उदयपुरबाट धनुषा हुँदै भारततर्फ गाँजा तस्करी, साढे तीन क्विन्टल गाँजासहित टिपर नियन्त्रणमा, चालक फरार
धनुषा । लागुऔषध तस्करीविरुद्ध प्रहरीको अभियानबीच धनुषामा ठूलो परिमाणमा गाँजा बरामद भएको छ।
नेपाल प्रहरी ले जनकपुरधाम उपमहानगरपालिका–४ शान्ति टोलबाट करिब साढे तीन क्विन्टल गाँजा बरामद गरेको जनाएको छ।जिल्ला प्रहरी कार्यालय धनुषा का अनुसार शनिबार राति विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ना–७ ख २२३७ नम्बरको टिपर जाँच गर्ने क्रममा ठूलो परिमाणमा गाँजा फेला पारेको हो। प्रहरीलाई देख्नासाथ टिपर चालक फरार भएको बताइएको छ।
प्रहरीले नियन्त्रणमा लिएको उक्त टिपरबाट ३४ वटा पोकामा राखिएको करिब ३ सय ५७ किलोग्राम गाँजा बरामद गरिएको छ। बरामद गाँजा इलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। फरार चालकसहित संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको छ।
उदयपुरबाट धनुषा हुँदै सीमापार तस्करीको आशंका प्रारम्भिक अनुसन्धानका क्रममा उक्त गाँजा उदयपुर जिल्ला बाट धनुषा भित्रिएको खुलेको प्रहरी स्रोतले जनाएको छ।


