धनकुटाको पुण्य माबि बन्यो बिज्ञान सामाग्री निर्माणको बिजेता
नारायण कुमार राई/धनकुटा,१ असोज । धनकुटाको चौबिसे गाउँपालिकाको राजारानी स्थित नमुना बिद्यालय पुण्य मा.बि.बिज्ञान सामाग्री निर्माणको बिजेता बनेको छ ।
चौबिसे गाउँपालिकाको सहयोग तथा सो मा.बि.को आयोजनामा आयोजित १२ औ राष्ट्रिय बिज्ञान दिवसको अवसरमा आयोजक बिद्यालयले उक्त उपाधी जितेको हो ।
पालिकामा रहेका ११ मध्ये सहभागी नौ मा.बि.हरुलाई पछि पार्दै मा.बि.ले बनाएको स्मार्ट टनेल हाउस प्रथम भएको हो ।
त्यस्तै सिंहदेवी मा.बि.चौकी भञ्ज्याङले बनाएको हाईड्रो ईलेक्ट्रिसिटी दोस्रो र बुधक मा.बि.मौनाबुधुकले बनाएको स्मार्ट सिटी तेस्रो भएको छ ।
बिजेता पुण्य मा.बि.ले नगद १० हजार,सिंह देवीले सात हजार,बुधुक मा.बि.ले नगद पाँच हजार सहित प्रमाण–पत्र जितेको छ ।
बिजेता बिद्यालयहरुलाई गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ ,प्रमुख प्रशासकीय अधिकृत पर्शुराम दाहाल र लेखा प्रमुख सोभित तुम्बाले पुरस्कार प्रदान गर्नुभएको थियो ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लोक बानियाको अध्यक्षतामा आयोजित कार्यक्रमको अवसरमा पुण्य मा.बि.ले बिभिन्न तीन बिषयका निर्माण सामाग्रीहरुको प्रदर्शनी गरेको थियो ।
बिद्यालयले आफ्नो एकल प्रयासमा बिज्ञान तथा प्रबिधि,गणित र अंग्रेजी बिषयका ५० वटा बिषयमा प्रदर्शनी गरेको बिधालयका सहप्राध्यापक युवराज कटुवालले जानकारी दिनुभयो ।



