धनकुटामा एकल महिलाहरुका लागि प्रदेश स्तरिय ढाका बुनाई तालिम शुरु
सर्मिला राई/धनकुटा,बैशाख ३ । आजबाट धनकुटामा एकल महिलाहरुका लागि प्रदेश स्तरिय ढाका बुनाई तालिम शुरु भएको छ ।
मानव अधिकारका लागि महिला एकल महिला समूह कोशी प्रदेशको आयोजना तथा प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा कोशी प्रदेशका १४ वटै जिल्लाका एकल महिलाको सहभागिता हुने गरि तालिम शुरु भएको हो ।
`वैवाहिक स्थितिका आधारमा विभेद नगरौं’ ‘आत्मा निर्भरको आधार,हातमा सीप आत्मामा जांगर´ भन्ने नाराका साथ एकल महिलाहरुलाई एक महिने प्रशिक्षक प्रशिक्षण ढाका बुनाई तालिम शुरु भएको हो ।
तालिमको उद्घाटन समुहका कोशी प्रदेश अध्यक्ष मिना तुम्बा राईको अध्यक्षतामा सञ्चालित कार्यक्रमको वीच संविधानसभा सदस्य अञ्जना ताम्लीले गर्नु भएको थियो ।
तालिम उद्घाटन गर्दै उहाँले लक्षित समुदायको लागि आएका बजेट विषयान्तर गर्ने गरिएको बताउनु भयो ,जसका कारण लक्षित वर्ग समुदाय बजेट मार्फत वञ्चित हुन परेको वहांले बताउनु भयो । उहाँले जसका लागि छुट्याईएको वजेट हो,सोवजेट लक्षित समुदायले पाउन पर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा समुहका अध्यक्ष राईले एकल महिलाहरुलाई थप जागरुक हुन आग्रह गर्दै तालिममा सक्रियताका साथ सहभागी हुन आग्रह गर्नुभयो । कार्यक्रममा समुहका प्रदेश काेषाध्यक्ष शान्ता अधिकारी,धनकुटा जिल्ला अध्यक्ष ईश्वरी श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । सञ्चालन समुहका प्रदेश वरिष्ठ उपाध्यक्ष दीपा आचार्यले गर्नुभएको थियो ।
एक महिना सम्म सञ्चालन हुने तालिममा काेशी प्रदेशका धनकुटा सहित तेह्रथुम,संखुवासभा,साेलुखुम्बु,झापा,माेरङ,सुनसरी १४ वटै जिल्लाका एक-एक जना एकल महिलाहरुले सहभागिता जनाएका छन् । यसअघि आधारभुत तालिम लिईसकेकाहरुलाई प्रशिक्षक बन्न सक्ने गरिको तालिम दिईने आयोजकले जनाएको छ । तालिमको सहजिकरण प्रशिक्षक पुष्पा लिम्बुले गर्नुहुनेछ ।






