इटहरीमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ प्रगति टेक्स्टायल अगाडि कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्र खड्काका अनुसार गएराती बेलुका करिब ९:३० बजे विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १-००१-००१ च ७५०५ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ४७ वर्षीय गिरिजानन्द शाह गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि कोशी अस्पताल लगिएकोमा उपचारकै क्रममा राति करिब ११:२० बजे मृत्यु भएको सूचना अधिकारी खड्काले जानकारी दिए।
दुर्घटनामा कार चालक इटहरीका २२ वर्षीय बिकी विश्वकर्माको हातमा चोट लागेको छ उनको बिराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पैदलयात्रीलाई ठक्कर दिएपछि सोही कार अनियन्त्रित भई इटहरीतर्फ आउँदै गरेको प्रदेश १-०२-००३ ह ४८९८ नम्बरको ट्याम्पुलाई समेत ठक्कर दिएको थियो। ट्याम्पु चालक वसन्त घिसिङ र ट्याम्पुमा सवार प्रेमकुमार गुरुङ घाइते भएका छन् ।
घाइते दुवैजनाको बिराट टिचिङ हस्पिटलमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

