झापाको बिर्तामोडमा अज्ञात समूहको हतियार प्रहारबाट एक युवक घाइते
झापा । झापाको बिर्तामोड विराटपोखरमा हिजो राति अज्ञात समूहको हतियार प्रहारबाट एक युवक घाइते भएका छन्।
प्रहरीका अनुसार हिजो राति करिब ११ बजे घर फर्किरहेका सैनिक बजार बस्ने ३९ वर्षीय पुरण राई, ३७ वर्षीय दिनेश देवान र २९ वर्षीय सञ्जीव बराललाई पछाडिबाट आएका समूहले आक्रमण गरेको थियो। सो क्रममा पुरण राईको टाउकोमा धारिलो हतियार प्रहार गरिएको बताइएको छ।
घाइते राईलाई उनका साथीहरुले तत्कालै बिर्तासिटी अस्पताल पुर्याएका छन्। टाउकोमा गहिरो चोट लागेका उनको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।
घटनापछि प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी सहायक निरीक्षक पदम विष्टको कमाण्डमा टोली खटिएको छ। घटनामा संलग्नहरुको पहिचान र पक्राउका लागि खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


