अपडेट : उर्लाबारीमा दुई बस ठोक्किँदा ६ जना घाइते
उर्लाबारी । मोरङको उर्लाबारी–४ स्थित आइतबारे चोकमा दुईवटा यात्रुबाहक बस दिउँसो २ बजे एकआपसमा ठोक्किँदा करिब ६ जना यात्रु घाइते भएका छन्।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प १-०२-००१-ख-९२६२ नम्बरको युनिक यातायातको बसले विपरीत दिशाबाट आउँदै गरेको को १-०२-००१ ख ८८३१ नम्बरको राज यातायातको बसलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रञ्जन बरालका अनुसार दुर्घटनामा घाइते भएका यात्रुहरूलाई तत्काल उद्धार गरी स्थानीय अरनिको अस्पतालमा उपचारका लागि लगिएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ।
दुर्घटनापछि दुवै बसलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


