धाराहरू सुक्दै, संकटग्रस्त टोलमा निःशुल्क शुद्ध पानी वितरण सुरु

रौतहट, ११ साउन। लामो समयदेखि तराई–मधेसमा वर्षा नपरेपछि उत्पन्न भएको सुख्खा परिस्थितिले रौतहट जिल्लाको बिभिन्न स्थानियतहसँगै चन्द्रपुर नगरपालिका–२ मा खानेपानी संकट निम्त्याएको छ। 

चन्द्रपुर–२ स्थित स्थानिय धाराहरू सुक्दै गएपछि बासिन्दा पानीका लागि चरम अभावमा परेका हुन्।

संघीय सरकार तथा मधेस प्रदेश सरकारले मधेस क्षेत्रलाई औपचारिक रूपमा सुखाग्रस्त घोषणा गरेका छन्। यस संकटका बेला चन्द्रपुर नगरपालिकाले अक्सफाम नेपाल र ग्रामीण विकास केन्द्र (आरडिसी) नेपालको सहकार्यमा निःशुल्क शुद्ध पानी वितरण कार्यक्रम सुरु गरेको हो।

कार्यक्रमको पहिलो चरणमा चन्द्रपुर–२ अन्तर्गतको जोगी टोलमा शुद्ध पानी वितरण सुरु गरिएको हो। जोगी टोलका ३० भन्दा बढी घरपरिवार स्थानीय जलस्रोतबाट पूर्णतः वञ्चित भएकाले ती परिवारलाई प्राथमिकतामा राखी शुद्ध पानी वितरण गरिएको ग्रामीण विकास केन्द्र नेपालकी फिल्ड सुपरभाइजर ज्योती फुयालले न्युजकारखानालाई जानकारी दिइन्।
नगरप्रमुख सञ्जय कुमार काफ्लेको विशेष पहलमा सुरु गरिएको यो अभियान अक्सफाम नेपाल तथा आरडिसी नेपालको संयुक्त साझेदारीमा ‘पूर्वानुमानमा आधारित आपतकालीन प्रतिकार्य परियोजना’ अन्तर्गत सञ्चालन गरिएको हो।

नगरप्रमुख काफ्लेले भने, “संकटकालीन अवस्थामा जनताको आधारभूत आवश्यकता पुरा गर्नु नगरपालिकाको पहिलो दायित्व हो। चन्द्रपुरमा पानीको अभावले थप समस्या नहोस् भनेर हामीले तत्काल योजना कार्यान्वयनमा ल्याएका हौँ।”
जोगी टोलमा सफल परीक्षण वितरणपछि कार्यक्रमलाई वडाभरिका अन्य संकटग्रस्त टोलहरूमा विस्तार गर्ने योजना बनाइएको छ। कार्यक्रम संयोजक चिरञ्जीवी महतोका अनुसार आगामी दिनमा थारुटोल, बलम्पाकी टोल, सिमनी टोल, नर्सरी टोल, कार्की टोल, कलटोल, रैया टोल, सिरानटोल र कछरिया टोलमा पनि शुद्ध पानी वितरण गरिनेछ। ती टोलहरूमा हजार लिटर क्षमताका पानी ट्याङ्कीहरू राखी नियमितरूपमा पानी आपूर्ति गरिनेछ।

ग्रामीण विकास केन्द्र नेपालका अध्यक्ष पारस हुसेनका अनुसार चन्द्रपुरबाहेक रौतहट जिल्लाका अन्य पालिकाहरूमा पनि यस्तै संकट छ। उनले भने, “हामी अहिले चन्द्रपुरमा काम गर्दैछौं। स्रोतको व्यवस्थापन र सहकार्यमार्फत जिल्लाभर नै कार्यक्रम विस्तार गर्ने तयारीमा छौँ।”

यो अभियानले आपतकालीन अवस्थाको व्यवस्थापनमा स्थानीय सरकार र गैरसरकारी संस्थाबीचको सहकार्य कति प्रभावकारी हुनसक्छ भन्ने स्पष्ट उदाहरण प्रस्तुत गरेको छ। लगातारको सुख्खाले सबैभन्दा बढी असर पिँधमा रहेका समुदायमा परेकाले उनीहरूलाई शुद्ध पानीजस्ता आधारभूत सेवामा पहुँच पुर्‍याउनु राज्यको दायित्व हो भन्ने कुरा पनि अभियानले देखाएको छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖