नेपालका पहाडी तथा तराई भूभागमा वर्षा,उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात
काठमाडौ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण पश्चिम नेपालका पहाडी तथा तराई भूभागमा वर्षा भइरहेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यस प्रणालीको सबैभन्दा बढी प्रभाव सुदूरपश्चिम प्रदेशमा देखिएको छ। बादल क्रमशः पूर्वतर्फ सर्दै कोशी प्रदेशसम्म पुगे पनि पूर्वतिर जाँदा यसको प्रभाव कमजोर हुँदै गएको विभागले जनाएको छ।
मंगलबार साँझदेखि सुदूरपश्चिमका विभिन्न जिल्लामा हल्का वर्षा सुरु भएको थियो भने रातिदेखि वर्षाको मात्रा र क्षेत्र दुवै बढेको हो। पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा डडेलधुरामा मापन गरिएको छ, जहाँ २९.६ मिलिमिटर पानी परेको छ। पछिल्लो एक घण्टाको अवस्थाअनुसार सुदूरपश्चिममा वर्षा केही कम हुँदै गएको छ भने कर्णाली र लुम्बिनी प्रदेशका जिल्लामा वर्षा बढी भइरहेको छ।
विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार पानी पार्ने बादल छिटो–छिटो पूर्वतिर सर्दै गएको छ, जसका कारण पूर्वी पहाडी जिल्लासम्म वर्षा हुने सम्भावना छ। उनका अनुसार काठमाडौं उपत्यकामा पनि आज दिउँसो हल्का वर्षा हुन सक्ने देखिएको छ। उपत्यकामा वर्षा एकनासको नहुने र आज घाम लाग्ने सम्भावना न्यून रहेको उनले बताए।
वरिष्ठ मौसमविद् पौडेलका अनुसार मधेश प्रदेश र झापासहितका केही पूर्वी तराईका जिल्ला बाहेक देशका अधिकांश भागमा हल्का वर्षा हुन सक्छ। साथै मनाङ, मुस्ताङलगायत पूर्वी पहाडी जिल्लाका हिमाली भेगमा मध्यम खालको हिमपात हुने सम्भावना रहेको छ। मौसम प्रणालीको प्रभाव आज साँझदेखि क्रमशः कम हुँदै जाने र बादल हटेसँगै मौसममा सुधार आउने पूर्वानुमान गरिएको छ।


