पाख्रीबास ९ मा महिलाहरुलाई नेतृत्व विकास सम्बन्धि कार्यक्रम सम्पन्न
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ९ मा महिलाहरुलाई नेतृत्व विकास सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुलाई नेतृत्वमा पनि सक्षम गराउने उद्देश्यले धनकुटा मिडिया हाउसको आयोजना तथा पाख्रीबास वडा नं ९ को आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरेको थियो ।
तालिममा नेतृत्व विकास , उद्घोषण, भाषणकला , माईनट तथा प्रपाेजल ,निवेदन लेखन , लगायत विषयमा कार्यक्रमका प्रशिक्षक जेपी भुजेलले प्रशिक्षण दिनु भएको थियो । उक्त तालिममा वडा नं ९ का ४० जना महिला दिदीबहिनीको सहभागीता रहेको थियो ।
कार्यक्रम धनकुटा मिडियामा हाउसका प्रबन्धक विदुर खवासको अध्यक्षता , पाख्रीबास वडा नं ९ का वडा अध्यक्ष सम्झना आलेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि आलेले कार्यक्रममा बोल्नु हुदै वडा भित्रका महिलाहरुलाई सक्षम , सबल र सशक्त बनाउनका लागि आफूहरुले विभिन्न कार्यक्रम तथा तालिम सञ्चालन गरिरहेको जानकारी दिनुभयो साथै उहाँले महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउनका लागि विभिन्न सीप मुलक तालिम , नेतृत्व विकास लगायतका तालिमहरु सञ्चालन गर्ने भावी योजना रहेको बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य तारा देवी (सीता) ढकाल, वडा सदस्य पहलमान घिसिङ , वडा सदस्य मदन आले , वडा सदस्य डम्बर कुमारी दर्जी ,वडा सचिव अनिल तिम्सिना , प्रशिक्षक विनोद घिमिरे लगायतको उपस्थित थियो ।



