गा उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिनुभयो । एक महिनाभित्र जग्गा निर्धारण गरी कलेज स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारी गरिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

सगरमाथा क्षेत्रअन्तर्गतका खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर तथा भोजपुर आसपासका विद्यार्थीका लागि कम्तिमा एउटा मेडिकल कलेज आवश्यक रहेकाले सोहीअनुसार आवश्यक कागजात र प्राविधिक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा सहयोगको पहल गरिने नगरप्रमुख बस्नेतले बताउनुभयो ।

त्रियुगामा मेडिकल कलेज सञ्चालन भए सगरमाथा क्षेत्रका विद्यार्थीको लाभान्वित हुने नगरपालिकाकी उपप्रमुख महेश्वरी राईले बताउनुभयो । यहाँका विद्यार्थी मेडिकल अध्ययनका लागि करोडौँ खर्च गरेर अन्यत्र जानुपर्ने बाध्यता हट्ने उहाँको भनाइ थियो ।

आगामी चैत्रभित्र नगरपालिकाले जग्गा उपलब्ध गराएर डिपीआर तयार गरेमा आउँदो आर्थिक वर्षमा कलेजका लागि भवन निर्माण गरिने योजना रहेको नगरप्रमुख बस्नेतले जानकारी दिनुभयो ।
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।