झापा गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु
झापा । झापा गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ। झापा गाउँपालिका वडा नं. २ सडकबारी निवासी ७१ वर्षीय गणेश कुमार भण्डारीको मृत्यु भएको हो।
गत पुस १६ गते अपराह्न ४:३५ बजेको समयमा हुलाकी सडकखण्डमा पर्ने सडकबारीमा हुलकाी सडकखण्डमा गौरीगञ्जबाट झापाबजारतर्फ आउँदै गरेको प्र १-०२-०५४ प ९३९३ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका भण्डारीको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा उहाँको माघ १९ गते बिहान ७:१५ बजे निधन भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न मोटरसाइकल र त्यसका चालक मोरङको विराटनगर उपमहानगरपालिका-१४ बस्ने २८ वर्षीय हेमन्त कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाएको छ। मृतक भण्डारीको शवलाई कानुनी प्रक्रिया पूरा गरी सोही दिन दिउँसो १:१५ बजे पोस्टमार्टमका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।


