विराटनगरमा सिलिन्डर विस्फोट हुँदा आमा–छोरा घाइते
विराटनगर । विराटनगरमा बुधबार बिहान ग्यास सिलिन्डर विस्फोट हुँदा आमा–छोरा घाइते भएका छन् ।
विराटनगर महानगरपालिका–१४ जतुवास्थित टंक खत्रीको घरमा खाना पकाइरहेका बेला बिहान १० बजेतिर सिलिन्डर अचानक विस्फोट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिलिन्डर विस्फोट हुँदा टंककी पत्नी अन्दाजी ४२ वर्षीया निर्मला खत्री र छोरा १९ वर्षीय धीरज खत्री घाइते भएका छन् ।
दुवै जनालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ । विस्फोटपछि आमा–छोराकै शरीरका केही भाग जलेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
निर्मलाको अनुहार, छाती, हात गरेर शरीरको करिब १८ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ । त्यस्तै, उनका छोरा धीरजको ५ प्रतिशत भाग जलेको जनाइएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।-बेतना दैनिकबाट


