धनकुटा नगरपालिका ८ को नयाँ प्रशासनिक भवन उद्घाटन
नारायण कुमार राई/धनकुटा,३ असोज । संबिधान दिवसको अवसर पारेर धनकुटा नगरपालिका वडा नं.८ को नव निर्मित कार्यालय भवनको आज उत्घाटन गरिएको छ ।
नेपाल सरकारको कुल ५४ लाख लागतमा सान्ताङको स्वारिबा टोलमा निर्मित २ कोठे भवनको नगरपालिकाका मेयर चिन्तन तामाङले उत्घाटन गर्नुभएको छ ।
भवन उत्घाटन गर्दै तामाङले आठपरिया समुदायको आर्थिक,सामाजिक र साँस्कृतिक उत्थानमा आफू गम्भिर भएको बताउनुभयो ।
यस नव निर्मित भवन समेत यसैको निरन्तरता रहेको पनि यहाँको भनाई थियो ।
उहाँले आठपहरिया समुदायको हितका लागि फुस्को छाना रहित घर,दृष्टि बन्धक मुक्त कार्यक्रम,आठपहरिया संग्राहलय निर्माण,घरबास सेवा,लिफिटिङ खानेपानी लगाएत जिवीको पार्जन कार्यक्रमकमहरु निरन्तरतामा रहेको जानकारी दिनुभयो ।
‘कृषि तथा पशुपालनमा लाग्नुहोस,त्यसले आम्दानी नदिउन्जेल सम्म जीवनयापन खर्च नगरले ब्यबस्था गर्नेछ’–तामाङले भन्नुभयो ।
भवन उत्घाटन सैगै आजै टेकुनाला गाउँको चैनपुरेमा सेवा केन्द्रको समेत मेयर तामाङले उत्घाटन गर्नुभएकोछ ।
यस अघि भवन अभावमा वडाले धनकुटा नगरपालिका ७ स्थित बसपार्कमा रहेको ब्यपारिक भवनबाट सेवा दिईरहेको थियो ।
उत्घाटन कार्यक्रममा भवन बनाउन एक रोपनी जमिन दान गर्नुहुने स्वारिबाका राजबहादुर राई र उहाँको श्रीमती रत्नमायाँ राईलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
नव निर्मित भवन र सेवा केन्द्रका सहयोगले वडाका नागरिकहरुलाई छिटो तथा सहज रुपमा सेवा प्रवाह गर्न सहयोग पुग्ने वडा अध्यक्ष रसबहादुर राईले जानकारी दिनुभयो ।


