विराटनगरमा बिहे घरमा काम गर्न गएकी महिलाको करेन्ट लागेर मृत्यु
विराटनगर । विराटनगरमा बिहे घरमा काम गर्न गएकी एक जना महिलाको मंगलबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–११ जनप्रिय टोलका रवीन्द्र साहको घरमा छोरी विवाहमा काम गर्न गएकी महिलाको करेन्ट मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक अन्दाजी ५५–५६ वर्षीया महिलाको पहिचान खुलेको छैन ।
प्रहरीका अनुसार विवाह घरमा जोडेको झिलिमिली बत्तीको तारबाट दिउँसो ४ बजेतिर करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका थिए ।
क्याटरिङको जिम्मा लिएका व्यक्तिले महिलालाई बिहे घरमा काम गर्न लिएर आएको प्रहरीको प्रारम्भिक अनुमान छ । यद्यपि, क्याटरिङको जिम्मा लिएका व्यक्ति को हुन् र उनले कहाँबाट महिलालाई लिएर आए भन्ने पनि यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको पहिचानको प्रयास गर्दै घटनाको थप अनुसन्धान अघि बढाइएको छ ।


