यि हुन् झापामा स्कारपियो चलाउँदै गर्दा बेहोस भइ निधन भएका पथरीका योगेश
झापा । झापाको कमल गाउँपालिका–५ सितापुरी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा स्कारपियो चलाइरहेका एक चालक अचानक बेहोस भई मृत्यु भएको छ।
बिहीबार साँझ करिब ६:३० बजे बिर्तामोडबाट मोरङको पथरीतर्फ जाँदै गरेको प्रदेश नं. १–०४–००१ च ००८० नम्बरको स्कारपियोका चालक पथरी नगरपालिका वडा नम्बर ९ निवासी ४५ वर्षीय योगेश धिमाल गाडी चलाइरहेका बेला अचानक असहज महसुस गर्दै बेहोस भएका थिए।
अवस्था बिग्रँदै गएपछि उनले सजगतापूर्वक गाडी सडक किनारामा रोकेका थिए। गाडीमा सवार यात्रुहरूले पटक–पटक बोलाउँदा पनि कुनै प्रतिक्रिया नआएपछि स्थानीयको सहयोगमा उनलाई तत्काल दमकस्थित निम्स अस्पताल लगिएको थियो।
अस्पतालमा उपचारका क्रममा साँझ करिब ८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनापछि इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले घटनाबारे अनुसन्धान सुरु गरेको छ।
मृतक धिमालको शव पोस्टमार्टमका लागि उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ।


