हाइकिङ मार्फत नुवाकोटको इतिहासलाई पर्यटनसँग जोड्दै हाइकर्स क्लब

वासुदेव पौडेल/गण्डकी, २९ माघ : स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने नाराका साथ हाइकिङका माध्यमबाट पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो ४३ औँ शृङ्खलाका लागि स्याङ्जाको धार्मिक एवं ऐतिहासिकस्थल नुवाकोटलाई रोजेको छ । पोखरा र आसपासका विशेषगरी ग्रामीण क्षेत्रका पर्यटकीयस्थललाई हाइकिङका माध्यमबाट प्रवद्र्धन गर्दै आइएकोमा यस पटक स्याङ्जाको नुवाकोट कालाभैरव मन्दिरलाई लक्षित गरिएको हो । क्लबका अध्यक्ष कृष्ण रानाभाटका अनुसार यस संस्करणमा पोखराको छोरेपाटन हुँदै दोपहरे पुगी त्यहाँबाट हाइकिङ गर्दै कृष्ति मट्टिखान, दुवाकोटबाट नुवाकोट कालाभैरव मन्दिरसम्म पुगिएको हो ।

“यस क्षेत्रकै प्राचीन इतिहास रहेर पनि प्रवद्र्धन हुन नसक्दा अपेक्षित रुपमा पर्यटकीय उपयोग हुन नसकेको वास्तविकतालाई दृष्टिगत गरी हामीले ४३ औँ संस्करणका लागि स्याङ्जा नुवाकोटलाई रोजेका हौँ”, उहाँले भन्नुभयो, “पर्यटकीय राजधानी घोषणा हुँदै गरेको पोखराको पर्यटकीय विकाससँगै आसपासका पर्यटकीय गन्तव्यको पनि प्रवद्र्धन अपरिहार्य छ ।” पोखरा नजिकैको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थलमध्येको एक स्याङ्जा नुवाकोटस्थित कालाभैरव मन्दिर रहेको उहाँले बताउनुभयो । इतिहास अनुसार पन्ध्रौँ शताब्दीको प्रारम्भतिर विसं १५÷१० मा मिन्चाखान (वास्तविक नाम अजय खान) ले स्याङ्जा नुवाकोट राज्यको स्थापना गरेका थिए ।

तत्कालीन समयदेखि नै एउटा महत्वपूर्ण शक्तिपीठका रुपमा कालाभैरवको पूजाअर्चना गर्दै आइएको पाइन्छ । तत्कालीन समयमा यो स्थल नुवाकोट राज्यका रुपमा चासो र चर्चा कमाएको थियो । यो ठाउँ स्याङ्जा जिल्लाको उत्तरी भेगमा सदरमुकामबाट करिब १५ किमी उत्तर फेदीखोला गाउँपालिका वडा नं २, पुतलीबजार नगरपालिका–४, ५ को सङ्गममा समुद्री सतहबाट करिब एक हजार नौ सय मिटरको उचाइमा रहेको छ । तत्कालीन राज्यको शिरमा रहेको कालाभैरवलाई अत्यन्त श्रद्धाभक्तिका साथ त्यही समयदेखि नै पूजाआजा गर्दै आइएको श्री कालाभैरव पुरातात्विक मन्दिर व्यवस्थापन समितिका सचिव शिवप्रसाद गौतमले जानकारी दिनुुभयो । उहाँका अनुसार कालाभैरव आफैँ उत्पत्ति भएका हुन् । पहिला ढुङ्गा, माटोको ढिस्कोमा कालाभैरवको पूजा गरिन्थ्यो ।

विसं २०६८ अघिसम्म सानो पानीको ट्याङ्की जस्तो मन्दिर बनाएर त्यसमा पूजा गर्ने गरिएकामा त्यसयता भने व्यवस्थित मन्दिर निर्माण गरी पूजाआजाको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुुभयो । तत्कालीन शासकले १५ औँ शताब्दीतिर यस स्थानमा कालाभैरवका साथै सुनकेशरीदेवी, कालिका र चण्डीकादेवीको मूर्ति स्थापना गरी पूजाआजा गर्ने गरेको पाइन्छ । धार्मिक एवं पुरातात्विक महत्वको नुवाकोट कालाभैरवको संरक्षण र विकाससँगै यसको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्नु अपरिहार्य भएको सचिव गौतमको भनाइ छ ।

कालाभैरवको दर्शन गरेमा मनोकाङक्षा पूरा हुने जनविश्वासका आधारमा स्याङ्जा र कास्की जिल्लाका साथै विभिन्न स्थानबाट भाकलसहित पूजाआजा गर्न आउने गरेको यहाँका स्थानीयवासी बताउँछन् । प्राचीनकालदेखि नै कालाभैरवको मूर्ति (शिला) छोपेर राखिएको छ । उक्त शिलालाई हेर्न हुँदैन भन्ने जनविश्वास रहेको छ ।
कालाभैरवको पूजाविधि प्राचीनकालदेखि नै निर्धारण गरिएको छ । तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरको पालामा विसं १९९४ वैशाख ३१ गते बिहीबार लेखिएको पूजाविधि अहिले पनि सुरक्षित रहेको बताउँदै सचिव गौतमले त्यही विधि अनुसार तीन सय ६५ दिन नै कालाभैरवको पूजाआजा हुने गरेको जानकारी दिनुुभयो ।

इतिहासमा उल्लेख भएअनुसार तत्कालीन स्याङ्जा नुवाकोट राज्यको सिमाना पूर्वमा कृस्ति, निर्मलपोखरी, भरतपोखरी, कास्कीकोटसम्म, पश्चिममा पर्वतको लिमिथाना, देउपुर, बाजुङ, दुर्लुङ, उत्तरमा कास्कीको केही भाग र दक्षिणमा सतौँ, गह्रौँ, भीरकोटसम्म फैलिएको थियो । तत्कालीन स्याङ्जा नुवाकोट राज्यको महत्वपूर्ण शक्तिपीठ रहेका कारण तत्कालीन समयदेखि नै यस धार्मिकस्थलमा राज्यले चर्चेका भू–भागबाट दर्शनार्थी आउने गरेको सहजै अनुमान गर्न सकिन्छ ।

यहाँको इतिहासलाई पर्यटनसँग जोड्न सकेमा धेरै स्ङ्ख्यामा धार्मिक पर्यटक यहाँ भित्राउन सकिने देखिन्छ । यहाँबाट देखिने माछापुच्छ«े, अन्नपूर्ण लगायतका हिमाली दृश्यले जो कोहीलाई लोभ्याउने गरेको छ । इतिहासको संरक्षण र संवद्र्धनको अभावमा धेरै ऐतिहासिकस्थलको गरिमा र महत्व सङ्कटमा पर्दै गएको वर्तमान अवस्थामा १५ औँ शताब्दीदेखि अस्तित्वमा रहेको स्याङ्जा नुवाकोट राज्यसहित यहाँका कालाभैरवलगायतका धार्मिक एवं ऐतिहासिकस्थलको संरक्षण र विकास अपरिहार्य देखिएको छ ।

स्थानीय तहबाट यहाँको प्रवद्र्धनलाई जोड दिइएको फेदीखोला गाउँपालिका–२ का वडाध्यक्ष अविलाश गुरुङले बताउनुुभयो । प्रत्येक वर्षको फूलपाती बढाइँमा गाउँपालिकाले सहयोग गर्दै आएको जानकारी दिँदै उहाँले यहाँस्थित टुँडिखेलको नेपाली सेनाले संरक्षण र विकासमा सहयोग गरिरहेको बताउनुभयो ।

पोखराबाट नजिकैको गन्तव्य भएका कारण नुवाकोट कालाभैरव एक दिवसीय हाइकिङका लागि उपयुक्तस्थल भएको हाइकर्स क्लबका सदस्य पितम सेनले बताउनुुभयो । छोटो दुरीमा रहेका गन्तव्यलाई हाइकिङका माध्यमबाट प्रवद्र्धन गर्ने क्लबको योजना अनुसार प्रत्येक महिनाको अन्तिम शनिबार विभिन्न गन्तव्यको प्रवद्र्धन गर्दै आइएको उहाँले जानकारी दिनुुभयो । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।