जसपा खोटाङ अध्यक्ष नै श्रम संस्कृति पार्टीमा प्रवेश
खोटाङ । चुनावी कमाण्डर बनेका जिल्ला अध्यक्ष नै श्रम संस्कृति पार्टीमा प्रवेश गरेपछि जनता समाजवादी पार्टी (जसपा) खोटाङमा हलचल भएको छ ।
अध्यक्ष निर्मल राईको नेतृत्वमा ३७ जनाको समूह हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेको छ । श्रम संस्कृति पार्टीमा प्रवेश गर्नेहरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडाध्यक्ष मुगाधन राई, जिल्ला सदस्य राजन राई, खोटाङ–काठमाडौं सम्पर्क समितिका पूर्वअध्यक्ष प्रिथीराज राई लगायत छन् ।
श्रम संस्कृति पार्टीमा प्रवेश गरेका जसपा जिल्ला अध्यक्ष निर्मल राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका पूर्व वडाध्यक्ष हुन् । यस्तै, मुगाधन लगातार दुई पटक वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन् ।
फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तरगत चुनावी अभियान चलिरहेकाबेला जिल्ला अध्यक्ष नै अर्को पार्टीमा प्रवेश गरेपछि जसपाका प्रत्यक्ष उम्मेदवार राकेश राई अप्ठेरोमा परेका छन् । श्रम संस्कृति पार्टीले खोटाङमा आरेन राईलाई प्रत्यक्ष उम्मेदवार उठाएको छ ।


