कोशी प्रदेश आर्थिक मामिला तथा योजना राज्यमन्त्री थापालाई गृह जिल्ला धनकुटामा स्वागत
धनकुटा । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना राज्यमन्त्री ईन्दिरा थापालाई आज गृह जिल्ला धनकुटामा स्वागत गर्दै बधाई ज्ञापन गरिएको छ ।
नेपाली कांग्रेस धनकुटाका पूर्व क्षेत्रिय सभापति समेत रहनु भएका मन्त्री थापालाई नेपाली कांग्रेस धनकुटाले कार्यक्रमको आयोजना बधाई तथा शुभकामना ज्ञापन गरेको जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो ।
कार्यक्रममा आर्थिक मामिला तथा योजना राज्यमन्त्री थापाले बधाई ग्रहण गर्दै धनकुटाको विकास र समृद्धीको लागि आफ्नो पहिलो प्राथमिक्ता रहने बताउनुभयो । उहाँले धनकुटेली जनताले देख्ने, थाहा पाउने र सम्झिरहने खालको विशेष योजनाहरु संचालन गरी जिल्लाको विकास गर्ने वताउनु भयो ।
पार्टीका धनकुटाका उपसभापति सुनिल कुमार डंगोलको अध्यक्षतमा सम्पन्न कार्यक्रममा महासमिति सदस्य आनन्द सन्तोषी राईले धनकुटा जिल्लाको तर्फबाट बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिदै जिल्लालाई पुनर्जीवित गर्ने खालका विशेष योजना ल्याएर गौरव र अस्तित्व कायम राख्न आग्रह गर्नु भयो ।
कार्यक्रममा स्वागत मन्तव्य नगर सभापति नरेश श्रेष्ठले राख्नु भएको थियो । मन्त्री थापाले आजै धनकुटाको शहिद भीम नाराण श्रेष्ठको शालिकमा माल्यपर्ण गरी सम्मान गर्नु भएको थियो भने शहिद भीम नाराण श्रेष्ठको घरमा भई सहिद पत्नी लक्ष्मी देवी श्रेष्ठ शहिद परिवारसंग भेटभाट गर्नु भएको थियो ।
मन्त्री थापालाई निर्वाचित प्रतिनीधि, पार्टीका नेता कार्यकर्ता सहित पत्रकार,गायक लगायतले माला, खदा लगाई दिई बधाई ज्ञापन गरेका थिए ।


